१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाले भन्नुभयो–’कसैको चित्त नदुखाउनु’



अ+ अ-

काठमाडाैं । अघिल्लो संसदीय निर्वाचनमा नेपालका कम्युनिष्ट पार्टीहरुले चुनावी मोर्चा बनाए र चुनावमा गए । जसको फलस्वरुप नेकपाको स्पष्ट बहुमत आयो, कांग्रेसको हार भयो । तर लोकप्रिय मतमा भने कांग्रेस धेरै तल झरेको थिएन, बरु बढेको थियो । खासमा नेकपा एमाले र माओवादी मिलेका कारण नै कांग्रेसका सिट धेरै नआएका थिए । जुनकुरा कांग्रेसका सबैले बुझेका थिए । 

तर यो बुझेर पनि कांग्रेसको त्यस समय पौडेल पक्ष भनिएका नेताहरुले आक्रमण भने सभापति शेरबहादुर देउवामाथि नै गरे । पौडेल तथा कोइरालाहरुले मञ्च पायो कि पार्टीको यो हालत बनाउने देउवाले नैतिकताका आधारमा पार्टी सभापतिबाट राजीनामा दिनुपर्छ भन्ने गर्दथे । पार्टीले हारेकामा उनीहरु सबै देउवामाथि नै खनिएका थिए । तर उनीहरु ३० भन्दा बढी ठाउँमा बागी उम्मेदबार उठ्दा त्यसले कांग्रेसलाई भएको घाटाको पनि विश्लेषण भने गर्दैनथे । उता केपी ओली र प्रचण्डहरुले कांग्रेस कहाँ छ भनेर होच्याउँदै सार्वजनिक अभिव्यक्ति दिइरहँदा पनि पौडेल पक्षका नेताहरुले त्यसको प्रतिरक्षा गर्दैनथे बरु त्यसैमाथि थपेर देउवामाथि नै जाइलाग्थे । 

तर देउवाले कसैप्रति रिस पोख्नुभएन । उहाँको एकमात्र भनाई थियो– कांग्रेसको भोट घटेको होइन, कम्युनिष्टहरु एकभएर चुनावमा गएकाले सिट संख्या मात्र घटेको हो र त्यो अर्काे चुनावसम्म हामी रिकभर गर्छौं । उहाँमाथि खनिने कांग्रेसका नेताहरुलाई उहाँको जवाफ यही हुन्थ्यो । अनि खोइ कांग्रेस कहाँ छ भनी सार्वजनिक सभाबाट भाषणमार्फत् खोज्ने कम्युनिष्ट नेताहरुलाई पनि उहाँले त्यस्तो कुनै कटु जवाफ दिनुभएन । ठिक छ हामी अर्काे चुनावमा देखाउँला मात्र भन्नुभयो । उहाँले सरकारको पनि खासै आलोचना गर्नुभएन । उहाँको भनाई थियो– अहिले नै नेकपा सरकारको आलोचना गर्ने बेला भएको छैन, उनीहरुलाई काम गर्न दिनुपर्छ, विपक्षीले गर्दा काम गर्न पाइएन भन्ने ठाउँ दिनुहुँदैन । उहाँले गरेको आलोचना यतिमात्र हो– देशमा कम्युनिष्ट सरकार आयो भने न हास्न पाइन्छ नत रुन नै । अनि उहाँको यो टिप्पणी पनि निर्वाचन अघिकै थियो । 

प्रतिपक्षीको असहयोग नरहे पनि सरकारले नै काम गर्न सकेन । सरकारले वर्षदिन ननाघ्दै केपी ओली, प्रचण्ड र माधवबीच नै बढ्यो असहमति । सत्तालाई घेरामा पार्ने दाउमा देखिए नेपाल र प्रचण्ड । जसको तारो ओली मात्र बनेनन् नेकपा नै बन्यो । अन्ततः नेकपा फुट्यो र त्यसबाट ओलीइतरको समूह बाहिरियो । यो उनीहरुको आफ्नै कारणले थियो, त्यसमा प्रतिपक्षी कांग्रेसको कुनै भूमिका थिएन । नेकपा फुटाउनुपर्छ र आफू सत्तामा पुग्नुपर्छ भनेर कांग्रेस लागेको होइन, जति प्रचण्ड, नेपालहरु लगे । 

दुई तिहाइ बहुमत नजिकको नेकपाको सरकार धरापमा परेपछि भने प्रमुख प्रतिपक्षी कांग्रेसको सक्रियता स्वाभाविकै थियो । यो सक्रियताले सत्ताको भाग खोजेको भने थिएन । ओली सरकार ढलेपछि पनि आफू प्रधानमन्त्री बन्ने दाउमा देउवा हुनुहुन्थ्यो । उहाँले अन्तिम समयसम्म पनि आफू सरकारको नेतृत्वका लागि तयार नरहेको सन्देश प्रचण्ड र माधव नेपाललाई दिनुभएको थियो । तर पनि आफूहरु अब ओलीसँग सत्तामा बस्न नसक्ने र ओली सरकार अल्पमतमा परेपछि त्यसको नेतृत्व प्रमुख प्रतिपक्षी दलले लिनुपर्ने अडानमा प्रचण्ड रहेपछि भने देउवा बाध्य हुनुभएको थियो र समयको माग अनुकुल उहाँ प्रधानमन्त्री पनि बन्नुभयो । 

