१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

रोल्पाका शनि बने पहिलो नेपाल लोकस्टार

रोल्पाका शनि बने पहिलो नेपाल लोकस्टार
अ अ+ अ-

काठमाडौं : रोल्पाका शनि विश्वकर्माले नेपाल लोकस्टारको उपाधि चुमेका छन्। एपीवान टेलिभिजनबाट प्रसारित सर्वाधिक पुरस्कार राशिको रियालिटी सो नेपाल लोकस्टारको उपाधिसँगै उनले ५० लाख नगद पुरस्कार र सिटिजन्स लाइफ इन्सोरेन्सका तर्फबाट २५ लाख बराबरको जीवन बिमा हात पारेका छन्।

भृकुटीमण्डपस्थित खुला मैदानमा शुक्रबार आयोजित फाइनलमा उनले ‘अमिलो रसैले…’ बोलको गीत गाएका थिए। प्रतियोगितामा स्याङ्जाका चेतन गोतामे दोस्रो भई २५ लाख नगदसँगै १५ लाख बराबरको जीवन बिमा पनि प्राप्त गरे। उदयपुर कटारीका विनोद दनुवारले १० लाख नगदसँगै १० लाख बराबरको जीवन बिमा प्राप्त गरे। रामेछापका रामकुमार नेपालीले सान्त्वना स्थान हासिल गरे। नेपालीले लिटमस इलोक्ट्रोफाइन परफरमर अफ द सिजन अवार्डसहित दुई लाख नगद प्राप्त गरे।

असार १२ गते सुरु भएको लोकस्टार कार्यक्रम भृकुटीमण्डपबाट ३६औं शृंखला प्रत्यक्ष प्रसारण गर्दै सम्पन्न भएको छ। नेपाली लोकसंस्कृति प्रचारप्रचार र विकास गर्ने उद्देश्यले चाहना मिडिया प्रालिले कार्यक्रम आयोजना गरेको हो।

नेपाल लोकस्टार नेपाली लोकसंगीतको इतिहासमा धेरै पुरस्कार राशिको सांगीतिक कार्यक्रम हो। देशभरका विभिन्न ठाउँमा भएको अडिसनबाट लोकस्टारमा उत्कृष्ट छनोट भएका थिए। कार्यक्रममा विभिन्न जिल्लाका स्थानीय लोकसंगीतदेखि आधुनिक गीत र राष्ट्रिय गीतले स्थान पायो। उत्कृष्टमा छानिएकाले मधेसको भोजपुरी र सुदूरपश्चिमको देउडा गीत पनि गाए।

कार्यक्रमको ३६ औं शृंखलासम्म आउँदा सुनिता दुलाल, जयनन्द लामा, बीबी अनुरागी र रामजी खाँडले निर्णायकको भूमिका निर्वाह गरे। एपीवानका सुरेश पौडेलले प्रोजेक्ट हेड जिम्मेवारी पूरा गरे। एलन श्रेष्ठ र लोकेश बज्राचार्यले निर्देशकीय भूमिका निर्वाह गरेका थिए।

विजयी प्रतिस्पर्धीलाई अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, आईएमई गुप्रका अध्यक्ष चन्द्र ढकाल, अन्नपूर्ण मिडिया नेटवर्कका एमडी लक्ष्मी पौडेल, एपीवान टेलिभिजनका सुरेश पौडेल, चाहना मिडियाका प्रमुख भरतबहादुर बस्नेत, लिटमस केबलका उपाध्यक्ष सरोजकुमार मि श्रलगायतले पुरस्कार प्रदान गरेका थिए।

कार्यक्रममा सम्बोधन गर्दै नेटवर्कका अध्यक्ष थापाले देशका कुनाकाप्चामा लुकेर बसेका प्रतिभालाई लोकस्टारले भव्य मञ्च र स्थान दिएको बताए। उनले नेपाली लोकसंगीतले सबैलाई एकतामा जोड्ने विश्वास व्यक्त गरे।

यस्तै आईएमई ग्रुपका अध्यक्ष ढकालले लोकसंगीतले सबैको हृृदयलाई छुने बताए। समारोहमा लिटमस केबलका उपाध्यक्ष सरोजकुमार मिश्र, लोकस्टारका सीईओ सुरज गिरी, चाहना मिडियाका अध्यक्ष सहदेव कोइराला, हेमराज ढकाल, सरोजकुमार मिश्र, सहदेव कोइराला, सुदीप आचार्य, प्रदीप रोका, सञ्जय संघाई, रोहित गुप्ता, आदित्य संघाईलगायत सहभागी थिए।

