२४ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीका छोरीहरू सक्षम र प्रतिभावान् बन्दैछन्ः प्रदेश प्रमुख जोशी



अ+ अ-

कर्णाली। सुर्खेत कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले पछिल्लो समयमा कर्णालीका छोरीहरू हरेक क्षेत्रमा सक्षम र प्रतिभावान बन्दै गएको बताउनुभएको छ ।

ज्योति फाउण्डेसनद्वारा सुर्खेत वीरेन्द्रनगरमा आज आयोजित ‘कर्णाली छोरी सम्मेलन–२०८३’ दोस्रो संस्करण कार्यक्रममा उहाँले राजनीतिक तथा प्रशासनिक क्षेत्रको नेतृत्व तहमा समेत कर्णालीका छोरीहरू पुगेको बताउनुभयो ।

कर्णालीका ३३ प्रतिशत महिला अझै पनि निरक्षर रहेको जनाउँदै उहाँले तिनलाई साक्षर बनाउन तीनै तहका सरकारलाई विशेष ध्यान दिनु आग्रह गर्नुभयो ।

कर्णालीलाई पिछडिएको क्षेत्रको रूपमा मात्र हेर्न नहुने भन्दै उहाँले भन्नुभयो, “कर्णालीका महिलाहरू हरेक क्षेत्रमा क्रियाशील छन्, यद्यपि साक्षर हुन बाँकी रहेका ती महिलाहरूलाई सबल बनाउनुपर्छ ।”

प्रदेश प्रमुख जोशीले कला, संस्कृति र सभ्यताको साथै नेपालका आधाभन्दा बढी जातिको उद्गम थलो कर्णालीलाई सबै नेपालीले सम्मान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

राजनीतिक र प्रशासनिक पहुँचका विषयमा चर्चा गर्दै उहाँले अब महिलाहरू समानुपातिक कोटा छोडेर प्रत्यक्ष निर्वाचनतर्फ मुखरित हुन र संविधान संशोधनको बहस चलिरहेका बेला ३३ प्रतिशतबाट ५० प्रतिशत हिस्सा माग गर्न र दबाब दिनसमेत आग्रह गर्नुभयो ।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले समाजमा महिलाहरूको उपस्थिति र भूमिकामा ठूलो परिवर्तन आए पनि राज्यको नीतिगत तहमा पुग्न कर्णालीका छोरीहरूको सशक्तीकरणमा थप मेहनत गर्नुपर्नेमा जोड दिनुभयो ।

कर्मचारी प्रशासन, प्रहरीदेखि राज्यका उच्च निकायमा महिलाहरूको नेतृत्व स्थापित हुनुले ठूलो अर्थ राख्ने भन्दै उहाँले हिजो स्कुल पढ्न नपाउने अवस्थाका कर्णालीका छोरीहरू आज विद्यालय जाने सङ्ख्यामा उल्लेख्य प्रगति भएको बताउनुभयो ।

प्रदेश सरकारले छोरीको सुरक्षा र सशक्तीकरणका लागि ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ जस्ता महत्त्वपूर्ण कार्यक्रम ल्याए पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुनु दुःखद् भएको बताउनुभयो ।

नेकपा कर्णाली प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाहीले कर्णाली छोरी सम्मेलन महिला सशक्तीकरण र नेतृत्व विकासको उत्तम कार्य भएको बताउनुभयो । छोरीहरूको मर्यादित जीवन, उनीहरूप्रति गरिने सम्मानित व्यवहारले समुन्नत, शान्त तथा संस्कारयुक्त समाज निर्माण हुने नेता शाहीको भनाइ थियो ।

नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलको तर्फ प्रदेशसभा सदस्य जीतबहादुर मल्लले मुलुक समृद्ध बन्न कर्णालीको विकास हुनुपर्ने र सभ्य तथा संस्कारयुक्त समाज निर्माणका लागि छोरी सशक्त बनाउनुपर्ने बताउनुभयो ।

नीतिगत तथा नेतृत्व तहमा पुग्न कर्णालीका छोरीहरूले अन्य प्रदेशभन्दा बढी सङ्घर्ष गर्नुपरे पनि कमजोर भएर बस्नुपर्ने अवस्था नरहेको उहाँको भनाइ थियो ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले पतिसँगै सतिजाने देशका छोरीले अत्यास लाग्दा कालखण्ड काटेर आजको अवस्थामा आउन धेरै ठूलो त्याग, सङ्घर्ष र बलिदान गर्नुपरेको बताउनुभयो ।

उहाँका अनुसार दुई दिनसम्म सञ्चालन हुने यो छोरी सम्मेलनले कर्णालीका छोरीहरू पनि अब यो देशको नेतृत्व गर्न सक्छन् भन्ने सन्देश प्रवाह गरेको छ । रासस