बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका अधिकांश मासुपसलमा अनुगमनका क्रममा सडेगलेको मासु भेटिएपछि बरामद गरिएको छ । वडानम्बर ७ को जनकपथ, ५ को वीपीपथ र वडानम्बर १३ को हाटबजार लाइनमा रहेका मासु पसलको अनुगमन गरिएको हो । अनुगमन समिति संयोजक एवं सामाजिक विकास शाखा अधिकृत यादवप्रसाद सापकोटाले नगरभित्रका १२ वटा मासु पसलको अनुगमन गर्दा एक क्विन्टल बढी सडेगलेको मासु भेटिएपछि बरामद गरी नष्ट गरिएको बताए ।
‘व्यवसायीले जनस्वास्थ्यमाथि निकै खेलवाड गरेको पाइयो । महिनौंदेखि सडेको मासु विक्रीका लागि राखेको पाइएपछि हामीले बरामद गरेर नष्ट गरेका छौं । व्यवसायीलाई सचेत गराएका छौं’, उनले भने । गुज्रिएका खाद्यवस्तु भेटिएपछि जफत गरी नष्ट गरिएको थियो । अनुगमनका क्रममा पसलेले विक्रीका लागि राखेको करिब एक क्विन्टल खशी, बोका र बाख्रीको मासु बरामद गरि नष्ट गरिएको हो ।

सिनपा ७, जनकपथमा रहेको न्यू सुपर मासु पसलबाट मात्रै ८० केजी बढी बाख्रीको सडेगलेको मासु बरामद गरिएको छ । सोही पसलबाट ८ वटा बाख्री पनि नियन्त्रणमा लिइएको छ । उक्त पसल नगरपालिकाबाट अर्को निर्देशन नहुँदासम्म संचालनमा रोक लगाइएको सापकोटाले जानकारी दिए ।









