१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

एसएसबीको आंतक, सीमास्तम्भ बेपत्ता

एसएसबीको आंतक, सीमास्तम्भ बेपत्ता
अ अ+ अ-

सप्तरी । छिन्नमस्ता गाउँपालिका – ४ लालापट्टीका बासिन्दाले सीमा क्षेत्रको नेपाली भूमिमा बनाउन खोजेको श्मशानघाट गृह भारतीय सीमा सुरक्षा बल (एसएसबी) को अवरोधका कारण रोकिएको छ । साविकमा बग्ने त्रियुगा खोला किनारमा पुस्तौंँपुस्तादेखि शव जलाउँदै आएका छिन्नमस्ता गाउँपालिका– ४ लालापट्टीवासीले बनाउन शुरु गरेको श्मशानघाटको आधा काम सकिएपछि एसएसबीले अवरोध गरी काम रोक्न लगाएको हो । दशगजामै खेती गर्ने र झुप्रा लगाउने गरेका भारतीयले सीमा अतिक्रमण गर्ने ध्येयले सीमा क्षेत्रको नेपाली भूमिमा श्मशानघाट बनाउन रोकेको छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका धनञ्जय यादवको भनाइ छ ।

छिन्नमस्ता गाउँपालिका वडा नं ४ का वडाध्यक्ष रामनन्दन पण्डितले दशगजा क्षेत्र देखाउँदै भन्नुभयो, “भारतीयहरूले दशगजामै खेती गरिरहेका छन् तर हामीले आफ्नै भूमिमा श्मशानघाट बनाउन पाएनौंँ ।” एसएसबीले दक्षिणी सीमा क्षेत्रका नेपालीमाथि अनावश्यक दुःख दिने र उसैको आडमा भारतीयले सीमा अतिक्रमण गर्दै आएको बताइन्छ । शुरुमा नापनक्शा हुँदा जग खन्दा नबोलेको एसएसबी पर्खाल ठड्याएपछि कामै गर्न नदिने गरी प्रस्तुत भयो । “त्रियुगा खोला वारिको त्यो नेपालकै भूमिमा पर्छ, जहाँ पुस्ताँैदेखि शव जलाउँदै आएका छौंँ तर जब श्मशानघाटका लागि पर्खाल खडा गरियो, एसएसबीका जवानले अवरोध गरे,” ७३ वर्षीय बमभोली राउतले भन्नुभयो, “धम्क्याउने, बन्दूक देखाउने र काम नरोके जे पनि हुन सक्ने धम्की दिएपछि निर्माण कार्य अधूरो नै छाड्यौंँ ।” चर्को घाम, वर्षा र हावाहुरीबाट शव र मलामीलाई जोगाउने उद्देश्यले बनाउन खोजिएको काम अलपत्र छ ।

सप्तरीको ७८ किलोमिटर भूभाग भारतसँग जोडिएको छ । पूर्व कोशी नदीदेखि पश्चिम बलान खोलासम्म मुख्य, साना र सहायक गरी ६५० सीमास्तम्भ रहनुपर्नेमा अधिकांश छैनन् । जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी आनन्द ठाकुरले ३४ मुख्य स्तम्भ अवस्थित हुनुपर्नेमा २२ मात्र रहेको बताउनुभयो । अधिकांश साना र सहायक स्तम्भ हराएको वा बाढीले बगाएको ठाकुरले बताउनुभयो । उहाँका अनुसार सीमा क्षेत्रमा अतिक्रमण गरी बसोबास तथा खेतीपाती गर्ने कार्य भइरहेको छ । पुराना स्तम्भ हराएपछि नयाँ नबनाइएकाले भएका स्तम्भको दूरीमा लामो भएको छ ।

सीमास्तम्भ हराएकोे, बाढीले बगाएको, गायब पारिएकाले र बाँकी भएका पनि लामो दूरीमा मात्र भएकाले सीमा नै कहाँ हो भन्ने पत्ता लगाउन समस्या छ । सप्तरीका २१ ठाउँमा दशगजा नै नदेखिने सशस्त्र प्रहरी बल ६ नं गणका प्रहरी उपरीक्षक उद्धव न्यौपानेले बताउनुभयो । सप्तरी क्षेत्रमा २१२ देखि २४५ नं का ठूला मुख्य स्तम्भ अवस्थित रहनुपर्ने हो । न्यौपानेले भन्नुभयो, “पूर्व कोशी नदीमा रहेको २१२ नं को मुख्य स्तम्भ पानीभित्र भएकाले भेटिँदैन भने पश्चिम बलान खोलामा हुनुपर्ने २४५/१ र २४५/२ नं को स्तम्भ पनि छैन ।” पश्चिम बेल्हीको दशगजामा २४५ नं को मुख्य स्तम्भ भने यथावत् छ । मुख्य, साना र सहायक गरी हुनुपर्ने ६५० स्तम्भमध्ये गत वर्ष २०२ वटा फेला परे जसमध्ये दुई वटा फेरि बाढीले बगाएकाले भेटिएन । रामनगर कोदरकट्टी र पातोमा रहेको दुई स्तम्भ यो वर्ष हराएको उहाँले जानकारी दिनुभयो ।