लोकस्टारका लक्की चार

शनि विश्वकर्मा

रोल्पाली ठिटो शनि विश्वकर्माले लोकस्टारमा ‘सुमधुर स्वरका धनी’ टाइटल प्राप्त गरेका छन्। उनी माउन्ट इङ्लिस बोर्डिङ स्कुल दाङमा कक्षा १२ अध्ययनरत छन्। उनका ठूलोबुबा पनि गीत गाउँछन्। उनकै संगतले गर्दा पनि शनिमा गीतको धुन गढ्यो। गोठालो जाँदा होस् या मेलापात गर्दा शनिकै गीत गाउँथे। संगीतमै लाग्छु भन्ने थियो उनलाई, अग्रजले पनि यही सुझाउँथे। यसका लागि कक्षा ८ पढ्न रोल्पा सदरमुकाम गए। त्यहाँ दुई वर्ष पढे। एसएलसी सकाएर दाङ झरे। दाङमा महोत्सव लागेको थियो। राष्ट्रिय स्तरका कलाकारसँग गीत गाउने मौका पाए उनले।

यसपछि उनको स्वरको चर्चा हुन थाल्यो। सांगीतिक कार्यक्रममा निम्तिन थाले। उनी खुब गीत सुन्थे, तर गायक, संगीतकार कोही चिन्दैनथे। बुटवल अडिसनमा उनले ‘तिरिरी मुरली बज्यो…’ बोलको गीत गाएर निर्णायकको मन जिते। १८ वर्षे शनि गोल्डेन माइक विजेता हुन्। यसले उनलाई थप जिम्मेवार बनायो। गोल्डेन माइकको इज्जत राख्न पनि उनले संगीत सिक्नै पर्ने भयो। उनी काठमाडौं आएर गुरु नरहरि प्रेमीसँग एकमहिने संगीत कक्षा लिए। लोकस्टारमा सहभागीमध्ये सबैभन्दा कान्छा उमेरका शनि लजालु स्वभावका छन्।

चेतन गोतामे

स्याङ्जा सिर्सेकोटका चेतन लोकस्टारका ‘रकिङ स्टार’ हुन्। चेतन राजु परियार, बिमाकुमारी दुरा, भगवान भण्डारी, पुरुषोत्तम न्यौपानेका गीत सुनेर हुर्किएका हुन्। उनको बाबा, दिदी र दाइ पनि मौलिक गीत गाउँछन्। भन्छन्, ‘निकै मिठो ठेट भाका गुञ्जिन्थ्यो हाम्रो घरमा। कति गीत त अझैसम्म पनि रेकर्ड भाएका छैनन्।’ ठूलो परिवारमा जन्मेका गोतामे पेट पाल्न कहिले मुम्बई त कहिले दिल्लीमा समेत मजदुरी गर्न पुगे। दिल्लीमा होटलमा काम गर्दा गर्दा पनि उनी लोकगीत गाइरहेका हुन्थे।

२०६६ सालमा एल्बम निकाल्न भनेर उनी काठमाडांै आए। रिलवाला क्यासेटमा विश्वास लाछैन बोलको गीत बजारमा ल्याए। भिडियो बनाउन भनेर कम्पनीलाई ३० हजार बुझाए तर कम्पनीले पैसा खाइदियो। गीतले पनि खासै चर्चा पाएन। उनी भन्छन्, ‘संगीतमा पलाउन लागेको कोपिला कम्पनीले निमोठिदियो।’

कलाकार बनेर पैसासँगै चर्चा कमाउन सहर छिरेका गोतामे घर न घाटका भए। गाउँ जाऊँ त ऋण तिर्न सकिएको छैन। सहरमा बसौं भने खाने बस्ने ठेगान छैन। सोह्रखुटेमा फर्निचरको काम पाए। काम गर्दै संगीत साधना गर्दै रहे। केही समयपछि दोहोरी साँझमा गीत गाउँदै एल्बम निकाल्दै गए।

उनले स्याङ्जालीको छोरो, विश्वास लाछैन, तिम्रो एउटा झुटलेलगायत दर्जनभन्दा बढी एल्बम निकालेका छन् भने एक सयभन्दा बढी लोकगीतमा स्वर भरेका छन्। भन्छन्, ‘माटोको गीत, स्थानीय संस्कृतिको धुन भरिएको गीत नै हरायो। संसारको कुनै पनि संगीतमा नभएको मिठास पाइन्छ लोकगीतमा। अचेलका लोकगीतमा खास मिठास भेटिँदैन।’

मौलिक गीतको खोजी गर्न प्रयासरत चेतन लोकस्टारमा सुरुदेखि नै खास मानिँदै आएका थिए। उनले हरेक गीतमा पर्फेक्ट गाउने अभ्यास गर्थे। चेतन दर्शकको माझमा चर्चा कमाएका प्रतियोगी हुन्।

विनोद दनुवार

उदयपुर कटारीका हुन् विनोद दनुवार। उनी गीत गाउने रहर पूरा गर्न काठमाडांै आए। काठमाडांैमा कोही आफ्ना थिएनन्। पनौतीमा आफन्तकहाँ बसेर कर्मस पढे।

