२२ असार २०८३, सोमबार
,
Latest
झापामा नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’ धुलिखेल–खावा सडकखण्डः रातका समयमा बन्द नगरिने खाद्य स्वच्छता र गुणस्तर पालना गर्न व्यवसायीलाई विभागको निर्देशन सरकारलाई कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूले भनेः कर्णालीलाई सुरक्षित सडक चाहिएको छ, मृत्युमार्ग होइन ललितपुरमा युवतीमाथि सार्वजनिक रूपमा अश्लील हर्कत, पीडितकै भिडिओपछि आरोपीको खोजीमा प्रहरी सांसद राईको प्रश्नः प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउनु भनेर पाँच वर्षै भनिरहनुपर्ने हो ? नाडा अटो शो २०२६ का लागि स्टल वितरण सम्पन्न सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी हवाई आक्रमणमा १३ सर्वसाधारणको मृत्यु



अ+ अ-

काठमाडाैँ । अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले अफगान हवाई क्षेत्र उल्लङ्घन गरी गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १३ सर्वसाधारणको मृत्यु भएको र १४ जना घाइते भएको जनाएको छ ।

तालिबानका अनुसार आक्रमणले दुई देशबीचको तनावलाई थप चर्काएको छ र सीमावर्ती क्षेत्रमा असुरक्षाको अवस्था गम्भीर बनेको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले मङ्गलबार राति र बुधबार बिहानको बीचमा पाकिस्तानले कुनार, खोस्त र पक्तिका प्रान्तका बस्तीहरूलाई लक्षित गरी बमबारी गरेको बताउनुभयो ।

उहाँका अनुसार उक्त आक्रमणमा ११ बालबालिका, एक महिला र एक वृद्ध पुरुषको मृत्यु भएको छ । मुजाहिदले आक्रमणका क्रममा १४ जना महिला घाइते भएको जानकारी दिँदै घटनापछिका तस्बिरसमेत सार्वजनिक गर्नुभयो । तालिबानले यसलाई अफगानिस्तानको सार्वभौमसत्तामाथिको प्रत्यक्ष उल्लङ्घन र नागरिकमाथिको आक्रमणका रूपमा व्याख्या गरेको छ ।

अफगान अधिकारीहरूका अनुसार पछिल्लो एक वर्षयता अफगान भूमिमा भएका पाकिस्तानी सैन्य कारबाहीका कारण सयौँ व्यक्तिको ज्यान गइसकेको छ । सीमापार तनाव बढ्दै जाँदा दुवै देशबीचको सम्बन्ध लगातार बिग्रँदै गएको बताइएको छ । मार्च महिनामा भएको एक ठूलो आक्रमणमा पाकिस्तानी सेनाले काबुलस्थित पुनर्वास केन्द्रलाई निशाना बनाएको दाबी गरिएको छ ।

तालिबानका अनुसार उक्त घटनामा कम्तीमा २६९ जनाको मृत्यु भएको थियो । त्यसयता सीमावर्ती क्षेत्रमा बारम्बार सैन्य कारबाही भइरहेका छन् । अक्टोबर २०२५ मा इस्लामाबादले राजधानी काबुलसहित अफगानिस्तानका विभिन्न क्षेत्रमा व्यापक हवाई आक्रमण गरेपछि दुई देशबीचको लामो समयदेखिको तनाव खुला सीमापार द्वन्द्वतर्फ उन्मुख भएको विश्लेषण गरिएको छ । निरन्तर आक्रमण र झडपका कारण दशौँ हजार अफगान नागरिक विस्थापित भएका छन् भने धेरै परिवार घरबार छोड्न बाध्य भएका छन् ।

तालिबानले पाकिस्तानले आफ्ना आन्तरिक सुरक्षा चुनौतीहरूलाई आधार बनाएर अफगान क्षेत्रमा बारम्बार सैन्य हस्तक्षेप गरिरहेको आरोप लगाएको छ । पाकिस्तानले भने तहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) र बलुचिस्तान लिबरेसन आर्मी (बिएलए) जस्ता समूहलाई अफगान भूमिबाट सहयोग मिलिरहेको दाबी गर्दै आएको छ । इस्लामाबादले तालिबानमाथि ती समूहहरूलाई आश्रय दिएको आरोप दोहोर्‍याउँदै आएको भए पनि तालिबानले त्यस्ता आरोप अस्वीकार गर्दै आएको छ ।

तालिबानको भनाइमा पाकिस्तानले आफ्ना सुरक्षा कमजोरीको जिम्मेवारीबाट बच्न अप्रमाणित आरोप लगाउने गरेको छ । विश्लेषकहरूका अनुसार सन् २०२१ मा तालिबान पुनः सत्तामा फर्किएपछि सुरुमा अपेक्षा गरिएको निकट सम्बन्ध टिक्न सकेन । दशकौँसम्म तालिबानको प्रमुख समर्थकमध्ये एक मानिएको पाकिस्तान र अफगानिस्तानबीच अहिले अविश्वास बढ्दै गएको छ । पछिल्ला घटनाक्रमहरूले दुई छिमेकी देशबीचको सम्बन्ध थप जटिल र तनावपूर्ण बन्दै गएको सङ्केत गरेका छन् ।