काठमाडौं । उच्च अदालत पाटनले पूर्वसांसद गायत्री साहलाई मेडिसिटी अस्पतालबाट आफ्नो बच्चा जिम्मा लिएर उपस्थित हुन आदेश दिएको छ। सात महिनाअघि जन्मिएको बालकको हालको अवस्था डिस्चार्ज लिएर घर लैजानयोग्य रहेकाले पाइएकाले ‘बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६५ (३) बमोजिम बालबालिकाको हक अधकारको प्रचलन गराउने प्रयोजनार्थ’ अस्पतालबाट बुझिलिएर अदालत उपस्थित हुन साह र अभिभावकलाई अदालतले आदेश दिएको हो।

रजिष्ट्रार बाबुराम दाहालले असोज ३० गते आदेश दिँदै पत्र बुझेको तीन दिनभित्र बुझेर बालकसहित उपस्थित हुन आदेश दिएका हुन्। ‘बालक जिम्मा लगाएर हक प्रचलन गराइ पाउँ’ भनी मेडिसिटी अस्पतालले उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको थियो। सो मुद्दामा अदालतले आदेश गर्दै असोज ८ गते बालकको स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको थियो।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई तीन हप्ताभित्र निर्देशन दिइएकोमा वीरले असोज २९ गते बालकको स्वास्थ्य परीक्षणको रिपोर्ट अदालतमा बुझाएको थियो।









