८ असार २०८३, सोमबार
,
Latest
लागुऔषधसहित १० जना पक्राउ ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो… अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोध प्रेरित हुनुहुँदैन: प्रदीप ज्ञावली आधिकारिक छाप र लेटरप्याडको दुरुपयोगप्रति राप्रपाको ध्यानाकर्षण गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘धर्मगुरुसँग प्रहरी’



अ+ अ-

सुर्खेत । समाजमा हुने विभिन्न घटना नियन्त्रणका लागि परम्परागत संस्कृति, विश्वास र संस्कारलाई प्राथमिकता दिन प्रहरीले सचेतना कार्यक्रम अघि बढाउन थालेको छ । ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत ‘धर्मगुरुसँग प्रहरी’ कार्यक्रम सञ्चालन गरेर प्रहरीले धर्म, संस्कार र अन्धविश्वासका कारण मानव समाजमा पारेको असरबारे जानकारी दिन थालेको हो ।

यसै साता जिल्ला प्रहरी कार्यालयले वीरेन्द्रनगरमा आयोजना गरेको ‘धर्मगुरुसँग प्रहरी’ सम्बन्धी सचेतनामूलक कार्यक्रममा हिन्दू ईसाई, बौद्ध तथा मुस्लिम धर्मगुरुलाई भेला पारेर बालविवाहले समाजदेखि मुलुकको दिगो विकासमा पर्ने असरबारे प्रशिक्षण दिएको थियो । प्रशिक्षणमा वालविवाह गर्नेहरूको उमेर, बालविवाहका प्रमुख कारण र त्यसबाट बालबालिकामा पर्ने शारीरिक, मानसिक, मनोवैज्ञानिक तथा प्रजननसम्बन्धी असरसबारे जानकारी गराइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिल्लीराज पन्तले राससलाई जानकारी दिनुभयो । बालविवाहका कारण समाजमा हुने आपराधिक घटनाका साथै यसबाट शिक्षा, स्वास्थ्य, रोजगारी, पारिवारिक कलह र देशविकामा पुग्ने असरबारे पनि जानकारी गराइएको उहाँको भनाइ थियो ।

उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक रवि रावलले बालविवाह सामाजिक अपराध हो भन्ने कुरा प्रत्येक नागरिकसम्म पु¥याउन यो कार्यक्रम गरिएको बताउनुभयो । धार्मिक संस्कृतिसँग जोडिएका कुरीतिलाई हटाउँदै लैजाने र बालविवाह गराउनेलाई हुने कानूनी दण्डसजायका बारेमा जानकारी गराउने उद्देश्यले सो कार्यक्रम गरिएको उहाँले जनाउनुभयो । प्रहरी नायब उपरीक्षक रावलले भन्नुभयो, “विवाहमा मुलतः धर्मगुरुको भूमिका बढी रहने भएकोले उहाँहरुलाई प्रशिक्षण दिइएको हो । यस कार्यक्रमले राम्रै प्रभाव पारेको छ ।” उहाँका अनुसार प्रशिक्षणमा सहभागी सबै धर्मगुरुहरूले आफूहरु बालविवाहमा संलग्न नहुने र त्यस्ता घटनामा जो कोही संलग्न देखिए प्रहरीलाई सूचना गर्ने जनाएका थिए ।

‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, आमा समूह, क्लबसम्म पु¥याइएको उक्त कार्यालयले जनाएको थियो । ईगरब्रिज माविका शिक्षक यज्ञ ढकालले पहिले धार्मिक, साँस्कृतिक र पछिल्लो समयमा सूचना तथा प्रविधिको विकाससँगै प्रविधिजन्य सामग्री र साइटले बालविवाह बढाएको बताउनुभयो । विद्यालय, गाउँ तथा नगरमा गठित बाल क्लबलाई सक्रिय बनाउनुपर्ने सुझाउँदै उहाँले सामाजिक सञ्जाल नियन्त्रण, सामाजिक सचेतना र कानूनी दायरालाई फराकिलो बनाउन सकिए मात्र यसलाई नियन्त्रण गर्न सकिने प्रतिक्रिया दिनुभयो ।

त्यसैगरी, सामाजिक अभियान्ता टङ्कप्रसाद खनालले गरीबी, अशिक्षा र देखासिखीले बालविवाह बढेको बताउनुभयो । पछिल्लो समयमा भने मोबाइल र सामाजिक सञ्जालले बालविवाह गर्नेको सङ्ख्यामा वृद्धि भएकाले अभिभावक, विद्यालय र तीनै तहका सरकारले यसलाई नियन्त्रण र निराकरण गर्दै लानुपर्ने उहाँको भनाइ थियो । गरीबी र अशिक्षाका साथै धार्मिक तथा सांकृतिक संस्कारका कारण मध्य तथा सुदूरपश्चिम नेपालमा बालविवाह हुने भएकाले त्यसैलाई दृष्टिगत गर्दै ‘धर्मगुरुसँग प्रहरी’ कार्यक्रम कर्णालीका १० वटै जिल्लामा सञ्चालन गरी विभिन्न धर्ममा आवद्ध करीब सात सय धर्मगुरुलाई प्रशिक्षण दिइएकाले बालविवाहका घटनामा कमी आउने अपेक्षा गरिएको प्रहरीले जनाएको छ ।