काठमाडौँ: विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले देशसँग पीरती लगाउँदा आफू मन्त्री बन्न पुगेको बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभा बैठकमा आफना मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले उक्त टिप्पणी गर्नुभएको हो । सुरुमा गाउँसँग पीरति थियो । त्यो जिल्ला हुँदै देशसँग परिणत भएर आफू सांसद, मन्त्री भएको मन्त्री पुनको भनाई थियो । उहाँले आफू मन्त्री भएपछि जोगी भएको अनुभूति भएको पनि संसदमा सुनाउनु भयो ।
उहाँले भन्नुभयो,‘एउटा गीत छ–मत यस्तो होइन दाई, पीरतीले जोगि बनायो । यो पहिलापहिलातिरको समयमा गाईन्थ्यो यो गीत । अव म पनि त्यस्तो संसद हुने, मन्त्री हुने मान्छे त होइन, तर पीरतीले मलाई सांसद र मन्त्री बनायो । एउटा लामो कहानी छ । पीरती मेरो कसरी कोसँग बसेर म जोगी भए ? भन्ने कुरा आयो क्या । र, मन्त्री भए भन्ने कुरा आयो । मेरो पीरती खासमा देशसँग बसेको हो । तर सुरुमा एकैचोटी देशसँग बसेको होइन । त्यो चाहीँ गाउँसँग बस्यो । म अमेरिकाबाट यसो घुम्न आएको मान्छे त्यहाँ गाउँसँग पीरती बस्यो । गाउँबाट जिल्ला, जिल्लाबाट अरु जिल्ला हुँदै देशसँग पीरति बस्यो । त्यसैले अहिले जोगी भए । पक्का जोगी हो म चाँही । व्यवहारिक रुपमा पनि म जोगी नै हो ।’
मन्त्री पुनले पीरतिले जोगि बनाएको गीतको स्मरण गराउँदै उहाँले आफू व्यवहारिक रुपमा सोही गीतले भनेझै जोगी भएको बताउनु भयो । –न्युज एजेन्सी नेपाल
तस्बिरः किरणराज विष्ट/रासस










