९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

गुञ्जिन छाडे ‘असारे भाका’

गुञ्जिन छाडे ‘असारे भाका’
अ अ+ अ-

पाल्पा। असार महिना ‘माना रोपेर मुरी उब्जाउने समय’ हो । असार १५ सँगै किसान रोपाइँमा जुटिरहेका छन् । तर पहिला जस्तो रोपाइँमा असारे भाकाको रौनक भने छैन् ।

“असारको मध्य भए पनि खेतमा असारे भाकाको कुनै रौनक छैन्”, पाल्पाको तिनाउ गाउँपालिकाकी सङ्गीता सारुले भन्नुभयो, “रोपाइँमा असारे गीतहरू पनि गाइन छाड्यो ।” युवा रोपाहारले गीत गाउन छाडेपछि गीत लोप हुने अवस्थामा पुगेको उहाँको अनुभव छ ।

बुढापाकाले असारमा रोपाइँको दिनलाई वर्णन गरेको जस्तो उल्लास नभएको तिनाउकी मीना बगालेले बताउनुभयो । “आजकालको खल्लो असारे रोपाइँ देखेर बाबुआमाले पनि गुनासो गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “पहिले हाम्रो पालामा रमाइलो हुन्थ्यो भन्नुहुन्छ । तर, हामीले त्यसलाई अनुभव गर्न पाएनौँ ।”

बाल्यकालमा खेतका रोपाहार र हलीलाई पानी पुर्‍याउन आमासँगै माइत माडीफाँटमा जाने गर्नुभएकी सोही ठाउँकी मञ्जु पौडेलले ती दिन अझै सम्झनुहुन्छ । “रोपाइँमा छतरी ओडेर असारे गीत गाएको सुन्दा निकै रमाइलो लाग्थ्यो”, उहाँले भन्नुभयो, “विवाह गरेर आएपछि घरतिर रोपाइँका क्रममा खासै असारे गीत सुन्न पाइन् ।”

बाल्यकाललाई सम्झँदै उहाँले असारे गीत गुनगुनाउनुभयो-
‘छुपुमा छुपु हिलोमा धान रोपेरै छोडौँला
बनाई कुलो लगाई पानी आएर गोडौँला ।।
‘असारे मासको दलदले हिलो छुनलाई घिन लाग्यो,
पातली नानीलाई फरिया किन्दा छ बिस ऋण लाग्यो’

तानसेन दमकडाकी ७० वर्षीया भुनु नेपाललाई पहिले धान रोपाइँ गर्दा गाएका गीतहरू अहिले याद आउँछ । आफैँले पनि नाच्ने, गाउने र रमाइलो गर्ने गरेको उहाँ सम्झनुहुन्छ । “उहिले मनोरञ्जनका साधन केही थिएनन्”, उहाँले भन्नुभयो, “त्यही भएर केटाकेटी, अधबैँसे, बूढापाका सबै यस्तै गीत गाएर रमाइलो गर्थे ।”

हिलोमा छुपुछुपु खेल्दै, धान रोप्दै अनि दहीचिउरा खाँदै रोपाइँको याममा रमाइलो गर्ने गरेको नेपालले स्मरण गर्नुभयो । पुराना दिनहरू सम्झँदै उहाँले भन्नुभयो, “खेतको आलीमा सबैजना बस्थ्यौँ, घरबाट ल्याइएको दहीचिउरालाई नागनागिनी र देवतालाई चढाएर खाने गरिन्थ्यो । धान रोपेर थकित भएपछि खेतको डिलमा बसी आलुको अचारसँगै दहीचिउरा खाँदै लय हालेर असारे गीत गाउँदाको रौनक निकै रमाइलो हुन्थ्यो ।”

हिजोआज भने पुराना भाकाहरू सुन्न छोडिएको नेपाल बताउनुभयो । माडीफाँटमा चार हलको मेलो रोप्न पनि अन्यत्र जाँदा फुर्सद नहुने उहाँले सुनाउनुभयो ।

