४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

कमाइखाने भाँडो बन्दै बालगृह, यौन हिंसाको जोखिममा बालबालिका

कमाइखाने भाँडो बन्दै बालगृह, यौन हिंसाको जोखिममा बालबालिका
अ+ अ-

काठमाडौँ — राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास केन्द्रको टोली १० असोजमा कागेश्वरी मनोहरा नगरपालिका ८ स्थित सामाजिक तथा मानवीय सरोकार केन्द्रले सञ्चालन गरेको बालगृह खोज्दै जाँदा एकछिन अलमलमा पर्‍यो । बालगृह भएको कुनै होर्डिङ बोर्ड वा सूचना त्यहाँ थिएन । टिनको एउटा लामो टहरो नै बालगृह भएको थाहा पाउँदा सरकारी टोली अचम्ममा पर्‍यो ।

टहरोमा तीन कोठा मात्रै बालगृह सञ्चालनका लागि भाडामा लिइएको रहेछ । अन्य कोठा भाडामा लगाइएको रहेछ । आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड ०६९ ले तोकेको कुनै मापदण्ड बालगृहले पूरा गरेको थिएन । त्यहाँ औसत सरसफाइको अवस्था पनि नाजुक थियो । उक्त टोलीमा संलग्न राष्ट्रिय बालअधिकार परिषद्का नायब सुब्बा देवी डोटेलले भने, ‘न आश्रित बालबालिका सफासुग्घर थिए न किचनमा सफाइ । बालबालिकालाई पर्याप्त पोषणको व्यवस्था पनि नभएजस्तो देखिन्थ्यो ।’

नगरपालिकाका मेयर र वडाध्यक्षसहितको सरकारी टोलीले त्यहाँ आश्रित ११ बालबालिकालाई उद्धार गर्‍यो । तिनीहरूमध्ये दस जना मुगु र एक जना जुम्लाका थिए । समाजसेवा गरेको देखिने र गरिब बालबालिका देखाएर विदेशीबाट पैसा पनि झार्न सकिने लोभले मुगुका अर्जुन नेपालीले उक्त बालगृह सञ्चालन गरेका थिए । राष्ट्रिय बालअधिकार परिषद्का अधिकृत रामबहादुर चन्दका अनुसार बालबालिकालाई देखाएर विदेशी दाताबाट पैसा झार्न सकिने, त्यसैबाट गुजारा चलाउने र समाजसेवा गरेको पनि देखाउने लोभमा बालगृहहरू सञ्चालन गरिएको देखिन्छ ।

अनाथ, असहाय र अभिभावकविहीन बालबालिकालाई सुरक्षित तरिकाले हुर्काउने भनेर खुलेका बालगृहबाट बालबालिका उद्धार गरिएको यो पहिलो घटना थिएन । वैशाखयता मात्रै राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास केन्द्रले काठमाडौं, भक्तपुर र ललितपुरका ६ वटा बालगृहबाट १ सय ९१ जनाको उद्धार गरेको छ ।

तीमध्ये अधिकांश बालबालिका कर्णाली प्रदेशका छन् । आव ०७५र७६ मा पाँचवटा बालगृहबाट १ सय ९२ जना बालबालिकाको उद्धार भयो । जसमध्ये १ सय ५२ जनालाई अभिभावकको जिम्मा लगाइयो भने ४६ जना विभिन्न बालगृहमा छन् । परिषद्ले आव ०७५र७६ मा ८२ वटा बालगृहको अनुगमन गरेको थियो । यो आर्थिक वर्षको साउन र भदौमा मात्रै ४६ वटा बालगृहको अनुगमन सकेको छ ।
पछिल्ला दुई महिनामा परिषद् र बालबालिका खोजतलास केन्द्रले छापा मारेका बालगृहमा बालबालिकामाथि यौन हिंसा भइरहेको, कर्णालीका विभिन्न दुर्गम गाउँबाट अभिभावकसँग रकम असुलेर बालबालिका ल्याउने गरिएको र यस्तो काममा केही एजेन्टसमेत सक्रिय रहेको देखिएको छ । आश्रित बालबालिकालाई पोषणयुक्त खाना दिने नगरिएको, सरसफाइमा कमजोरी रहेको र बालगृहमा कमजोर पूर्वाधार पाइएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगन्ज, बालबालिका खोतजलास केन्द्र र राष्ट्रिय बालअधिकार परिषद्का प्रतिनिधि जेठ १ मा बूढानीलकण्ठको ऐश्वर्य बालगृहमा छापा मार्न जाँदा १७ जना मात्रै बालबालिका थिए । केन्द्रका इन्स्पेक्टर मोहनविक्रम दाहालका अनुसार तीमध्ये अधिकांश रोगी देखिन्थे । ती बालबालिकालाई उद्धार गर्नेक्रममै थाहा भयो, बालगृहले अन्य ठाउँमा पनि त्यसैगरी बालबालिका राखेको रहेछ । प्रहरीको सहयोगमा सबै ठाउँबाट बालबालिका जम्मा पार्दा एक सय २५ जना पुग्यो ।

