सङ्खुवासभा। सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ गोला बजारमा रहेको वाङखोला लघु जलविद्युत् आयोजनामा पहिरो खस्दा विभिन्न उपकरणहरू पूर्णरूपमा क्षति भएको छ ।
आइतबार राति अविरल वर्षासँगै आएको बाढीले वाङखोला लघु जलविद्युत् आयोजनाको मुहान इन्टेक पूर्णरूपमा क्षति हुँदा विद्युत् अवरुद्ध हुनुका साथै लाखौँको क्षति भएको छ ।
बाढीले वाङखोला लघु जलविद्युत् आयोजनाको इन्टेक, ९० मिटर पाइप र ग्याविन वाल, तार जाली बगाएर क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो ।
पहिरोका कारण विद्युत् अवरुद्ध हुनुका साथै लाखौँको क्षति भएको छ । त्यसैगरी पहिरोका कारण मकालु गाउँपालिका–१ मा पहिरोका कारण झोलुङ्गे पुल, काठेपुल र पानी घट्टामा क्षति पुगेको मकालु–१ का वडाध्यक्ष आङबाबु शेर्पाले बताउनुभयो । रासस











