१५ आश्विन २०८१, मंगलवार
,
Latest
नेपाल अमेरिकाबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारी बाढीबाट पुल भासिँदा राजविराज भन्सारको राजस्व सङ्कलन प्रभावित बाढी–पहिरो र डुबान : मृतकको संख्या २ सय १७ पुग्यो मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछु : मन्त्री यादव मन्थलीमा विद्युत् आपूर्ति सञ्चालन स्थलगत रिपोर्ट : सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने पुलमा क्षति स्थलगत रिपोर्ट : राजमार्गमा दृष्य एक, पीडा अनेक बाढीपहिरो प्रभावितका लागि राहत कोषमा एक अर्ब उपलब्ध गराइने, तीन दिने राष्ट्रिय शोक घोषणा दाउन्नेमा बाटो भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बाढीले अस्तव्यस्त काठमाडौंलाई लयमा फर्काउने प्रयास (फोटो फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेह्र हजार मतदाता उपनिर्वाचनमा सहभागी हुँदै



अ+ अ-

चितवन । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा जिल्लाबाट १३ हजार २८४ जनाले मतदान गर्न पाउने भएका छन् । निर्वाचन कार्यालय चितवनका अनुसार जिल्लाका दुई स्थानीय तहका तीन वडामा गरी उनीहरुले उपनिर्वाचनमा सहभागिता जनाउन लागेका हुन् । कार्यालयका प्रमुख हरि ढकालका अनुसार भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिकाको वडा नं ४ र ५ मा उपनिर्वाचन हुँदैछ । निर्वाचनका लागि कार्यालयले मतदाता नामावलीको अन्तिम रुप दिएको हो ।

जसअनुसार भरतपुर महानगरपालिका–१६ मा आठ हजार ४८१, खैरहनी नगरपालिका–४ मा दुई हजार ६९२ र वडा नं ५ मा दुई हजार १११ मतदाता रहेका छन् । भरतपुर महानगरपािलका–१६ मा विसं २०७६ असोज ७ गते १८ वर्ष पूरा भएका र खैरहनी नगरपालिकाका मतदाताको हकमा साउन १६ गते १८ वर्ष पूरा भएकाले मात्र मतदान गर्न पाउनेछन् । ती वडामा वडाध्यक्षको निधनपछि पुनः मतदान हुनलागेको हो ।

ढकालका अनुसार भरतपुर महानगरपालिका–१६ मा तीन मतदानस्थलमा १० केन्द्र रहनेछन् भने खैरहनी नगरपालिका–४ मा दुई स्थानमा तीन केन्द्र र ५ मा एक स्थानमा दुई केन्द्र रहनेछन् । निर्वाचन सम्पन्न गर्नका लागि सुरक्षाकर्मीबाहेक १३५ कर्मचारी खटिने उनले जानकारी दिए । ६० स्वयंसेवक मतदानस्थलमा नै नियुक्ति हुनेछन् भने ७५ कर्मचारी कार्यालयले खटाउने तयारी गरेको छ ।

विसं २०७४ वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित वडाध्यक्षको निधनपछि पुनः निर्वाचन प्रक्रियामा जानुपरेको हो । भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरुङको विसं २०७६ असोज ४ गते क्यान्सर रोगका कारण निधन भएको थियो भने खैरहनी नगरपालिका–४ र ५ का वडाध्यक्ष क्रमशः नरेन्द्रनाथ अधिकारी र विश्वविजय बस्नेतको विसं २०७४ फागुन ७ गते दुर्घटनामा परी मृत्यु भएको थियो ।

अहिले निर्वाचन हुन लागेका वडामा खैरहनीका दुई वडा काङ्ग्रेस र भरतपुर महानगरको वडा नं १६ को वडाध्यक्षमा तत्कालीन नेकपा एमाले विजयी भएको थियो । तीनै वडाका लागि नेपाली काङ्ग्रेसले उम्मेदवार तय गरिसकेको छ भने नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारको टुङ्गो लगाउने तयारी भइरहेको जनाएको छ ।