केन्द्रका अनुसार उद्धार गरिएका जम्मा एक सय २५ मध्ये ७७ बालक र ४८ बालिका थिए । तिनीहरूमध्ये ७९ जना हुम्लाकै मात्र थिए भने अन्य कर्णाली प्रदेशका विभिन्न जिल्लाका । उद्धार गरिएका सबैजसो दुर्गम गाउँका दलित, अशिक्षित र विपन्न परिवारका थिए ।

बालबालिकासम्बन्धी ऐन ०७५ का अनुसार केन्द्रीय बाल कल्याण समितिको अनुमतिबिना बालगृह सञ्चालन गर्नु गैरकानुनी हो । आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड ०६९ का अनुसार बालबालिका राख्ने मान्यताप्राप्त गृहमा खानपिनको साप्ताहिक तालिका, नियमित स्वास्थ्य जाँच, सञ्चालकसहित १० कर्मचारी हुनैपर्छ । बालबालिकासम्बन्धी नियमावली २५१ ले त बालगृहहरूले अनिवार्य रूपले बालबालिकाको व्यक्तिगत विवरणको फाइल राख्नुपर्ने भनेको छ तर यस्ता कुनै पनि मापदण्ड ऐश्वर्यले पूरा गरेको थिएन ।

असार १८ मा परिषद् र बालबालिका खोजतलास केन्द्रले संयुक्त रूपमा भक्तपुर ताथलीको सौडोल महिला समाजको बालगृहमा छापा मारेर ९ बालबालिकालाई उद्धार गर्‍यो । ती बालबालिका हुम्ला र जुम्लाका विकट गाउँबाट ल्याइएको अनुसन्धानमा खुल्यो । उद्धारपछि बालबालिकको मानसिक परामर्शका क्रममा थाहा भयो, एक ६ वर्षीय बालिका बालगृह सञ्चालकका श्रीमान्बाट यौन दुर्व्यवहारमा परेकी रहिछन् ।

परिषद् र केन्द्रले काठमाडौं उपत्यकाका बालगृहमा छापा मारेर उद्धार गरिएका धेरैजसो बालबालिका कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु र कालिकोटका छन् । थोरै पैसामै काठमाडौंमा लगेर खानेबस्ने र पढाउने व्यवस्था मिलाइदिने आश्वासनमा परेर विकट गाउँका अभिभावकले आफ्ना बाबुनानीलाई बालगृहका एजेन्टको जिम्मा लगाएर पठाएको देखिन्छ । बूढानीलकण्ठको ऐश्वर्य बालगृहबाट उद्धार गरिएका बालबालिकाका अभिभावकमध्ये केहीले छोराछोरी लैजाने सर्तमा २० हजार त कसैले ५० हजारसम्म एजेन्टलाई हवाईजहाज भाडा भन्दै दिएको बताएका थिए ।

गरिबीका र बग्रेल्ती सन्तान भएका अभिभावक बालगृहका एजेन्टको आश्वासनमा सजिलै पर्ने गरेको देखिन्छ । हुम्ला घर भई काठमाडौंमा डकर्मी काम गर्ने जय नेपालीले आफ्ना दुई छोराछोरीले पढ्न पाउने आसमा ऐश्वर्य बालगृहमा राखेका थिए । उनले सञ्चालकको कुरा पत्याएर आफ्नो गाउँका थप ५ बालबालिकालाई बालगृहमा ल्याइदिए, तिनका अभिभावकबाट उठाएर एक लाख १५ हजार सञ्चालकलाई पनि बुझाए । यसो गरेबापत जयकी श्रीमतीले बालगृहमा काम पाएकी थिइन् ।