उहाँ सत्तामा आएपछिका ओलीका आलोचनाहरुको जवाफ देउवाले दिनुभएको छैन । उहाँ आक्रामक पनि हुनुभएन । मात्र भन्नुभयो– यो पाँच वर्ष नेपाली जनताले नेकपालाई नै सत्ता चलाउने अधिकार दिएका हुन्, हामी प्रतिपक्षी नै हौँ । तर नेकपाले आफ्नै कारणले देश चलाउन नसकेपछि नेपाली जनताले नै देशमा कांग्रेसको नेतृत्व खोजेका हुन् । त्यसैले मैले सरकारको नेतृत्व गर्नुपरेको हो । पार्टी फुटेपछि एमाले र माओवादी र नवगठित दल नेकपा एसका नेताहरुबीच देशव्यापी रुपमा नै एक किसीमले भन्ने हो भने गोली गलौज नै भयो । तर त्यसमा देउवा कतै मिसिनुभएन । उहाँले कसैको आलोचना पनि गर्नुभएन र आफू सत्तामा पुगेको दम्भ पनि देखाउनुभएन । 

अनि उहाँलाई सुरु भयो पार्टीको महाधिवेशन सारेको आरोप । देउवाले कारोना महामारीले गर्दा महाधिवेशन सारेको भनिरहँदा पनि आफूले सभापतिमा निर्वाचन हार्ने भएपछि महाधिवेशन सारेको आरोप उहाँमाथि लाग्यो । महाधिवेशनको मिति तोकियो र तयारी सुरु भयो । उहाँमाथि निकै नै घेराबन्दी भयो । देउवालाई सभापतिमा हराउनका लागि देउवाबाहेकका अरु सबै नेता एकै ठाउँमा उभिए । देउवा इतरका कांग्रेसका नेताहरुबाट उहाँमाथि अनेक आरोप सार्वजनिक भाषण थालियो । यहाँसम्म कि उहाँको गृहजिल्ला डडेल्धुरा पुगेरै शेखर कोइराला, अर्जुननरसिंह केसीहरुले देउवालाई तानाशाहीको आरोप समेत लगाए । प्रहरी लगाएर जिल्ला अधिवेशन गरेको समेत भने । तर पनि देउवाले त्यसको प्रतिकार गर्नुभएन । बरु कांग्रेस पार्टीको महाधिवेशन पनि देशमा प्रजातान्त्रिक प्रक्रियाको एक मोडल भएकाले सबै कांग्रेसीजनलाई महाधिवेशनमा मतदानमा भाग लिन आग्रह मात्र गर्नुभयो । आफूमाथि आरोप लगाउने आफ्नै पार्टीका नेताहरुलाई उहाँले कुनै जवाफ दिनुभएन । फलस्वरुप देशव्यापी रुपमा शान्तिपूर्ण र प्रजातान्त्रिक प्रक्रिया अपनाएर कांग्रेस महाधिवेशन भयो र उहाँ सभापति विजयी मात्र हुनुभएन केन्द्रीय समितिमा उहाँको पक्षको दुइ तिहाई भन्दा बढी उपस्थिति आयो । 

एमसिसीको खड्गो पनि प्रधानमन्त्री देउवाले नबोलिकनै पार लगाउनुभयो । सत्तारुढ दलहरु नै एमसिसीका पक्षमा नदेखिएपछि उहाँमाथि चुनौती आइलाग्यो । त्यसपछि कूटनीति र राजनीति दुवै चलाएका देउवाले अन्ततः एमसिसी पास गराएरै छोड्नुभयो । यसका उहाँले कसैलाई सार्वजनिक रुपमा तिक्तता पोख्नुभएन । ओली र प्रचण्डका जुहारी त यतिबेला पनि बाहिर आएकै थिए । तर देउवाले कसैलाई केही दोष दिनुभएन, सार्वजनिक रुपमा कसको गल्ती भन्ने प्रतिस्पर्धा पनि चलाउनुभएन । सम्वादलाई तीब्रता दिनुभयो, नेताहरुका घरघरमा पुग्नुभयो र सहयोगको याचना गर्नुभयो । अन्ततः यो पास पनि भयो । यसमा उहाँको अडानको सबैले प्रसंशा नै गरे । किनभने कांग्रेस हिजो प्रतिपक्षमा रहँदा पनि पार्टी सभापतिका हैसियतले उहाँले यदि एमालेले संसदमा एमसिसी पेश गर्यो भने त्यसका पक्षमा मत हाल्ने मात्र भन्नुभएन, संसदमा एमसिसी पेश गर्न नै आग्रह गर्नुभयो । कांग्रेस सत्तामा हुँदा र बाहिर हुँदा पनि एउटै अडान देखिएकामा धेरैले कांग्रेसको अडानलाई मानेका थिए । एमालेले भने अहिले प्रतिपक्षमा रहेकाले यस विषयमा आफ्नो कुनै धारणा नरहने बताएको थियो । यसरी पार्टी सभापति देउवाले पार्टीका केही सारथीहरुको सहयोगमा यो एजेण्डा पनि सत्तारुढ दलहरुकै सहयोगमा बडो कुशलतापूर्वक पार लगाउन सफल हुनुभयो ।