उनको सांगीतिक लगाव भने बच्चैदेखिको हो। स्कुलको कार्यक्रम, गोठालो जाँदा र वनपाखामा गीत गाएरै उनको बाल्यकाल बित्यो। यम बराल, रामचन्द्र काफ्ले, दीप श्रेष्ठका गीत सुनेर हुर्किएका विनोद लोकसंगीतमै केही गर्न चाहन्छन्।

उनले पनौतीमै सुरेन्द्रकुमार श्रेष्ठसँग केही समय शास्त्रीय संगीत सिके। स्कुल कलेजमा स्टेज कार्यक्रममा गीत गाउँथे। गायक बन्न काठमाडांै छिरेका दनुवारले निर्दोष नामक एल्बम निकाले। एल्बमले खासै चर्चा पाएन। लगानी डुब्यो। पैसा कमाउनुपर्छ भन्ने लाग्यो। पैसा कमाउन चार वर्षअघि विदेश गए।

‘बर्मा गए पनि कर्मसँगै’ भनेजस्तै एजेन्टको फन्दामा परेर खासै पैसा कमाउन सकेनन्। संगीतमै केही गर्छु भनेर नेपाल फर्किए। आरआर कलेजमा संगीत विषय लिएर पढ्न थाले। कलेजले आयोजना गरेको आरआर आइडल विजेता भए। लोकस्टारमा आएपछि मात्रै उनले आफ्नो क्षमता चिने। संगीतका हस्तीसँग भेट्ने मौका पाए।

दनुवार जाति गीतसंगीतमा निकै कम सक्रिय देखिन्छन्। यही समुदायको प्रतिनिधित्व गर्दै विनोदले लोकस्टारमा निरन्तर आफूलाई टल्काउने काम गरे।

रामकुमार नेपाली

रामेछाप मन्थलीका रैथाने हुन् रामकुमार नेपाली। २०६१ सालदेखि उनी लोकसंगीतमा लागेका हुन्। ललितकला क्याम्पस भोटाहिटीमा उनले डिप्लोमा इन म्युजिक विषयमा ४ वर्ष औपचारिक अध्ययन गरे। रामेछापदेखि काठमाडौंसम्मको यात्रा उनको सहज भने पक्कै थिएन। कलाकार बन्ने रहरले उनलाई कहिले घर बनाउने मिस्त्री बनायो त कहिले मजदुर। तर पनि लोकगीत गाउने हुटहुटीले छोडेन।

काठमाडौं अडिसनमा गोल्डेन माइक जितेर उनले लोकस्टारमा सानदार प्रवेश पाएका थिए। उनका बुवाआमाले लुगा सिलाउने पुख्र्यौली पेसा गर्दै आएका छन्। भात खान दसंै पर्खनुपथ्र्यो। तर पनि बुवाले धानेको पुख्र्यौली पेसा अपनाउन उनलाई मन लागेन। गीत गाउन छाडेनन्। भन्छन्, ‘मेरो शरीरमै लोकगीत बगिरहन्छ त म अरू पेसा खोज्न कहाँ जाऊँ ? ’

उनका मेरी आमा, चौबन्दीको फुर्का, दुई रुपैयाँको बिँडी लगायत डेढ दर्जन एल्बम छन्। करिब तीन लोकगीतमा स्वर दिइसकेका छन्। तर उनका गीतले खासै चर्चा पाउन सकेको थिएनन्। घरबाट खासै सहयोग पाउँदैनथे। २०६६ सालमा रामेछाप लोकतारामा पहिलो स्थान जितेपछि उनको बाबाको मन फेरियो। एल्बम निकाल्न सकेको आर्थिक सहयोग गर्न थाले।

बन्द कोठामा मादल र किबोर्ड चलाउँदै रियाज गरिरहने रामकुमार सानो साथी सर्कलमा मात्रै सीमित थिए। उनी हुर्केको समाजमा सालैजो, टप्पा, कौडा, देउडा, हाक्पारे सबै खालका भाका गाइन्छ। उनलाई लोकगीतका सबै भाका प्यारो लाग्छ। किन त ? भन्छन्, ‘लोक भनेकै माटोको गीत। चाहे सुदूरको गीत होस् या मधेसको ताल होस्। लोकगीत आमाको माया जस्तो लाग्छ। लोकगीतमा आफू हुर्केको माटोको गन्ध आउँछ। नेपालीपनको मिठास आँउछ।’

रामकुमारले लोकस्टारमा सुरुदेखि नै दर्शक र निर्णायकको मन जित्दै आएका थिए। उनी गीत गाउन होस या संगीत भर्न या अभिनय गर्न नै किन नहोस् अथवा धमाकेदार प्रस्तुति दिन आफूलाई निकै अब्बल साबित गरेका थिए। कार्यक्रम अवधिभर धेरै पटक उनको आवाज र प्रस्तुतिले वाहवाह कमाउन सफल भयो। (साभारः अन्नपूर्ण दैनिक)