कायरो। अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पहल गरेका मध्यस्थकर्ताहरू पाकिस्तान, साउदी अरब र टर्कीए आइतबार इजिप्टमा छलफलका लागि भेला हुने कायरोले जानकारी गराएको छ । इस्लामावादले पनि यस समाचारलाई पुष्टि गरेको छ ।
पाकिस्तानको विदेश मन्त्रालयले शुक्रबार भनेको छ, “मध्यस्थ चार मुल्कहरू पाकिस्तान, साउदी अरब, टर्कीए र इजिप्टका विदेश मन्त्रीहरू ‘क्षेत्रीय विकास र शान्ति, सुरक्षा र स्थिरतासँग सम्बन्धित मुद्दा’ हरूमा छलफल गर्न भेला हुनेछन् ।”
इजिप्टको विदेश मन्त्रालयले बिहीबार राति बैठकपछि विस्तारित वार्ता र संयुक्त पत्रकार सम्मेलन हुने जनाएको छ ।
मन्त्रालयले सुरुमा यो बैठक इजिप्टको एल अलामेनको रिसोर्टमा हुने बताएको थियो ।
चार विदेश मन्त्रीहरूले पछिल्लो पटक अप्रिलमा टर्कीएको रिसोर्ट शहर अन्टाल्यामा एक कूटनीतिक फोरमको क्रममा भेट गरेका थिए ।
कायरो र अमेरिकाबीच शुक्रबार स्विट्जरल्यान्डमा हुने भनिएको वार्ता स्थगित भएको स्वीट्जरल्याण्डको विदेश मन्त्रालयले जनाएको छ ।
ह्वाइट हाउसले वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले स्वीट्जरल्याण्ड भ्रमण गर्ने कार्यतालिका रद्द भएको पुष्टि गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उहाँका इरानी समकक्षी मसुद पेजेस्कियनले गत फेब्रुअरी २८ देखि इरानमाथि अमेरिका–इजरायल हमलापछि सुरु भएको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर गरेपछि उपराष्ट्रपति भान्सको भ्रमण रद्द गरिएको हो ।
यसले हर्मुजको जलडमरूमध्य पुनः खोल्ने र तेहरानको आणविक कार्यक्रम सहित व्यापक मुद्दाहरूमा ६० दिने वार्ता अवधि सुरु गर्ने कार्यका लागि बाटो खोलिदिएको छ।
यो सम्झौतामा लेबनानमा लडाई रोक्ने समझदारीसमेत भएको छ तर त्यसपछि पनि इजरायली सेना र इरान समर्थित हेजबुल्लाहका लडाकुहरूबीच केही झडपहरू भएका छन् । (रासस/एएफपी)











