काठमाडौँ । नेकपा (एमाले) ले पार्टीभित्र नेताहरूको कार्यविभाजन गर्दै विभिन्न विभागीय प्रमुख तथा जनसङ्गठन इन्चार्ज तोक्ने तयारी गरेको छ। यससम्बन्धी प्रस्तावित खाका अध्यक्ष केपी शर्मा ओलीले जेठ ४ गतेको बैठकमा पेश गरेका थिए। शुक्रबार बस्ने सचिवालय बैठकले उक्त कार्यविभाजनलाई औपचारिक रूपमा टुंगो लगाउने बताइएको छ।
प्रस्तावित खाकाअनुसार पार्टीका विभिन्न विभाग तथा जिम्मेवारीहरूमा नेताहरूलाई तोकिएको छ। विदेश मामिला विभाग प्रमुखका रूपमा प्रदीप ज्ञवाली र संसदीय मामिला विभाग प्रमुखमा सचिव पद्मा अर्याल लाई प्रस्ताव गरिएको छ।
त्यस्तै, राष्ट्रिय हित संरक्षण विभाग प्रमुखमा हिक्मत कार्की, सङ्गठन विभाग प्रमुखमा भानुभक्त ढकाल, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा डा. सूर्य पाठक र पार्टी स्कुल विभाग प्रमुखमा शेरबहादुर तामाङलाई प्रस्ताव गरिएको छ।
पर्यटन तथा नागरिक उड्डयन विभाग प्रमुखमा आनन्द पोखरेल, पार्टी सम्बद्ध प्रतिष्ठान इन्चार्जमा इन्द्र भण्डारी, समाज कल्याण तथा समाजसेवा विभाग प्रमुखमा कल्पना चापागाईँ, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग प्रमुखमा कर्ण थापा, युवा तथा खेलकुद विभाग प्रमुखमा क्रान्ति बुर्लाकोटी र सङ्घीय मामिला तथा सामान्य प्रशासन विभाग प्रमुखमा गणेश ठगुन्ना प्रस्तावित छन्।
भूमि व्यवस्था विभाग प्रमुखमा गोकुल बास्कोटा, उपभोक्ता हित तथा सुशासन विभाग प्रमुखमा जितु गौतम, कृषि तथा पशुपन्छी विकास विभाग प्रमुखमा ज्वाला साह, खानेपानी तथा सरसफाइ विभाग प्रमुखमा ठाकुर गैरे र भौतिक पूर्वाधार तथा यातायात विभाग प्रमुखमा देवेन्द्र दाहाललाई जिम्मेवारी तोक्ने प्रस्ताव गरिएको छ।
त्यसैगरी, शिक्षा तथा मानवस्रोत विभाग प्रमुखमा पार्वती रावल, श्रम तथा रोजगार विभाग प्रमुखमा बन्दा पाण्डे, सहरी विकास विभाग प्रमुखमा रामकुमारी झाँक्री, सामाजिक सेवा विभाग प्रमुखमा सुशीला नेपाल र कानुन विभाग प्रमुखमा रमेश बडालको नाम प्रस्ताव गरिएको छ।
जनसङ्गठन समन्वय संयन्त्र प्रमुखमा विशाल भट्टराई, पुस्तकालय तथा अभिलेख विभाग प्रमुखमा बिनाकुमार श्रेष्ठ, वन तथा वातावरण विभाग प्रमुखमा भारती पाठक, वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुखमा डा. भीष्म अधिकारी, विज्ञान तथा प्रविधि विभाग प्रमुखमा रचना खड्का र स्थानीय विकास विभाग प्रमुखमा राजेन्द्र गौतम प्रस्तावित छन्।
यसैगरी, जनसङ्गठन इन्चार्ज तथा विभिन्न फाँट इन्चार्जहरूको जिम्मेवारी पनि तोकिएको छ। पार्टीले युवा, विद्यार्थी, प्रवासी, महिला, मजदुर, किसान, अपाङ्गता, भूपू सैनिक, मानवअधिकार लगायत विभिन्न क्षेत्रका फाँट इन्चार्जसमेत प्रस्ताव गरेको छ।
पार्टी नेतृत्वका अनुसार अन्तिम निर्णय सचिवालय बैठकले गर्नेछ, जसपछि कार्यविभाजन औपचारिक रूपमा लागू हुनेछ।











