३१ जेष्ठ २०८३, आईतवार
,
Latest
युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म



अ+ अ-

काठमाडाैँ । काठमाडौं महानगरपालिकाले महानगरलाई भौतिक संरचनाको चक्रव्युहबाट बाहिर निकालेर एक सहृदयी, समावेशर ‘मानवीयताको शहर’ को रूपमा विकास गर्ने दूरगामी सङ्कल्प अघि सारेको छ ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आईतवार नगरसभाको १९ औँ अधिवेशनमा कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त संकल्प गर्नुभएको हो । नीति तथा कार्यक्रमले कंक्रिटको सडकभन्दा माथि उठेर सामाजिक न्याय, नागरिक संवेदना र पर्यावरणमैत्री कल्याणकारी अभ्यासलाई अभूतपूर्व प्राथमिकता दिएको छ ।

महानगरले आगामी वर्षको बजेट तथा कार्यक्रममा ‘मानवीयताको शहरः काठमाडौं’ भन्ने मार्गनिर्देशक सन्देशलाई कार्यान्वयन गर्न थुप्रै प्रयोगात्मक र सिर्जनात्मक योजनाहरू समावेश गरेको छ । यस अन्तर्गत महानगरवासी र यहाँ आश्रय लिने सम्पूर्ण प्राणीहरूको हितलाई रक्षा गर्ने प्रतिवद्धता जनाइएको छ ।

मुख्य घोषणा मध्ये, ‘ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर अभियान’ एक कोशेढुङ्गा सावित हुने देखिएको छ । यस अभियान अन्तर्गत अब महानगर क्षेत्रभित्र बस्ने वृद्धवृद्धा र अशक्त नागरिकहरूले उपचारका लागि अस्पताल धाउनुपर्ने वा लाइन बस्नुपर्ने झन्झट अन्त्य हुनेछ । उहाँहरूको घरदैलोमै चिकित्सक, स्वास्थ्य प्राविधिक र सेवा कर्मचारी परामर्श तथा औषधि बोकेर पुग्नेछन् । साथै, ७५ वर्ष उमेर पूरा गरेका वरिष्ठ ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका अशक्त नगरवासीहरूलाई पोषक आहारको सुरक्षाका लागि नियमित पोषण भत्ता उपलब्ध गराइनेछ ।

काठमाडौंका सडकहरूलाई मानवीयताको प्रतिबिम्ब बनाउन महानगरले सुदृढ योजना अघि सारेको छ । सहयोगापेक्षी, घरबारविहीन र सडक आश्रित नागरिकहरूको उद्धार, तथा व्यवस्थापनका लागि साझेदार संस्थाहरू र गैरसरकारी निकायहरूसँग संयुक्त समन्वय गरी काठमाडौंलाई ‘सडक आश्रित मानवमुक्त शहर’ घोषणा गरिने र यसको प्रभावकारी कार्यान्वयन अघि बढाइने नीतिमा उल्लेख छ । कार्यवाहक प्रमुख डंगोलले महानगरको मानवीयता केवल मानिसमा मात्र संकुचित नभएको बरु यसले पशुपंक्षी र प्रकृतिको सहअस्तित्वलाई समेत हार्दिकताका साथ समेटेको बताउनु भयो ।

चराचुरुङ्गी संकटमा पर्दै गएको शहरी पर्यावरणलाई महशुस गर्दै महानगरभित्रका सम्पूर्ण टोल, विद्यालय, समुदाय र पार्कहरूमा पंक्षीमैत्री अभ्यास सञ्चालन गरिने बताउनु भयो । यसका लागि चराचुरुङ्गीहरूलाई स्वच्छ पानी उपलब्ध गराउन हजारौँको सङ्ख्यामा ‘पानी पात्र’ हरू स्थापना गरिने घोषणा गरिएको छ । सडकका कुकुर र बाँदरको नियन्त्रण गर्दासमेत कुनै निर्दयी विधि प्रयोग नगरी पशु कल्याणका सिद्धान्तअनुसार मानवीय र वैज्ञानिक उपाय मात्रै अवलम्वन गरिने कुराले महानगरको सभ्य सोच दर्शाउँछ ।

महानगरपालिकाले आफ्नो परम्परा र सीपलाई पनि विशेष सम्मान दिने भएको छ । पुस्तौँदेखि चलिआएको मौलिक सीप, शिल्पकला र आधुनिक प्रतिभा भएका व्यक्तिहरूको क्षमता प्रमाणीकरण गरी उनीहरूलाई आधिकारिक प्रमाणपत्र जारी गर्ने नौलो व्यवस्था मिलाइने बताएको छ । यो निर्णयले रैथाने कालीगढ र काष्ठकलाविद्हरूको सम्मान प्रवद्र्धन गर्ने महानगरको विश्वास छ ।

युवा तथा सुशासनको नयाँ परिभाषा कोर्नका लागि महानगरले नवयुवा पुस्ता (जेन जेड र जेन अल्फा) लाई राष्ट्र निर्माणको संवाहक मानीउनीहरूको आवश्यकता सम्बोधन गर्ने र राष्ट्रिय व्यक्तित्वहरूसँग साक्षात्कार गराउने विशेष विमर्श कार्यक्रम अघि सारेको छ । भित्री साँगुरो सडकमा स्वास्थ्य सेवा पु¥याउन ‘बाइक एम्बुलेन्स’, सबै निजी र सरकारी अस्पतालहरूमा १० प्रतिशत विपन्न उपचारको कडा अनुगमन, वृद्धहरूलाई निमोनिया खोप र मानसिक तनाव व्यवस्थापनका लागि कल सेन्टर जस्ता योजनाहरूले नीति तथा कार्यक्रमलाई वास्तविक रूपमा जनताकेन्द्रित बनाएका छन् ।