काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि पदाधिकारी निर्वाचनको मतदान सुरु भएको छ। सभापति र पुरुष उपसभापति पद निर्विरोध टुंगिएपछि बाँकी पदका लागि प्रतिनिधिहरूले मत हाल्न थालेका हुन्।
यसअघि सभापतिमा रवि लामिछाने र पुरुष उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन्। अब महिला उपसभापति, महामन्त्री तथा सहमहामन्त्री पदका उम्मेदवारबीच प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनेछ।
महिला उपसभापति पदमा सोविता गौतम र तोसिमा कार्की आमनेसामने छन्। महामन्त्री पदका लागि विपीन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकालबीच प्रतिस्पर्धा भइरहेको छ।
पुरुष सहमहामन्त्री पदमा असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्त चुनावी मैदानमा छन्। महिला सहमहामन्त्रीतर्फ विदुषी शर्मा, कामिनीकुमारी चौधरी, निशा डाँगी, रिमा विश्वकर्मालगायत उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन्।
मतदान प्रक्रिया सुरु भइसके पनि केही पदमा उम्मेदवारबीच सहमति जुटाउने प्रयास भने रोकिएको छैन। नेताहरू आन्तरिक छलफलमा व्यस्त रहेकाले अन्तिम समयमा थप उम्मेदवारी फिर्ता वा समर्थन घोषणा हुने सम्भावना पनि खुला राखिएको छ। प्रतिनिधिहरूको मतबाट रास्वपाले आफ्नो नयाँ पदाधिकारी टोली चयन गर्नेछ।











