७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

धावनमार्ग कालोपत्र गर्न चार करोड



अ+ अ-

बागलुङ । बागलुङको बलेवा विमानस्थल बाह्रै महिना सञ्चालन गर्न विमानस्थलको धावनमार्ग (रनवे) कालोपत्रे गरिने भएको छ । धावनमार्गका लागि यो आर्थिक वर्षमा रु चार करोड विनियोजन गर्ने निर्णय भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

छब्बीस वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत्र ९ गतेबाट पुःन सञ्चालन भएर नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सले केही महीना उडान गरेपनि आवश्यक पूर्वाधारको अभावमा अहिले बन्द छ । नगरपालिकाले १४ वडामा रहेको विमानस्थल सञ्चालनका लागि पहल गरेपनि कच्ची धावनमार्ग, विमानस्थलसँग पुग्ने सडक कालोपत्रे नहुनुुलगायत समस्याका कारण २६ वर्ष पछि सञ्चालनमा आएको विमानस्थल पुनः बन्द भएपछि प्राधिकरणले धावनमार्ग बनाउन बजेट विनियोजन गरेको बागलुङ सांसद डा सूर्य पाठकले जानकारी दिनुभयो । सरकारले हालै बलेवा विमानस्थल सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माण गर्न बहुवर्षीय योजनामा समावेश गरेर बजेट विनियोजन गरेको पाठकको भनाइ रहेको छ ।

“प्राधिकरणले पहिलो चरणमा विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न ठेक्का प्रक्रिया अगाडि बढेको छ”, सांसद पाठकले भन्नुभयो, “नगरपालिकासहित सरोकारवाला निकायको पहलमा तीन वर्षमा सक्ने गरी पूर्वाधार निर्माण हुन्छ ।”

धौलागिरीका बागलुङ, पर्वत र म्याग्दीका जनतालाई हवाई सेवा प्रदान गर्ने गरी पूर्वाधार निर्माणका लागि नगरपालिकाले साझेदारी गर्ने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । “नगरले २६ वर्षपछि बन्द रहेको विमानस्थल सञ्चालनका लागि झण्डै रु ५० लाख लगानी गरिसक्यो, केही समय जहाज पनि चल्यो”, प्रमुख पौडेलले भन्नुभयो “आगामी तीन वर्षभित्रमा विमानस्थल पुग्ने सडक कालोपत्रे, धावनमार्ग निर्माण गर्ने गरी सरकारले योजनामा समावेश गरेको छ ।”

कालिगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारदेखि जम्मा १२ किलोमिटर सडक कच्ची रहेको छ । मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर कालोपत्रे हुने हो भने विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने सरोकारवालाहरु बताउँछन् ।

एक वर्ष अगाडि यात्रु कम हुँदाको रकम बागलुङ नगरपालिकाले सुनिश्चितता गरी हप्तामा दुई दिन नेपाल एयरलाइन्स र तारा एयरको टुइनेटर विमानले उडान भरेपनि वर्षाको समय धावनमार्गमा हिलो र हिउँदमा धूलो उड्ने समस्या भएपछि विमानस्थल बन्द भएको थियो ।