१ असार २०८३, सोमबार
,
Latest
गर्मीबढेसँगै महोत्तरीमा सर्प दंशका बिरामी बढे सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो : महासचिव पोखरेल ऊर्जा मन्त्रालयको हटलाइन ११५१ मार्फत १३ हजारभन्दा बढी गुनासो समाधान एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजीनामापछि पारस भन्छन्,’आफ्नै नेतृत्वमा नेपाललाई टेस्ट टोलीको मान्यता दिन पाएको भए अझ खुसी हुने थिएँ’



अ+ अ-

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले साढे तीन वर्षपछि नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन फुकुवा गरेको भोलिपल्ट मंगलबार राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले राजीनामा दिएका छन् । पारसले सन् २००९ यता १० वर्ष निरन्तर राष्ट्रिय क्रिकेटको कप्तानी सम्हालेका थिए । उनले खेलाडीका रूपमा उपस्थित हुने, तर कप्तानको जिम्मेवारीमा कहिल्यै नफर्किने घोषणा गरेका छन् ।

‘नयाँ नेतृत्व आएको छ । क्यान भर्खरै आइसिसीको निलम्बनबाट फुकुवा भएको छ,’ पारसले भने, ‘अब नेपाली क्रिकेटमा नयाँ सुरुवात आवश्यक छ । त्यसमा सहयोग पुगोस् भन्ने उद्देश्यले कप्तानको जिम्मेवारी त्याग्ने निर्णय गरेको हुँ । खेलाडीका रूपमा भने अझै उपलब्ध हुनेछु ।’ नौ वर्षमा नेपाली क्रिकेटले प्राप्त गरेको सफलता पारसकै नेतृत्वमा भएको छ । ०७३ वैशाखमा क्यान निलम्बनमा परेपछि पारसको जिम्मेवारी र भूमिका थप बढेको थियो ।

क्यान निलम्बन फुकुवा भएसँगै आफूले केही समय आराम गर्ने निर्णय गरेको उनले बताए । ‘क्यान निलम्बनमा परेपछि मैले खेलाडी र कप्तानको मात्रै होइन, आइसिसीसँग कुरा गर्ने, खेलाडीको व्यवस्थापन, प्रायोजकको खोजीदेखि धेरै काम गर्नुपर्यो,’ पारसले भने, ‘अब क्यान आएपछि यो काम उसैले गर्नुपर्छ । कप्तानबाट हटेपछि कम्तीमा केही समय आराम गर्ने अवसर पनि पाउने विश्वास छ ।’

पारसको नेतृत्वमा आएपछि सन् २०१० मा आइसिसीको डिभिजन ५ बाट बढुवा भएपछि अघि बढेको नेपाली क्रिकेटले डिभिजन ४, ३, २ र १ हुँदै गत वर्ष एकदिवसीय टोलीको मान्यता सुरक्षित गरेको छ । सन् २०१४ को विश्वकप छनोट र सहभागिता पनि उनकै कप्तानीमा भएको हो । यस अवधिमा एकदिवसीय र टी–२० क्रिकेटमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान पनि पारसले नै कायम गरेका छन् ।

‘क्रिकेटले मलाई धेरै दिएको छ । टी–२० विश्वकप क्रिकेट खेल्नु जीवनको महत्वपूर्ण उपलब्धि मान्छु । त्योभन्दा ठूलो उपलब्धि एकदिवसीय टोलीको मान्यता प्राप्त गर्नुलाई मानेको छु । किनभने यसले नेपाली क्रिकेटलाई धेरै अवसर दिनेछ,’ पारसले कप्तानी यात्रा सम्झिँदै सुनाए, ‘राष्ट्रिय टोलीबाट खेल्दा हारेका सबै खेलजीवनका खराब दिन रहे । आफ्नै नेतृत्वमा नेपाललाई टेस्ट टोलीको मान्यता दिन पाएको भए अझ खुसी हुने थिएँ, त्यो उद्देश्य भने बाँकी नै रहने भयो ।’

पारसको कप्तानीमा नेपालले ६ एकदिवसीय खेल खेलेको छ । जित र हार तीन–तीन भएको छ । टी–२० तर्फ भने २८ खेल खेलेकोमा १२ मा जित तथा १५ मा हार व्यहोरेको छ ।

पारसको कप्तानीमा नेपालले हात पारेका केही महत्वपूर्ण सफलता

  • आइसिसीको डिभिजन पाँचदेखि एकदिवसीय टोलीको मान्यता ।
  •  टी–२० विश्वकपमा छनोट र सहभागीता (२०१४, बंगलादेश) ।
  •  एक दिवसीय टोलीको मान्यता (२०१८, जिम्बावे) ।
  •  पहिलो एक दिवसीय शृंखलाको जित (२०१९, युएई) । युएईविरुद्ध भएको तीन खेलको शृंखला नेपालले २–१ ले जितेको थियो ।
  •  पहिलो टी–२० शृंखलाको जित (२०१९, युएई) । युएईविरुद्ध नै भएको तीन खेलको टी–२० शृंखला पनि नेपालले २–१ ले जितेको थियो ।

राजीनामाको खास कारणः क्यान नेतृत्वसँगको तिक्त सम्बन्ध
सन् २०१४ मा बंगलादेशमा टी–२० विश्वकप खेलेर फर्किंदा खेलाडीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै क्यानको तत्कालीन नेतृत्वको विरोध गरेका थिए । त्यतिवेला पारसकै नेतृत्वमा खेलाडीहरू क्यान पदाधिकारीविरुद्ध अनियमितताको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत पुगेका थिए । उनीहरूले आइसिसीमा पनि क्यान नेतृत्वविरुद्ध रिपोर्टिङ गरे ।

खेलाडीको उजुरीकै आधारमा अख्तियारले क्यानका तत्कालीन अध्यक्ष टंक आङबुहाङ, उपाध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेललगायत १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा नै चलायो । तर, अदालतले उनीहरूलाई सफाइ दियो । लगत्तै क्यानको निर्वाचन भयो । मुद्दा खेपेर फर्केका चन्द अध्यक्ष र प्याकुरेल महासचिवमा चुनिए । तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का तत्कालीन सदस्यसचिव केशवकुमार विष्टले त्यो समितिलाई मान्यता दिएनन् ।

उनले समानान्तर कमिटीका रूपमा राखेपका वर्तमान सदस्यसचिव रमेश सिलवालको अध्यक्षतामा अर्को समिति गठन गरिदिए । लगत्तै आइसिसीले क्यानलाई निलम्बन गर्‍यो । दुई हप्ताअघि सम्पन्न क्यानको निर्वाचनबाट फेरि चन्द अध्यक्ष र प्याकुरेल सचिवमा निर्वाचित भएका छन् । सोमबार मात्रै आइसिसीले क्यानमाथिको निलम्बन पनि फुकुवा गरेको छ । आफैँले विरोध गरेका चन्द र प्याकुरेल क्यानको नेतृत्वमा आएपछि पारस राजीनामा दिने निर्णयमा पुगेका हुन् ।

‘क्यानको नयाँ नेतृत्व पारससँग खुसी छैन । यो नेतृत्वले आगामी दिनमा उनलाई अपमान गर्छ नै । त्यसैले पारसले समयमै राजीनामा दिने निर्णय गरेका हुन्,’ पारसनिकटहरूको भनाइ छ । बरु, राजीनामा दिएर समर्थकमार्फत क्यान नेतृत्वमाथि दबाब बढाउने रणनीति पारसको देखिन्छ । नयाँ पत्रिका दैनिकबाट




भर्खरै