काठमाडौं । हिमाली बौद्ध परम्परामा अत्यन्तै श्रद्धा र भक्तिभावका साथ मनाइने पवित्र सागा दावाको अवसरमा श्रद्धालुहरूले स्वयम्भू महाचैत्य, बौद्ध महाचैत्य, नमोबुद्ध महाचैत्य लगायतका प्रमुख बौद्ध तीर्थस्थलहरूको परिक्रमा (कोरा) गरेका छन् । एक महिना अघि सुरु भएको सागा दावाको आगमनसँगै देशभरका चैत्य, गुम्बा तथा बौद्ध तीर्थस्थलहरूमा घ्यूको बत्ती (छोइकेल) को सुगन्ध, मन्त्रपाठ र प्रार्थनाको वातावरण छाएको छ।

बौद्ध धर्मावलम्बीहरूका लागि सागा दावा वर्षकै सबैभन्दा पुण्यमय महिनाका रूपमा मानिन्छ। यस महिनामा शाक्यमुनि बुद्धको जन्म, बुद्धत्व प्राप्ति (महाज्ञान) र महापरिनिर्वाण जस्ता तीन महान् घटनाहरूको स्मरण गरिन्छ। यही कारणले सागा दावा केवल धार्मिक पर्व मात्र नभई बुद्धका शिक्षा, करुणा र शान्तिको सन्देशलाई जीवनमा उतार्ने विशेष अवसरका रूपमा पनि हेरिन्छ।

धार्मिक विश्वासअनुसार यस अवधिमा, विशेषगरी सागा दावा दुछेन (पूर्णिमा) का दिन गरिएका पुण्य तथा अपुण्य कर्महरूको फल लाखौँ गुणा बढेर प्राप्त हुने मान्यता छ। त्यसैले श्रद्धालुहरू यस महिनाभर दान, सेवा, प्रार्थना, ध्यान, मन्त्रजप तथा सत्कर्ममा विशेष रूपमा संलग्न हुने गर्दछन्।

सागा दावाको अवसरमा धेरै भक्तजनहरूले जीवजन्तुको उद्धार गर्ने, शाकाहारी भोजन ग्रहण गर्ने, अहिंसाको मार्ग अपनाउने तथा कसैलाई दु:ख नदिने संकल्प लिन्छन्। साथै गुम्बा र चैत्यहरूमा दीप प्रज्वलन गर्ने, गरिब तथा असहायहरूलाई सहयोग गर्ने र विश्व शान्तिको कामना गर्दै पुण्य अर्पण गर्ने परम्परा पनि रहेको छ।
यस अवधिमा श्रद्धालुहरू स्वयम्भू महाचैत्य, बौद्ध महाचैत्य, नमोबुद्ध महाचैत्य लगायतका प्रमुख बौद्ध तीर्थस्थलहरूको परिक्रमा (कोरा) गर्ने गर्दछन्।
विशेषगरी स्वयम्भू महाचैत्यमा पूर्णिमाको पूर्वसन्ध्यादेखि भक्तजनहरूले स्वयम्भू वनको परिक्रमा गर्ने परम्परा रहेको छ, जसलाई नेपाल भाषामा ‘गचा हिलेगु’ भनिन्छ। श्रद्धालुहरूले आफ्नो क्षमता अनुसार १०८, १३ वा अन्य सङ्ख्यामा परिक्रमा गर्ने गर्दछन्।

धार्मिक अगुवाहरूका अनुसार सागा दावाले मानव जीवनमा शान्ति, करुणा, मैत्री, दया र ज्ञानका मूल्यहरूलाई आत्मसात गर्न प्रेरित गर्दछ। यही कारणले यो महिना आत्मशुद्धि, पुण्य आर्जन र सकारात्मक जीवनशैलीको अभ्यास गर्ने महत्वपूर्ण अवसरका रूपमा स्थापित भएको छ।
सागा दावाको पावन अवसरमा देश तथा विश्वभर शान्ति, सद्भाव र सबै प्राणीको कल्याणको कामना गर्दै बौद्ध समुदायले विविध धार्मिक गतिविधिहरू सञ्चालन गरिरहेका छन्।
तस्बीर: जोनास सेल (अमेरिकी प्रशिक्षार्थी फोटोग्राफर)
