गाउँले भने केही हराएको र बगाएको तथा केही भारतीयले गायब पारेको बताउँछन् । तिलाठी कोइलाडी गाउँपालिका–१ का दुर्गानन्द झाले तिलाठी कोइलाडीस्थित स्तम्भ ६००/७०० मिटर उत्तर नेपालतर्फ सारेर गाडिएको बताउनुभयो । पहिले रहेका सखुवा काठका स्तम्भह मक्किएर, बगेर गएपछि नयाँ २२३ नं को स्तम्भ र त्यसका सहायक स्तम्भ संयुक्त सर्भे टोलीले देखाएको स्थानभन्दा भारतीय सीमा सुरक्षा बलले फरक स्थानमा गाडेको उहाँले दावी गर्नुभयो ।

अन्तर्राष्ट्रिय मान्यतानुसार दुई देशबीचको दशगजामा कुनै संरचना बनाउन पाइँदैन तर सखडा, लालापट्टी, तिलाठी कोइलाडी, बेल्ही, रम्पुरा मल्हनिया, गोबरगाढा, रामनगर कोदरकट्टीलगायत १२ स्थानमा भारतीयले खेतीपाती गर्दैआएका छन् भने कतिपय स्थानमा झुप्रो राखेका छन् । दशगजा क्षेत्र मिचेको विषयमा बेलाबेलामा दुई देशका नागरिकबीच विवाद र झडप हुँदै आएको छ । लालापट्टीमा भारतीयले ह’त्या नै गरेको र तिलाठीमा टाउको फुटाएको घटना स्मरण गर्दै लालापट्टी घर भएका पूर्व सिँचाइमन्त्री उमेश यादवले भन्नुभयो, “छिमेकीसँगको सम्बन्ध सुमधुर हुनुपर्ने हो तर युगौंँदेखिको रोटीबेटीको सम्बन्ध भनेर खुला सिमानाको फाइदा उठाउँदै हेप्ने काम भारतले बन्द गर्नुपर्छ ।”

दशगजा क्षेत्रमा घरटहरा बनाउन नपाइने अन्तरराष्ट्रिय नियमको बेवास्ता गर्दै भारतले सप्तरीको साविक बेल्ही गाविस–६ स्थित दशगजामै बनाएको सुरक्षा चेकपोष्टको टहरो नेपालको आपत्तिपछि चार वर्षअघि मङ्सिर १५ गते हटाएको थियो । भारतीय सीमामा रहेको विद्यालयमा बस्दै आएको एसएसबीको चेकपोस्टलाई विद्यालयले खाली गर्न लगाएपछि उनीहरूले दशगजामा टहरो खडा गरेका थिए । सप्तरीका तत्कालीन प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसहितको सुरक्षा टोली दशगजामै गएर आपत्ति जनाएपछि एसएसबीका अधिकृत राजेन्द्र रायले गल्ती स्वीकार्दै टहरो भत्काएको थियो ।

भारत बिहार सुपौलका कुनौलीवासीले २०७३ साउन १४ गते नेपाली भूमि तिलाठी डुबानमा पार्ने गरी जबर्जस्ती २२३ स्तम्भमै बाँध निर्माणको प्रयास गर्दा तिलाठीवासीसँग झडप भएको थियो । तिलाठी कोइलाडी १ निवासी पूर्व जिविस सदस्य देवनारायण यादवसहित आधा दर्जन तिलाठीवासी र केही भारतीय घाइते भएको उक्त घटनापछि बाँध निर्माण रोकिएको छ ।

छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीस्थित दशगजामा खेती गर्ने गरेको केही भूभागबाट एसएसबीले भारतीयलाई केही वर्ष अघि हटाएको वडा नं ४ का वडा सदस्य ओली मन्सुरीले बताउनुभयो । भारतीयले खेती गर्ने गरेको खेतका आली देखाउँदै मन्सुरीले अहिले पनि सयौंँ भारतीयले ५०औंँ विघा जमीनमा खेती गरिरहेको बताउनुभयो । सीमावर्ती क्षेत्रको दशगजा मिच्ने क्रम नेपाल–भारत दुवैतिरबाट भएको भारतीय पक्षको भनाइ छ । भारतीय सीमा सुरक्षा बल सुपौलका प्रमुख एचके गुप्ताले आआफ्नातर्फबाट भएको अतिक्रमण रोक्न दुवै देशले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले आफूहरूले भारतीयलाई एकमहिने अल्टिमेटम दिएको तर धानखेतीको बाली काट्न बाँकी रहेकाले हटाउन नसकिएको भन्दै लाचारी व्यक्त गर्नुभयो । भारतले बारम्बार विभिन्न बहानामा हेपिरहेको ठान्ने स्थानीयवासी भन्छन्, “सीमा क्षेत्रका विभिन्न स्थानमा रहेको विवादको क्रम जारी रहे सीमामा द्वन्द्व बढेर जान्छ । यसअगावै कूटनीतिक पहल गरेर दुवै देशले गम्भीर पहल गर्नुपर्छ ।”