उनले हुम्लाका विभिन्न ७ बालबालिकाका अभिभावकबाट छोराछोरीलाई काठमाडौंमा गतिलो पढाइ र खानेबस्ने सुविधा मिलाइदिने भन्दै जनही २० हजार रुपैयाँ उठाएकी थिइन् । उनले त्यो सबै रकम गृहकी सञ्चालिका निर्मला घिमिरेलाई बुझाइन् ।

भक्तपुरको सौडेल महिला समाजले चलाएको बालगृहबाट हुम्ला घर भएका ९ बालबालिका उद्धार गरेपछि प्रहरीले कृष्णामाया न्हेमाफुकीले सञ्चालन गरेको बालगृहमा बच्चा ल्याउने काममा खटिएका वीरसिंह धामी र कल्पना बुढालाई पक्राउ गरेर बालबालिकासम्बन्धी कसुरमा मुद्दा चलाएको थियो । जसमा वीर सिंह र कल्पना भक्तपुर जिल्ला अदालतको आदेशपछि जनही ३० हजार धरौटी बुझाएर तीन सातापछि रिहा भए । कृष्णमाया भने ५० हजार धरौटी बुझाउन नसकेर सुन्धारास्थित केन्द्रीय कारागारमा छिन् ।

प्रहरीका अनुसार वीर सिंह र कल्पनाले हुम्ला र जुम्लाका दुर्गम गाउँबाट बच्चा ल्याएर बालगृहमा दिने काम गर्थे । थोरै पैसामा खाने, बस्ने र पढ्ने व्यवस्था मिलाइदिने भन्दै उनीहरूले गाउँबाट बालबालिका ल्याएको देखिन्छ । गाउँबाट काठमाडौं लैजाने गाडी भाडा भन्दै उनीहरूले अभिभावकसँग २० देखि ५० हजार रुपैयाँसम्म उठाएको देखिन्छ । सौडोल महिला समाजको बालगृहबाट उद्धार भएकी एक बालिकाका अभिभावकले हुम्ला रिप गाउँबाट कान्तिपुरसँग टेलिफोन कुराकानीमा आफूले ११ हजार रुपैयाँ गाडीभाडा भन्दै कल्पनाको साथमा छोरी जिम्मा लगाएर पठाएको बताइन् । श्रीमान्को मृत्यु भएपछि ५ छोरी हुर्काउन गाह्रो परिरहेका बेला काठमाडौं लगेर पढाइदिने बताएपछि उनले कल्पनाको जिम्मा लगाएर पठाएकी थिइन् ।

यौनहिंसाको जोखिम
दुर्गम गाउँबाट अभिभावकको सहमतिमा वा थाहा नदिई ल्याएर बालगृहमा राखिएका कैयौं बालबालिका यौनहिंसाको सिकार बनेको देखिन्छ । भक्तपुर ताथलीको बालगृहबाट उद्धार गरिएकी एक बालिका यौनहिंसाको सिकार बनेको खुलेको थियो । प्रगतिशील महिला समाज संस्थाअन्तर्गत रहेको वाईपीसी नामक संस्थाले बाफलमा चलाएको भनिएको बालगृहबाट ९ बालबालिका खोजतलास केन्द्र र परिषद्ले ९ जना बालबालिकालाई उद्धार गरेको थियो । जसमध्ये एक बालिकाले आफूहरूलाई एक कर्मचारीले यौनहिंसा गरेको बताएकी थिइन् ।

उक्त बालगृहबाट कालिकोट, बर्दिया र कैलाली घर भएका बालबालिकाको उद्धार गरिएका थिए । जसमध्ये धेरैजसो माओवादी जनयुद्धमा संलग्न पूर्वघाइते छापामारका छोराछोरी पनि थिए । प्रहरीले बालबालिकामाथि यौनहिंसा गरेको भन्दै बालगृह चलाएका प्रताप रानालाई समेत पक्राउ गरेर बालयौन दुर्व्यवहारमा मुद्दा चलाएको थियो । (कान्तिपुरमा जनकराज सापकाेटाकाे रिपोर्ट)