६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र बेलायतबीचको सम्बन्ध सुदृढीकरणमा शिक्षा र सीपको भुमिका महत्वपूर्णः बेलायती मन्त्री मल्होत्रा



अ+ अ-

काठमाडाैँ । संयुक्त अधिराज्य (बेलायत) की इण्डो–प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्राले नेपाल र बेलायतबिचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र आधुनिक बनाउन शिक्षा, सीप विकास र आर्थिक सहकार्य मुख्य आधार रहेको बताएकी छिन् ।

आफ्नो पहिलो नेपाल भ्रमणका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई देशबिचको २०० वर्षभन्दा पुरानो मित्रता र १०० वर्षअघि हस्ताक्षरितमैत्री सन्धिलाई नयाँ उचाईमा पु¥याउने प्रतिवद्धता व्यक्त गरिन् । मन्त्री मल्होत्राले नेपालको शिक्षा क्षेत्रमा बेलायतले विगत ७० वर्षदेखि निरन्तर सहयोग गर्दै आएको स्मरण गराइन् ।

मन्त्री मल्होत्राले शिक्षा र अर्थतन्त्र एकअर्कासँग अभिन्न रूपमा जोडिएको उल्लेख गर्नुभयो । नेपाल सरकारले अघि सारेको आर्थिक वृद्धि र रोजगारी सिर्जनाको लक्ष्यलाई सघाउन बेलायत इच्छुक रहेको उनको भनाइ छ । बेलायतले आफ्नै देशमा लागू गरेको ‘औद्योगिक रणनीति’ र ‘स्किल्स इङ्गल्याण्ड’ को अवधारणालाई नेपालको आवश्यकताअनुसार साझेदारी गर्न सकिने उनले बताइन् ।

नेपाली विद्यार्थीले नेपालमै बसेर बेलायती विश्वविद्यालयको शैक्षिक योग्यता हासिल गर्न सकिने ‘ट्रान्सनेशनल एजुकेसन’ को महत्वमाथि प्रकाश पार्दै मन्त्रीले यसले प्रतिभा पलायन रोक्न र लागत कम गर्न मद्दत गर्ने धारणा राखिन् । हाल नेपालका ३० वटा क्याम्पससँग १९ वटा बेलायती विश्वविद्यालयले सहकार्य गरिरहेको र १७ हजारभन्दा बढी नेपाली विद्यार्थी लाभान्वित भइरहेको उनले जानकारी दिइन् ।

मन्त्री मल्होत्राले बेलायतमा रहेका नेपाली समुदायले दुई देशबिच ‘लिभिङ ब्रिज’ को काम गरिरहेको बताइन् । बेलायतमा नेपाली मूलका व्यक्तिहरू स्थानीय राजनीति र व्यावसायिक क्षेत्रमा सफल हुँदै गएकोमा खुशी व्यक्त गर्दै उनले बेलायत पढ्न जाने नेपाली विद्यार्थी छैटौँ ठूलो अन्तर्राष्ट्रिय समूह हुनु गौरवको विषय रहेको उल्लेख गरिन् ।

उनले भनिन्, “कुनैपनि राष्ट्रले मानवीय प्रतिभामा लगानी नगरी आफ्ना आकाङ्क्षाहरू पूरा गर्न सक्दैन। बेलायत र नेपालले दशकौँदेखि विद्यालय शिक्षा र शिक्षक तालिममा सहकार्य गर्दै आएका छन् । यदि तपाईँ आर्थिक वृद्धि चाहनुहुन्छ भने सीप चाहिन्छ, र रोजगारीका लागि उपयुक्त तालिम आवश्यक पर्छ ।”

भ्रमणका क्रममा मन्त्री मल्होत्राले नेपालका शिक्षा, परराष्ट्र र अर्थमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरी दुई पक्षीय हितका विषयमा छलफल गरेकी थिइन् । ती भेटहरूमा आधारभूत सिकाइ ढाँचा, बालिका शिक्षा र अटिज्म भएका बालबालिकाका लागि विशेष शैक्षिक सहयोगका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको उनले जानकारी दिइन् । मन्त्री मल्होत्राले नेपालको समावेशी विकास, नवप्रवर्तन र समृद्धिका लागि बेलायत सदैव भरपर्दो साझेदार रहने विश्वास व्यक्त गरिन् ।