६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर दक्षिण कोशी राजमार्गः खाँदबारी-नुमखण्डमा ७५ प्रतिशत काम सकियो



अ+ अ-

सङ्खुवासभा। नेपाल, भारत र चीन जोड्ने राष्ट्रिय गौरवको उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी-नुम सडकखण्डमा कामले तीव्रता पाएको छ । सदरमुकाम खाँदबारीबाट नुमसम्मको ३९ किलोमिटर सडकले गति लिएको हो ।

खाँदबारीबाट नुमसम्मको ३९ किमी सडकको ७५ प्रतिशत भौतिक प्रगति र ८० दशमलव ७१ प्रतिशत वित्तिय प्रगति भइसकेको उत्तर दक्षिण कोशी सडक आयोजना कार्यालयका प्रमुख रामबहादर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सडक कालोपत्रका लागि हालसम्म रु एक अर्ब २५ करोड ८० लाख पाँच हजार खर्च भइसकेको छ ।

पहिलो चरणअन्तर्गत १४ किमी सडक कालोपत्र थालिएकामा ९७ प्रतिशत भौतिक प्रगति भएको सडक कार्यालयले जनाएको छ । दोस्रो चरणको १२ किमी सडकको ८४ प्रतिशत काम सम्पन्न भएको छ भने तेस्रो चरणमा हालसम्म ६२ प्रतिशत भौतिक प्रगति भएको निर्माण कम्पनी शर्मा÷शिवशक्ति जेभिका प्रमुख इञ्जिनियर वैभव पाण्डेले बताउनुभयो । उहाँका अनुसार रु एक अर्ब ५५ करोड ८६ लाख ७७ हजार ९७५ मा तीन वटै चरणको ठेक्का लिइएको हो ।

जेभिले २०८० पुस १७ मा सम्पन्न गर्नेगरी २०७८ असार १७ गते आयोजना सम्झौता गरेको थियो । उक्त समयसम्म सन्तोषजनक प्रगति नभएपछि २०८० असार १४ गतेसम्मका लागि पहिलो पटक म्याद थपिएको थियो । म्याद थप गरिएपनि शिवशक्तिले काम नगरेपछि आयोजना कार्यालयले स्पष्टीकरण सोधी धरौटी रकमसमेत जफत गरेको थियो । उक्त कम्पनीले हालसम्म तीन पटक म्याद थप गरिसकेको छ ।

जोगवनी-किमाथाङ्का खण्डले उत्तरी क्षेत्रको नाका जोडियो 

सदरमुकाम खाँदबारीबाट नुमसम्मको ३९ किमी सडक तीव्र गतिमा कालोपत्र भइरहेको छ । कोशी राजमार्गअन्तर्गत मोरङको जोगवनीबाट चीनको सीमासम्म किमाथाङ्का जोड्ने ३५७ किलोमिटर सडकको ट्रयाक खोल्न काम सम्पन्न भएको छ ।

चीन सीमासँग जोडिएको किमाथाङ्का क्षेत्रमा सडक पुगेपछि पर्यटन प्रवर्द्धन, व्यापार विस्तार तथा सीमावर्ती क्षेत्रको विकासमा नयाँ सम्भावना देखिएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले बताउनुभयो । दशकौँदेखि दुर्गम हिमाली बस्तीमा सीमित रहेको किमाथाङ्का अब राष्ट्रिय सडक सञ्जालसँग प्रत्यक्ष जोडिएसँगै गाउँमा विकास आइपुगेको उहाँको भनाइ छ ।

कोशी प्रदेशको आर्थिक समृद्धिमा दीर्घकालीन योगदान पुर्‍याउने विश्वाससहित यस सडकलाई उत्तर–दक्षिण रणनीतिक महत्वको मार्गका रूपमा हेरिएको अध्यक्ष भोटेले बताउनुभयो । “खाँदबारीबाट वरुण नदीभन्दा माथिल्लो क्षेत्र अझै जोखिमपूर्ण र अप्ठ्यारो छ । उक्त क्षेत्रमा पनि सडक स्तरोन्नति भइरहेको छ ।

सबैभन्दा चुनौतीपूर्ण खण्ड मानिएको भोटखोला गाउँपालिका क्षेत्रमा नेपाली सेनाले च्याम्ताङबाट घोङ्घोप्पासम्म सडक निर्माण गरेको थियो”, उहाँले भन्नुभयो ।

अध्यक्ष भोटेका अनुसार गत वैशाख २८ गते सेनाले उक्त सडकअन्तर्गत १० दशमलव ८१ किमी आयोजना कार्यालयलाई हस्तान्तरण गरिसकेको छ । सडक हस्तान्तरण भएसँगै यही जेठ १ गते खाद्यान्न बोकेका तीन वटा ट्याक्टर पहिलो पटक किमाथाङ्का नाकामा  पुगेका हुन् ।

भोटखोलाको च्याम्ताङबाट घोङ्घोप्पाको कडा चट्टान भएको भीर छिचोलिएपछि जिल्ला सदरमुकाम खाादबारीबाट हिँडेको सवारी पहिलो पटक किमाथाङ्कामा पुगेका उहाँले जानकारी दिनुभयो ।  रासस