५ असार २०८३, शुक्रबार
,
Latest
मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश कक्षा १२ को नतिजा सार्वजनिक प्रदेश बजेटमा कञ्चनपुरको खेलकुदः मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुगुमा ‘छायानाथ ट्रेल/अल्ट्रा २०२६’ सुरु, राष्ट्रिय–अन्तरराष्ट्रिय धावकको सहभागिता



अ+ अ-

काठमाडाैँ । कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा ‘छायानाथ ट्रेल/अल्ट्रा २०२६’ आज बिहानदेखि सुरु भएको छ । साहसिक पर्यटन प्रवर्द्धन तथा धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण छायानाथ धामको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित प्रतियोगिता बिहानदेखि औपचारिक रूपमा सुरु गरिएको हो ।

प्रतियोगितामा कुल ५८ जना धावक सहभागी भएका छन् । सहभागीमध्ये ४६ जना पुरुष र १२ जना महिला रहेका छन् । प्रतियोगितामा राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा ख्याति र मापदण्ड प्राप्त २३ जना धावक सहभागी भएका छन् । दुई जना इलिट, सात जना एक्सपर्ट, नौ जना एड्भान्स र पाँच जना इन्टरमिडियट स्तरका धावक सहभागी छन् । तेत्तीस किलोमिटर दूरीको यस ट्रेल/अल्ट्रा दौड दुई हजार ८८० मिटरको किम्री गाउँदेखि सुरु भएको चार हजार ८२० मिटर छायानाथ धाम हुँदै दुई हजार २२० मिटर पुलु बजार पुगेर समाप्त हुनेछ ।

गाउँपालिकाका अध्यक्ष छिरिङ लामाले छायानाथ क्षेत्रलाई धार्मिक तथा साहसिक पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । यस्ता कार्यक्रमले स्थानीय संस्कृति, प्राकृतिक सम्पदा तथा हिमाली जीवनशैलीलाई विश्वसामु चिनाउन मद्दत पुग्ने पनि पालिका अध्यक्ष लामाको भनाइ छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रावलले भन्नुहुन्छ, “प्रतियोगिताले स्थानीय स्तरमा पर्यटन व्यवसाय, होटल तथा अन्य आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्नेछ ।”

उहाँले प्रतियोगिता व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न आवश्यक तयारी पूरा गरिएको बताउनुभयो । गाउँपालिकाका सूचना तथा प्रविधि अधिकृत अधिकारी सोबिन्द्रबहादुर मल्लका अनुसार प्रतियोगितामार्फत मुगुम कार्मारोङ क्षेत्रको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्वलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रचार गर्ने लक्ष्य राखिएको छ ।

स्थानीय बासिन्दा, युवा तथा सरोकारवाला निकायको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको अधिकृत मल्लले बताउनुभयो । पहिलो छायाँनाथ ट्रेल/अल्ट्रा म्याराथनमा राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा ख्यातिप्राप्त खेलाडीहरू अर्जुन राई लुकिङ, बल कुँवर, धिरज बुढा, आङफुर्वा शेर्पा, सुनमाया बुढा, निर्मला राई जस्ता खेलाडीहरूको सहभागिता रहेको छ ।