६ श्रावण २०८३, बुधबार
,
Latest
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्नपूर्ण आरोहण दिवस: नारच्याङदेखि आधार शिविरसम्म विविध कार्यक्रम 



अ+ अ-

म्याग्दी।  म्याग्दीमा पर्ने अन्नपूर्ण हिमालको फेदीमा रहेको नारच्याङमा आजदेखि ७६औँ आरोहण दिवस मनाउन सुरु गरिएको छ ।

म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा विविध कार्यक्रमका साथ आरोहण दिवस मनाउन थालिएको हो ।

अन्नपूर्ण-४ का वडा सदस्य श्याम पुर्जाले दिवसको अवसरमा आयोजित दोस्रो अन्नपूर्ण हेर्जोग दौड प्रतियोगिता सहभागी हुने धावकहरू आज नारच्याङबाट आधार शिविरतर्फ प्रस्थान गरेका जानकारी दिनुभयो ।

“चार महिला र नौ जना पुरुष धावकसहित हुमखोलाबाट आधार शिविर पदयात्रामा सहभागीलाई बिदाई गरेर दिवसको सुरुवात गरेका छौँ”, उहाँले भन्नुभयो, “यही जेठ २० गते आधार शिविरबाट नारच्याङसम्म ३६ किलोमिटर दूरीमा दौड, सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरण समारोह गरेर दिवसको समापन गरिनेछ ।”

दौड प्रतियोगितामा सहभागी हुनेको सङ्ख्या थपिँदै गएका वडा सदस्य पुर्जाले बताउनुभयो । खुला दौड प्रतियोगितामा विजेतालाई रु एक लाख, उपविजेतालाई रु ६० हजार, तेस्रोलाई रु ३५ हजार र चौथो स्थान हासिल गर्ने तीन जनालाई जनही रु १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको अन्नपूर्ण गाउँपालिका-४ का वडअध्यक्ष लोकबहादुर फगामीले जानकारी दिनुभयो ।

नेपाल भूतपूर्व खेलाडी मञ्च र गण्डकी प्रदेश एथलेटिक्स सङ्घको प्राविधिक सहयोगमा दौड प्रतियोगिता आयोजना गरिएको हो । आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिज हेर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।

नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाको रूपमा आज विविध कार्यक्रम गरी अन्नपूर्ण आरोहण दिवस मनाउन लागिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

“दिवस मनाउनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १० लाख बजेट बिनियोजन गरेको छ”, उहाँले भन्नुभयो, “यसअघि काठमाडौँ, पोखरा र कास्कीको भूगोलमा पर्ने आधार शिविरमा मनाइने अन्नपूर्ण आरोहण दिवस गत वर्षदेखि सम्बन्धित भूगोलमा मनाउन थालिएको थियो ।”

समुन्द्री सतहबाट चार हजार १९० मिटर उचाइमा पर्ने अन्नपूर्ण आधार शिविर पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ । पदमार्ग, पूर्वाधार निर्माण, खाने बस्ने सुविधा र प्रवर्द्धनात्मक कार्यक्रमपछि छोटो दुरीमा सहजै पदयात्रा गर्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको मौरिस हर्जोग पदमार्गका अभियान्त तेज गुरुङले बताउनुभयो ।

नारच्याङबाट हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलाबाट आधार शिविरसम्म आधारभूतस्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ । दुई दिनको पैदलयात्रामा पुगिने अन्नपूूर्ण आधार शिविर पर्यटकका लागि आकर्षक र नयाँ गन्तव्य हो ।

अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ ।

नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा नक्साङ्कन र ‘मौरिस हेर्जोग’ नामाकरण गरेको थियो ।  रासस