५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुरबाट सिक्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुर राणाबाट सिक्नुपर्ने बताउनुभएको छ । आईतवार आयोजित ‘नेपाली राष्ट्रियता र श्री ३ महाराज जङ्गबहादुर राणा’ प्रवचन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

१९ औँ शताब्दीको औपनिवेशिक विस्तारको चुनौतीपूर्ण समयमा नेपालको स्वतन्त्र अस्तित्व र सार्वभौमसत्ताको रक्षा गर्न जङ्गबहादुर राणाले महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको उहाँको भनाई छ । दक्षिण एशियाको अधिकांश भूभाग ब्रिटिश साम्राज्यको अधीनमा गइसकेको अवस्थामा पनि नेपालले आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्न सफल भएको उल्लेख गर्दै उहाँले त्यसको श्रेय तत्कालीन नेतृत्वका रूपमा जङ्गबहादुर राणालाई दिनुपर्ने बताउनु भयो ।

उहाँकाअनुसार जङ्गबहादुरले बेलायत भ्रमण गरी अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई नजिकबाट बुझ्ने अवसर प्राप्त गर्नुभएको थियो । त्यसपछि अवलम्बन गरिएको कूटनीतिक व्यवहारले नेपाल र ब्रिटिश साम्राज्यबीचको सम्बन्धलाई व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पु¥याएको उहाँले बताउनु भयो । नेपाल–ब्रिटिश भारत सीमाको व्यवस्थापनका क्रममा निर्माण गरिएका ‘जङ्गे पिलर’हरूले सीमा स्पष्टता तथा प्रशासनिक र कुटनीतिक स्थिरतामा समेत ठूलो भूमिका खेलेको उहाँले उल्लेख गर्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले सन् १८५७ को भारतीय विद्रोह दमनमा सैन्य सहयोग गरेबापत नेपालले बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसहितको ‘नयाँ मुलुक’ फिर्ता प्राप्त गर्नु उहाँको शासनकालसँग जोडिएको महत्वपूर्ण राष्ट्रिय उपलब्धि भएको बताउनु भयो ।

उहाँले वर्तमान नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा अघि बढिरहेको उल्लेख गर्दै राष्ट्रियताको अवधारणा अब केवल भौगोलिक अखण्डता र सार्वभौमसत्ताको संरक्षणमा मात्र सीमित नरही लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, समावेशिता, राष्ट्रिय एकता, आर्थिक आत्मनिर्भरता तथा नागरिक अधिकारको प्रवद्र्धनसँग समेत जोडिएको बताउनु भयो ।

राष्ट्रियताको संरक्षण र लोकतन्त्रको सुदृढीकरणबीच सन्तुलन कायम गर्नु नै आधुनिक नेपालको दिगो विकास र सफलताको आधार हुने उहाँको भनाइ थियो ।

उहाँले जंगबहादुरले नेपालमा मुलुकी ऐन बनाउन शुरुवात गरेको पनि बताउनु भयो । राज्य सञ्चालनलाई निश्चित नियम, प्रक्रिया र संस्थागत आधारमा अघि बढाउने प्रयत्नस्वरूप विक्रम संवत् १९१० मा जारी गरिएको मुलुकी ऐनलाई नेपालको पहिलो कानूनी संहिताका रूपमा लिन सकिने उहाँको भनाई छ ।

यद्यपि उक्त ऐनमा तत्कालीन समाजको जातीय संरचना र सामाजिक असमानताका केही पक्षहरू प्रतिबिम्बित भएको र आजको मूल्य–मान्यताका दृष्टिले ती स्वीकार्य नरहेको बताउनु भयो ।

त्यसलाई सोही समयको सामाजिक संरचना, राज्य व्यवस्था र चेतनास्तरलाई समेत सँगसँगै बुझ्न आवश्यक रहेको उहाँको भनाइ थियो । भण्डारीले जङ्गबहादुरका सामाजिक सुधारसम्बन्धी प्रयासहरू पनि उल्लेखनीय रहेको बताउनु भयो ।

तत्कालीन समाजमा गहिरोसँग जरा गाडेर बसेको सती प्रथालाई निरुत्साहित गर्ने पहल जङ्गबहादुरले नै गरेको उहाँको भनाई छ । उहाँले इतिहासका विभिन्न कालखण्डका अनुभवबाट शिक्षा लिँदै अझ सबल, समुन्नत र आत्मविश्वासी नेपाल निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।