हिजो पर्सा जिल्ला पुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले जिल्लाका नेता तथा कार्यकर्तालाई भन्नुभयो– कसैको चित्त नदुखाउनु । उहाँको आसय वर्तमान सत्तारुढ गठबन्धन दलका अन्य नेता तथा सत्तारुढ दलप्रति लक्षित गरेर यस्ता कुनै अभिव्यक्ति नदिनु भन्ने थियो । प्रसंग थियो– आगामी निर्वाचनमा गठबन्धनसहित जाने कि कांग्रेस एक्लै ? यो बहस यतिखेर कांग्रेसको कोइराला समूहमा व्यापक सुनिन्छ । सो समूहका नेताहरुले यतिखेर माओवादी नेकपा एससहितको गठबन्धनलाई बोकेर नभई एक्लै चुनावमा जाने चर्चा चलाइरहेका छन् । त्यसैलाई लक्षित गरी प्रधानमन्त्रीले ती दलको या कसैको पनि चित्त नदुखाउनु भन्नुुभएको थियो । 

प्रधानमन्त्रीले आगामी निर्वाचनमा कसैको पनि स्पष्ट बहुमत आउने संकेत नदेखिएको भन्दै गठबन्धनलाई निरन्तरता दिन पनि सकिने धारणा राख्नुभएको छ । तर यस विषयमा छलफल भने जारी नै रहेको उहाँको भनाई थियो । उहाँको यो अभिव्यक्तिले देशमा चुनाव लागेको संकेत पक्कै गर्दछ । त्यसो त उहाँको अभिव्यक्ति कसैलाई कटु आलोचना गर्ने प्रकारको हुदैन पनि । यसमा पनि उहाँले अहिले नै कसैको चित्त नदुखाउनु भनेर किन भन्नुभयो भने चुनावसम्म कांग्रेसले गठबन्धनसँग सहकार्य गर्न पनि सक्दछ । भोलिको परिदृश्यलाई लक्ष्य गरेर नै उहाँले यो घोषणा गर्नुभएको हुनसक्छ । त्यसैले उहाँको यो अभिव्यक्तिबाट मुलुक चुनावमा होमिएको अनुमान सहजै गर्न सकिन्छ । 

त्यसो त आगामी चुनामा कांग्रेसले गठबन्धनसँग सहकार्य गर्ने कि नगर्ने भन्ने विषयको बहस चलेकै महिनौँ भैसक्यो । तर यतिचाँडै यो बहस थाल्नु आवश्यक नभए पनि प्रचण्ड माधवहरुलाई मनको बाघले खाएकाले यो बहसको थालनी पहिल्यैदेखि भएको हो । तर उनीहरुका बहसप्रति कांग्रेसका नेताहरुले नै प्रतिक्रिया दिँदै कांग्रेसले उनीहरुसँग सहकार्य गर्न नहुने भनी वादविवाद भएपछि प्रधानमन्त्रीले मुख खोल्नुभएको हुनसक्छ । त्यसैले उहाँले भन्नुभयो– अहिले नै वादविवाद नगर्नु, कसैको चित्त नदुखाउनु, हामी सहकार्य गर्नुपर्ने पनि हुनसक्छ । 

प्रधानमन्त्रीले पार्टीलाई पहिलेकै अवस्थामा पुर्याउने प्रण गर्नुभएको छ । यसअघिको संसदको निर्वाचनमा कांग्रेसले हारेपछि उहाँले अहिले यस्तै भयो अब अर्काे चुनावमा देखाइदिने भन्ने प्रण गर्नुभएको थियो । सायद बिहीबारको बिरगञ्जको प्रस्तुति पनि यसैप्रति केन्द्रित हुनसक्छ । पार्टीभित्र धेरै नबोल्ने अर्थात् भाषण नगर्ने काम गर्ने व्यक्तिकारुपमा पहिचान बनाएका देउवाले आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउने अठोट लिइसकेका उहाँले बीरगञ्जबाट चुनावी भाषण थाल्नुभएको भनेर बुझ्दा हुन्छ । कांग्रेसीजनहरु बाहिर जे बोले पनि सभापतिको यो अठोटलाई साथ दिनुको विकल्प देखिँदैन ।