५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल



अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव भएको बताउनुभएको छ ।

शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले साहित्य सृजना केवल भावनाको अभिव्यक्ति मात्र नभई समाजलाई चेतनशील, जागरुक र संवेदनशील बनाउने महत्वपूर्ण माध्यम पनि भएको उल्लेख गर्नुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो,‘यसले हाम्रो समाज, जनजीवन, लोकतान्त्रिक मूल्य मान्यता, रुपान्तरण, परिवर्तन, देशप्रेम र सामाजिक न्यायका लागि उत्प्रेरित गर्दै सभ्य र सुसंस्कृत समाजमा महत्वपूर्ण योगदान दिएको हुन्छ । साथै, साहित्यले समाजलाई जोड्ने, जागरुक बनाउने र उज्यालो भविष्यतर्फ अघि बढाउने सार्मथ्य राख्दछ भन्ने मलाई लाग्दछ ।’

राष्ट्रपति पौडेलले नेपाली भाषा, साहित्य, जनचेतना र राष्ट्रिय भावनाको विकासमा युगकवि सिद्धिचरण श्रेष्ठले पु¥याउनुभएको योगदानको स्मरण गर्दै भन्नुभयो – ‘आजको नयाँ पुस्ताले युगकवि सिद्धिचरण श्रेष्ठलाई केवल इतिहासका एक कविका रूपमा मात्र होइन, चेतना, साहस, सिर्जनशीलता, राष्ट्रप्रेम र मानवीय मूल्यका प्रेरणास्रोतकारूपमा बुझ्न आवश्यक छ । नेपाली साहित्यको श्रीवृद्धिमा उहाँको योगदान महत्वपूर्ण छ । उहाँ आफ्नो समयको चेतना, समाजको संवेदना र परिवर्तनप्रतिको आकांक्षालाई शब्दमार्फत अभिव्यक्त गर्ने विशिष्ट साहित्यिक व्यक्तित्व हुनुहुन्थ्यो ।’

उहाँले तत्कालिन कठिन सामाजिक तथा राजनीतिक परिस्थितिमा पनि युगकवि श्रेष्ठले साहित्यका माध्यमबाट स्वतन्त्रता, न्याय, मानवता, राष्ट्रिय स्वाभिमान र जनचेतनाको सन्देश प्रवाह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चेतनापूर्ण साहित्यिक अभिव्यक्ति र निर्भीक विचारका कारण लामो समयसम्मको कष्टकर कारावासको सजाय भोग्दाका बखत पिताको काजक्रियामा सहभागी हुन नपाएको पीडादायी प्रसंगबाट उहाँको जीवनको संघर्ष, त्याग र साहित्यप्रतिको निष्ठा बुझ्न सकिन्छ ।’

राष्ट्रपति पौडेलले जन्मभूमिप्रतिको गहिरो माया, राष्ट्रप्रतिको आस्था र नेपाली जनजीवनप्रतिको संवेदनशीलता प्रचुर मात्रामा पाईने युगकवि सिद्धिचरण श्रेष्ठका कवितामध्ये उहाँको रचना ‘मेरो प्यारो ओखलढुङ्गा’ ले जन्मभूमिप्रतिको अगाध प्रेमलाई नेपाली साहित्यमा अविस्मरणीय रूपमा स्थापित गरेको उल्लेख गर्नुभयो ।कार्यक्रममा डा. दुबसु क्षेत्री र डा. गार्गी शर्मालाई युगकवि सिद्धिचरण पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।




भर्खरै