काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिनकुमार आचार्यले सांसद बोल्ने, सरकार नसुन्ने र जनता कराउने तर व्यवस्था नसुन्ने परम्परारको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सांसदहरुले शुन्य समयमा उठाएका विषयहरू कार्यान्वयनमा नलगेकोप्रति असन्तुष्टी जनाउँदै ‘शुन्य समय’ लाई ‘ब्ल्याक होल समय’ भन्नुपर्ने टिप्पणी गर्नुभयो । उहाँले ब्ल्याक होलमा प्रकाशसमेत हराएझैँ संसदमा नागरिकको आवाज, जनप्रतिनिधिको जवाफदेहिता र सरकारको जिम्मेवारी हराउन नहुने बताउनु भयो ।
उहाँले सांसदहरूले उठाएका जनताका पीडा, प्रश्न र राष्ट्रिय मुद्दा सुन्ने, टिपोट गर्ने र कार्यान्वयन प्रक्रियामा लैजाने व्यवस्था भएमा मात्रै शुन्य समयको सार्थकता रहने बताउनु भयो । शुन्य समय केवल बोल्ने औपचारिकता नभई जनताको पीडा संसदमा प्रवेश गर्ने संवैधानिक माध्यम भएकोले यसलाई अभिलेखमा मात्र सीमित नराखी तत्काल सम्बन्धित मन्त्रालयमा पठाउन र तोकिएको समयभित्र कार्यान्वयनको प्रगति विवरण सम्बन्धित सांसदलाई उपलब्ध गराउन माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यदी यो शुन्य समयमा हामीले बोलेका कुराहरु सुनिन्छन्, टिपिन्छन् र कार्यन्वयनको प्रक्रियामा जान्छन् भने यसलाई शुन्य समय होईन पुर्ण समय भनौँ । तर यदी जनताका पीडा, सांसदका प्रश्न र देशका मुद्दाहरु जति बोलेपनि शुन्यमा शुन्यसरी बिलाएर जाने हो भने यसको नाम शुन्य समय होइन, व्ल्याक होल समय राखौँ । ब्ल्याक होलमा प्रकाश समेत हराएझै संसदमा नागरिकको आवाज, जनप्रतिनिधिको जवाफदेहीता र सरकारको जिम्मेवारी हराउन हुँदैन । शुन्य समय केवल बोल्ने औपचारिकता होईन, यो जनताको पीडा संसदमा प्रवेश गर्ने संवैधानिक ढोका हो, तर ढोका खुलेपछि बाटो पनि हुनुपर्छ । त्यसैले शुन्य समयमा उठेका विषयहरु अभिलेखमा मात्रै सिमित नगरियोस्, ती विषयहरु तत्काल सम्बन्धित मन्त्रालयमा पठाईयोस्, निश्चित समयभित्र कार्यन्वयनको प्रगति सांसदलाई जानकारी गराईयोस् । सांसद बोल्ने सरकार नसुन्ने, जनता कराउने व्यवस्था नसुन्ने, यो परम्परा अब अन्त्य हुनुपर्छ । यो समय शुन्य होइन, जनताको आवाजको पूर्ण समय बन्नुपर्छ ।’
बैठकमा उहाँले शुन्य समय जनताको आवाजको पूर्ण समय बन्नुपर्ने बताउनु भयो ।–न्युज एजेन्सी नेपाल