पूर्वखोलाका मनबहादुर विकलाई असार १५ गते बाउसे गर्न जाँदा रोपाहार दिदीबहिनीले असारे भाका हालेर गीत गाएको क्षण ताजै छ । “धान रोप्दै लय हालेर असारे गीत गाउँदाको आनन्द छुट्टै हुन्थ्यो”, उहाँले भन्नुभयो । अहिले ती भाका र पुराना संस्कृति हराउँदै जाँदा चिन्ता लागेको उहाँले बताउनुभयो ।

यी केही उदाहरण मात्र हुन् । पछिल्लो समय गाउँघरमा असारे भाका गुञ्जिन छोडेका छन् । युवा पुस्ताले असारे गाउन नजान्दा रोपाइँसँग जोडिएको नेपाली संस्कृति लोप हुने चिन्तामा ज्येष्ठ नागरिक छन् ।

पहिलेपहिले रोपाइँ हुने घरमा अघिल्लो दिनदेखि बाजागाजाको जोडजाम मनबहादुरले बताउनुभयो । “समयक्रमसँगै रोपाइँका गीत हराएका छन् । रोपाहारका रूपमा लहरै खेत रोपिरहेका महिला, खेत जोत्ने हली, बाउसे र आली ताछ्ने युवा सबै मिलेर असारे भाका गाउने चलन हराउँदै गएको छ । यसले हाम्रो परम्परा लोप हुने जोखिम बढ्दै गएको छ”, उहाँले भन्नुभयो ।

हिजोआज आधुनिकतासँगै असारे मौलिक गीतका भाकाहरू विस्तारै हराउँदै जाँदा पुराना पुस्ता भने चिन्तित छन् । अहिले पाल्पाका फाँटमा रोपाइँ भइरहेको छ । तर, असारमा गाइने मौलिक भाका खेत र आलीमा सुनिएका छैनन् ।

“असार १५ का दिन राष्ट्रिय धान दिवस मनाउन नेता, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि रोपाइँमा सहभागी भएका थिए । तर कसैले पनि असारे भाकामा गीत गाएनन् । रोपाइँमा सहभागी सबैले मौलिकतालाई बिर्सेको देखियो”, निस्दी मित्यालका मानबहादुर सारुले भन्नुभयो ।

पहिला यहाँका फाँटहरूमा मौलिक गीत असार सुरु हुनेबित्तिकै सुनिने गरेकामा पछिल्लो समय मध्य असारमा पनि गाउँघरमा फाँट सुनसान हुने गरेका उहाँले बताउनुभयो । मानो खाएर मुरी उब्जाउने महिनाका रूपमा रहेको असारमा पहिलाको जस्तो उल्लास हिजोआज नहुने उहाँको बुझाइ छ ।

पहिले गाउँका सबै परिवार मिलेर एकअर्काको खेतमा पालैपालो रोपाइँ गर्ने चलन थियो । रोपाइँका क्रममा असारे गीत गाउने, मादलको तालमा नाच्ने र दिनभरको कामपछि दहीचिउरा, अचार तथा स्थानीय परिकारसँगै बसेर खाने परम्पराले रोपाइँलाई कृषि कार्य मात्र नभई सामाजिक र सांस्कृतिक उत्सवका रूपमा स्थापित गरेको थियो ।

अहिले कृषि क्षेत्रमा मेसिनको प्रयोग बढ्नु, युवाहरू वैदेशिक रोजगारी र सहरतर्फ पलायन हुनु तथा श्रमिक अभावका कारण सामूहिक रोपाइँको चलन घट्दै गएको छ ।

कतिपय स्थानमा रोपाइँ छिटो सकिए पनि पहिलेजस्तो उत्साह, गीत, सङ्गीत र सामूहिकता भने कम देखिन थालेको छ । पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण रोपाइँ गर्दा हिलोमा हिन्दी गीतमा टिकटक बनाउन थालिएको छ ।  रासस