१५ आश्विन २०८१, मंगलवार
,
Latest
मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछु : मन्त्री यादव मन्थलीमा विद्युत् आपूर्ति सञ्चालन स्थलगत रिपोर्ट : सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने पुलमा क्षति स्थलगत रिपोर्ट : राजमार्गमा दृष्य एक, पीडा अनेक बाढीपहिरो प्रभावितका लागि राहत कोषमा एक अर्ब उपलब्ध गराइने, तीन दिने राष्ट्रिय शोक घोषणा दाउन्नेमा बाटो भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बाढीले अस्तव्यस्त काठमाडौंलाई लयमा फर्काउने प्रयास (फोटो फिचर) विपद्मा परी २०९ जनाको मृत्यु, २९ जना अझै बेपत्ता मन्त्री डा राणा र अमेरिकी उपविदेशमन्त्री भेटवार्ता ‘हेर्दाहेर्दै श्रीमती पुरिइन्…म बाँच्न सफल भएँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा उपनिर्वाचन : काङ्ग्रेसको सर्वसम्मत उम्मेदवार सिफारिस



अ+ अ-

चितवन । नेपाली काङ्ग्रेस चितवनले आउँदो मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । वडा समितिले सर्वसम्मतरूपमा उम्मेदवार तय गरेपछि जिल्ला समितिले सोही निर्णयलाई अनुमोदन गर्ने तयारी गरेको छ ।

काङ्ग्रेसका तर्फबाट उपनिर्वाचनमा खैरहनी नगरपालिका–४ को अध्यक्षमा देवबहादुर बस्नेत उम्मेदवार बन्ने पक्का भएको छ । उनी सो वडाका कार्यवाहक अध्यक्षसमेत हुन् । यस्तै सोही नगरपालिका–५ को अध्यक्षमा प्रतिमा बस्नेत उम्मेदवार बन्ने पक्का भएको छ । उम्मेदवारका लागि सिफारिस बस्नेत स्वर्गीय वडाध्यक्ष विश्वविजय बस्नेतकी श्रीमती हुन् । यी दुवै नामलाई काङ्ग्रेस वडा समितिले सर्वसम्मतरूपमा जिल्लामा सिफारिस गरेको छ ।

यी दुवै वडामा काङ्ग्रेसले विजयी हासिल गरेको थियो । केही वर्षअघि रत्ननगरबाट खैरहनीतर्फ फर्किने क्रममा रत्ननगरको शान्तिचोकमा भएको दुर्घटनामा परी वडा नं ४ का तत्कालीन अध्यक्ष नरेन्द्र अधिकारी र ५ का अध्यक्ष विश्वविजय बस्नेतको निधन भएको थियो ।

यस्तै काङ्ग्रेसले भरतपुर महानगरपालिका–१६ को वडाध्यक्षका लागि पनि उम्मेदवार तय गरेको छ । काङ्ग्रेस वडा समितिले वडाध्यक्षका लागि अमृत हमाललाई सर्वसम्मत सिफारिस गरेको छ । केही महीनाअघि सो वडाका अध्यक्ष चतुरमान गुरुङको क्यान्सर रोगले निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । स्वर्गीय गुरुङ तत्कालीन नेकपा ९एमाले०बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनले काङ्ग्रेसका उम्मेदवार अमृत हमाललाई पराजित गरेका थिए । अहिले काङ्ग्रेसले पुनः हमाललाई नै उम्मेदवारका लागि सिफारिस गरेको हो ।

नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले उपनिर्वाचनका लागि तीनवटै वडा समितिले सर्वसम्मतरूपमा उम्मेदवारको नाम सिफारिस गरेकोले सोही नामहरु अनुमोदन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “वडाबाटै सर्वसम्मत नाम आएपछि विवादको विषय नै नरहने, सिफारिस व्यक्तिलाई नै काङ्ग्रेसले उम्मेदवार बनाउँछ ।” सभापति श्रेष्ठले निर्वाचन आयोगको निर्वाचन तालिकाअनुसार नै काङ्ग्रेसले उम्मेदवारको नामावली औपचारिकरूपमा घोषणा गरिने बताउनुभयो ।

जिल्ला सभापति श्रेष्ठले खैरहनीको दुवै वडामा यसअघि काङ्ग्रेसले जीत हासिल गरेकाले त्यहाँ पुनः जीत निश्चित जस्तै रहेको दाबी गर्नुभयो । उहाँले काङ्ग्रेसको मुख्य ध्यान भरतपुर–१६ मा केन्द्रित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “खैरहनीमा हाम्रो जीत निश्चित जस्तै हो, भरतपुर–१६ मा जीत हासिल गर्ने गरी तयारी गरिरहेका छौँ ।” निर्वाचन आयोगले करीब २ वर्षपछि उपनिर्वाचनको तयारी गरेको हो ।