११ श्रावण २०८३, सोमबार
,
Latest
सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सभापति थापाद्वारा संयम अपनाउन अपिल देवानगञ्ज घटनामा मृतकप्रति मुख्यमन्त्री कार्कीको श्रद्धाञ्जली, सामाजिक सद्भाव कायम राख्न आग्रह इतिहास लेखनलाई तथ्यमा आधारित बनाउन सर्वमान्य संयन्त्र गठन गर्नुपर्छः सांसदहरू पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस भाषा, संस्कृति र इतिहास संरक्षणमा राज्य गम्भीर बन्नुपर्छः उपाध्यक्ष भण्डारी समृद्धिका लागि कानून वाधक बन्न हुँदैनः मन्त्री गौतम सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन ‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड



अ+ अ-

बागलुङ। बागलुङको बडिगाड गाउँपालिकालाई स्थानीय उत्पादनको हवका रूपमा विकास गर्न थालिएको छ ।

गाउँपालिकाको पहिचानका रूपमा विकास भइसकेको ढाकाको कपडा, महलगायत स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न थालिएको हो ।

गाउँपालिका परिसरमा सञ्चालन भइरहेको ‘स्थानीय उत्पादन मेला २०८३’ मा स्थानीय उद्यमी आफ्ना उत्पादन देखाउन व्यस्त देखिन्छन् । मेलाले उत्पादक र उपभोक्तालाई प्रत्यक्ष भेट गराउने अवसर जुटाएको छ ।

बडिगाड गाउँपालिका-७ मा दुनाटपरी उद्योग सञ्चालन गर्दै आउनुभएकी रविना थापाले मेलालाई आफ्नो उत्पादनको प्रचार गर्ने प्रभावकारी अवसरका रूपमा लिनुभएको छ । गाउँ नजिकैको वनमा खेर गइरहेको सालको पात प्रयोग गरेर दुनाटपरी उत्पादन गर्दै आएकी उहाँले बजार विस्तार अपेक्षाअनुसार हुन नसकेको गुनासो गर्नुभयो ।

विसं २०७८ मा करिब रु तीन लाख ५० हजार लगानी गरेर उद्योग सुरु गर्नुभएकी थापाले वर्षमा रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्म कारोबार हुने गरेको जानकारी दिनुभयो । पूजाआजा र लगनका समयमा माग बढ्ने भएकाले आवश्यक पर्दा कर्मचारी राखेर उत्पादन गर्ने गरेको उहाँको भनाइ छ ।

‘थापा बहुउद्देश्यीय कृषि फार्म’ बाट उत्पादन भएको महको बजारीकरण गर्न बडिगाड–६ का जीतबहादुर थापा मेलामा सहभागी हुनुभएको छ । थापाले सेरेना जातका करिब १०० घार मौरीपालन गर्दै आउनुभएको छ ।

उहाँले वर्षमा ६० देखि ७० घार मौरीसहित गोला बिक्री गर्नुका साथै करिब सात क्विन्टल मह उत्पादन गरिरहेको जानकारी दिनुभयो । मह प्रतिकिलो रु एक हजार ३०० मा बिक्री हुने गरेको भन्दै उहाँले वार्षिक रु १५ लाखसम्म कारोबार र करिब रु आठ लाख नाफा हुने गरेको जानकारी दिनुभयो ।

बडिगाडको पहिचान बनिसकेको ढाका उद्योग सञ्चालक मायाकुमारी केसीले ढाकाबाट बनेका कपडाको बिक्री वितरण भइरहेको जानकारी दिनुभयो । ‘बडिगाड ढाका एण्ड बुटिक उद्योग’ मार्फत छ जना महिलाले उत्पादन गरेका सामग्रीको बजारीकरण गर्ने गरिएको उहाँले बताउनुभयो ।

केसीका अनुसार उद्योगमा रेशमका साडी, कुर्था, कोट, सल, झोला तथा टोपी उत्पादन हुँदै आएका छन् । स्थानीय बजारमा मात्रै सीमित रहेको व्यापार पछिल्लो समय अनलाइनमार्फत विस्तार हुन थालेको उहाँले बताउनुभयो ।

स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले ‘बडिगाड स्थानीय उत्पादन मेला २०८३’ आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाको मुख्य आयोजना तथा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन, जीप र दायित्व संस्थाको सहकार्यमा साताव्यापी मेला सञ्चालन गरिएको हो ।

“महिला बडिगाड उद्यमी आइकन छनोटका लागि विभिन्न चरणका कार्यक्रम सञ्चालन गरेका छौँ”, अध्यक्ष अधिकारीले भन्नुभयो, “हाल उत्कृष्ट १० को चरणमा प्रवेश गरेका छौँ । स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणमा सघाउने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो ।” गाउँपालिकाले स्थानीयका सटर भाडामा लिएर उद्यमीलाई निःशुल्क कक्ष उपलब्ध गराएको छ । गाउँका उद्यमीलाई बजारसँग जोड्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

पोषण सप्ताहसमेत सञ्चालन भइरहेकाले स्थानीय कृषकले उत्पादन गरेका खाद्यान्न र स्थानीय अन्नबाट बनेका परिकारलाई मेलामा प्राथमिकताका साथ राखिएको छ । एक गतेदेखि सञ्चालित मेला जेठ ७ गतेसम्म सञ्चालन हुनेछ । रासस