१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ड्युटी सकेर सुतेका प्रहरी निरीक्षक अचानक मृत्यु



अ+ अ-

खलङ्गा । सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक अभिशेक थापाको उपचारका क्रममा मृत्यु भएको छ ।

मङ्गलबार साँझसम्म ड्युटी गरेर खाना खाएर सुतेका थापा बिहान एक्कासि बेहोस भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगिएको थियो ।

उपचारका क्रममा उनको मुत्यु भएको सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लाका प्रहरी उपरीक्षक सरत न्यौपानेले बताउनुभयो । सशस्त्र प्रहरी निरीक्षक थापा दैलेख जिल्ला नारायणी नगरपालिका–८ निवासी हुन् ।

‘निरीक्षक थापा मङ्गलबार राम्रोसँग ड्युटी भ्याएर खाना खाएर सकुशल सुतेका थिए । आज बिहान एक्कासि बेहोस भएको थाहा पाएपछि उपचार गर्न लगेका हौँ । तर बचाउन सफल भएनौँ”, उपरीक्षक न्यौपानेले भन्नुभयो, “डाक्टरका अनुसार हृदयाघातका कारण मृत्यु भएको आशङ्का छ ।”

अब परिवारसँग खबर गरेर गाडी वा अन्य सवारीसाधनमा उनकै जिल्ला पठाएर कानूनी प्रक्रियाअनुसार दाहसंस्कार गरिने पनि उपरीक्षक न्यौपानेले बताउनुभयो । मृतक थापा एक वर्षदेखि जुम्लामा बसेर सेवा गर्दै आएका थिए ।