६ असार २०८३, शनिबार
,
Latest
धवल शमशेरलाई लिङ्देनले भने – पार्टी छाडेर गल्ती नगर्नुस् जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल



अ+ अ-

काठमाडौँ।  नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ ।

शनिवार कोटेश्वरस्थित पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बाहिर आएका हल्लाहरूको पछि नलाग्न कार्यकर्ता तथा बुद्धिजीवीहरूलाई आग्रह गर्नुभएको हो । उहाँले समाचारमा आउने कतिपय विषयले बुद्धिजीवीहरू समेत प्रभावित हुने गरेको भन्दै वस्तुगत परिस्थितिको गहिरो विश्लेषण गर्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीको आगामी कार्यदिशाका बारेमा चर्चा गर्दै नेता नेपालले अहिलेको मुख्य कार्यभार देशभक्त, क्रान्तिकारी र गणतन्त्र पक्षधर लोकतान्त्रिक शक्तिहरूलाई गोलबन्द गर्नु रहेको बताउनु भयो । उहाँले राष्ट्रिय हित, जनहित र गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी आफ्नो पार्टीको काँधमा रहेको दाबी समेत गर्नुभयो । पूर्वप्रधानमन्त्री नेपालले सतहमा आएका समाचारकै भरमा भ्रममा नपर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘त्यसै हुनाले तपाईंहरू माथिका सतही कुरा हेरेर त्यसमा बग्ने होइन, भित्री अन्तर्विरोधहरू बुझ्न सक्नुपर्छ । सबै विषयका बारेमा जानकारी राख्नुपर्छ । समाचारमा कुनै कुरा आयो भने हामी त्यसैमा बग्ने गर्छौं । सुनियो कि एमालेसँग एकता हुन लागेको छ, भनिसकेपछि बुद्धिजीवीहरूमा पनि त्यसको प्रभाव पर्ने रहेछ । मलाई त फोनको जवाफ दिँदा–दिँदै हैरान भएको छु । तर यस्तो कुरा दुनियाँले पनि पत्याउने खालको छैन । एमालेसँग अहिले एकता सम्भव छ र ? सम्भवै छैन । त्यसैले यस विषयमा तपाईंहरू कोही पनि भ्रममा नपर्नुहोस् । अहिले हाम्रो पार्टी जुन विचार र मान्यता लिएर अगाडि बढिरहेको छ, त्यसले अवश्य पनि देशमा रहेका सबै देशभक्त शक्तिहरूलाई गोलबन्द गर्नुपर्छ, सबै क्रान्तिकारी शक्तिहरूलाई गोलबन्द गर्नुपर्छ । साथै, सबै लोकतान्त्रिक शक्तिहरू र गणतन्त्रका पक्षधर शक्तिहरूलाई पनि साथमा लिएर जानुपर्छ । किनभने देशको रक्षा गर्ने जिम्मेवारी, राष्ट्रहितको रक्षा गर्ने जिम्मेवारी हाम्रो काँधमा छ । गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी पनि हाम्रो काँधमा छ । जनताको हितको पक्षमा उभिने दायित्व पनि हाम्रै हो । त्यसै हुनाले जनताको पक्षमा, राष्ट्रको पक्षमा, परिवर्तनको पक्षमा र रूपान्तरणको पक्षमा स्पष्ट सोचका साथ हामी अगाडि बढ्नुपर्छ । त्यसैका निम्ति हामीले ‘वैज्ञानिक समाजवाद’ र ‘नेपाली विशेषताको समाजवाद’ भन्ने गरेका छौँ । नेपालको आफ्नै विशेषता छ । यो बहुजातीय देश हो, बहुभाषिक देश हो । नेपालमा आफ्नै किसिमका संस्कृति र परम्पराहरू छन्। नेपाली जनताका आफ्नै गौरवशाली इतिहास छन् । नेपाल कहिल्यै पनि कुनै देशको उपनिवेश बनेन। त्यसैले हामी आफ्ना पुर्खाहरूप्रति गौरवबोध पनि गर्छौं ।’

नेता नेपालले आफ्ना पूर्खाहरूको गौरवशाली इतिहासको रक्षा गर्दै देशमा रहेका सबै परिवर्तनकारी शक्तिहरूलाई एकै ठाउँमा ल्याएर मुलुकको रूपान्तरणमा लाग्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल