१० भाद्र २०८३, बुधबार
,
Latest
प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता



अ+ अ-

चितवन – रत्ननगर नगरपालिका–७ मालपुरकी शिवराजिया माझीको जीवन केही वर्षअघिसम्म अभाव, चिन्ता र संघर्षले भरिएको थियो। दैनिक छाक टार्नसमेत कठिन हुने अवस्था थियो। बालबालिकाको शिक्षा, गुणस्तरीय खाना र सहज जीवनशैली उनका लागि कल्पनाजस्तै थियो। तर अहिले अवस्था बदलिएको छ।

शिवराजियाले अहिले वर्षभरिको खाद्यान्न व्यवस्थापन गर्न सक्ने भएकी छन्। आफ्ना बालबालिकालाई विद्यालय पठाइरहेकी छन् र बिरामी पर्दा अरूसँग सहयोग माग्नुपर्ने अवस्था छैन। आर्थिक सशक्तीकरणसँगै उनको आत्मविश्वास, मानसिक स्वास्थ्य र परिवारभित्रको भूमिका पनि बलियो बनेको छ।

यो परिवर्तनको आधार बनेको हो 6D नेटवर्क। रत्ननगर–७ मालपुरस्थित यस संस्थाले विपन्न महिलालाई साबुन उत्पादनसम्बन्धी तालिम दिएपछि शिवराजियासहित मुसहर समुदायका अन्य महिलाको जीवनमा नयाँ सम्भावना खुलेको हो।

नेदरल्याण्डका दुई सहयोगी महिला गीता र डेभीको आर्थिक सहयोगमा सञ्चालनमा आएको साबुन उत्पादन केन्द्रले मुसहर बस्तीका सात महिलालाई सीपमूलक तालिम प्रदान गर्दै आत्मनिर्भर बनाएको छ।

उक्त उद्योगले ‘हामी शक्ति साबुन’ ब्रान्डअन्तर्गत रसायनरहित नुहाउने साबुन, भाँडा माझ्ने साबुन तथा लिप बाम उत्पादन गर्दै आएको छ। उत्पादन नेपाली बजारसँगै नेदरल्याण्डसम्म निर्यात भइरहेको छ।

यस उद्योगमा आबद्ध महिलाहरूले मासिक तलबका अतिरिक्त उत्पादन बिक्रीबाट प्राप्त लाभांश पनि पाउँदै आएका छन्। त्यसले उनीहरूको आयस्तर मात्र नभई सामाजिक हैसियत र पारिवारिक सहभागितामा समेत सकारात्मक परिवर्तन ल्याएको छ।

यी महिलाहरू सन् २०२१ देखि 6D नेटवर्कसँग आबद्ध हुँदै आर्थिक तथा सामाजिक रूपान्तरणको यात्रामा अघि बढिरहेका छन्।