बागलुङ। वर्षौंदेखि खानेपानीको समस्या झेलिरहेका ढोरपाटनका तीन गाउँका ३६१ घरमा खानेपानी पुर्याइएको छ ।
बागलुङको ढोरपाटन नगरपालिका–४ खुङ्गा, सेराबाङ र किरी बस्तीमा कादुरीको सहयोगमा ३६१ घरमा ‘एक घर, एक धारा’ निर्माण गरेर शुद्ध खानेपानीको पहुँच पुर्याइएको हो ।
खानेपानी आयोजनामा कादुरीबाट रु तीन करोड ३३ लाख ९४ हजार २५३ सहित ११ प्रतिशत जनश्रमदानबाट ४२ लाख बराबरको योगदान जुटाइएको छ । रु तीन करोड ७५ लाख ९४ हजारको लागतमा करिब छ महिनामा आयोजना सम्पन्न भएको हो ।
वर्षौंदेखि रहेको खानेपानीको समस्या छ महिनामा समाधान भएपछि स्थानीय हर्षित भएका छन् । ढोरपाटन नगरपालिका–४ का स्थानीय कमलाछवि विकले घरमा खानेपानीको धारा आएपछि दैनिक काम सहज भएको बताउनुभयो ।
कादुरी एग्रिकल्चरल एड एसोसिएसन (ब्रिटिस गोर्खाज नेपाल) को आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको आयोजनाबाट ३६१ घरमा खानेपानी पुगेको उहाँले जानकारी दिनुभयो ।
“यसअघि दुई–तीन गाग्री पानीले गुजारा चलाउनुपथ्र्यो, सुक्खा याममा दुई–तीन घण्टा हिँडेर कुवाको पानी ल्याउनुपर्ने अवस्था थियो । अहिले घरमा खानेपानीको धारा आएको छ”, विकले भन्नुभयो ।
ढोरपाटन–४ का खुङ्गा, सोरबाङ र किरी बस्तीमा खानेपानी पुर्याइएको ढोरपाटन–३ खुङ्गाका वडाध्यक्ष तिलक पुनले जानकारी दिनुभयो । उहाँका अननुसाार सोरबाङ आधारभूत विद्यालय र दीपक आधारभूत विद्यालयमा शौचालय तथा विद्यालयका लागि बालमैत्री धाराको समेत निर्माण गरिएको छ ।
विद्यालयमा शौचालय निर्माणका लागि भने छुट्टै बजेट खर्च गरिएको वडाध्यक्ष पुनले जानकारी बताउनुभयो । विसं २०८२ कात्तिक १३ गते निर्माण सुरु गरिएको आयोजना गत वैशाखमा सम्पन्न भएर खानेपानी घरघरमा पुगेको उहाँले उल्लेख गर्नुभयो ।
“नौ किलोमिटर टाढाको मुहानबाट पानी ल्याइएको छ । रु ३२ हजार ५७० मिटर पाइपलाइन बिछ्याएर दुई वटा इन्टेक, एक फिल्टर ट्याङ्की, १० वितरण च्याम्बर र १७ रिजर्भ ट्याङ्की निर्माण गरिएको छ”, वडाध्यक्ष पुनले भन्नुभयो । कादुरीले शुद्ध तथा गुणस्तरीय र समयमै काम सम्पन्न गर्ने अभ्यासका कारण स्थानीयले संस्थामाथि विश्वास गरेका उहाँका भनाइ छ ।
आयोजना सञ्चालनमा आएपछि वर्षौंदेखि समस्याका रूपमा रहेको खानेपानीको अभाव अन्त्य भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष बलबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
आयोजनाको दीर्घकालीन सञ्चालनका लागि प्रत्येक धारामा मिटर जडान गरिएको छ । हाल प्रतिधारा मासिक रु ७० शुल्क उठाउने व्यवस्था गरिएको छ भने मर्मतसम्भार कोष र कर्मचारी व्यवस्थापनका लागि सोही रकम उपयोग गरिने समितिले जनाएको छ । रासस











