८ श्रावण २०८३, शुक्रबार
,
Latest
विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा आर्थिक कुटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्नुहुँदै लाल सागरमा साउदी अरबका दुई तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथी समूहको दाबी थाइल्याण्डमा सुरक्षा चेकपोइन्टमा आक्रमणः ५ सैनिकको मृत्यु, ६ सर्वसाधारण घाइते पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीः १० लडाकु मारिए, दुई महिला आत्मघाती आक्रमणकारी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इभी मोटर क्षमता विवादमा स्पष्ट मापदण्ड आवश्यक छ : नाइमा



अ+ अ-

काठमाडाैँ ।  नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले विद्युतीय सवारी साधनकाे मोटर क्षमता सम्बन्धमा पछिल्लो समय विभिन्न माध्यमबाट भइरहेका टिप्पणी, चर्चा तथा व्याख्याप्रति ध्यानाकर्षण भएको जनाएको छ।

नाइमाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै इभि मोटर क्षमता परीक्षण, प्रमाणीकरण तथा प्राविधिक मूल्याङ्कनसम्बन्धी विषयमा स्पष्ट, व्यवहारिक र एकरुप व्यवस्था आवश्यक रहेको बताएको हो। यस विषयलाई यसअघि अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँगको छलफलमा समेत उठाइएको नाइमाले जनाएको छ।

विज्ञप्तिअनुसार नेपालमा आयात भइरहेका विद्युतीय सवारी साधन अन्तर्राष्ट्रिय मान्यता प्राप्त उत्पादक कम्पनीहरूले जारी गरेका आधिकारिक प्राविधिक विवरण, परीक्षण प्रतिवेदन तथा प्रमाणीकरण प्रक्रियाका आधारमा आयात हुँदै आएका छन्। एउटै मोडलका सवारी साधन विभिन्न देश, नियामकीय संरचना तथा बजार आवश्यकताअनुसार फरक–फरक प्राविधिक स्पेसिफिकेशनमा उत्पादन हुनु विश्वव्यापी अभ्यास रहेको नाइमाको भनाइ छ।

नाइमाले केवल वेबसाइटमा देखिएका विवरण, मोडल नाम वा बाह्य जानकारीका आधारमा मोटर क्षमता सम्बन्धी निष्कर्ष निकाल्नु प्राविधिक रूपमा विश्वसनीय नहुने स्पष्ट पारेको छ।

हाल नेपालमा इभि सवारीसँग सम्बन्धित मोटर क्षमता परीक्षण तथा प्रमाणीकरणका लागि स्पष्ट राष्ट्रिय प्राविधिक मापदण्ड, संस्थागत परीक्षण प्रणाली तथा एकीकृत कार्यविधि पूर्ण रूपमा कार्यान्वयनमा नआएको नाइमाले जनाएको छ। यही अस्पष्टताका कारण विभिन्न तहमा भ्रम, अन्योल तथा फरक–फरक व्याख्या उत्पन्न भइरहेको उसको भनाइ छ।

नाइमाका अनुसार इभि सवारी साधनको प्राविधिक मूल्याङ्कन आधिकारिक उत्पादक कम्पनीबाट जारी प्रमाणित विवरण, अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त परीक्षण निकायका प्रमाणपत्र तथा स्थापित प्राविधिक मापदण्डका आधारमा गरिनुपर्छ। साथै सम्बन्धित सरकारी निकायबीच एकरुप व्याख्या तथा कार्यान्वयन सुनिश्चित गर्न स्पष्ट प्राविधिक कार्यविधि, परीक्षण पूर्वाधार तथा प्रमाणीकरण प्रणाली तत्काल विकास गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

नाइमाले विद्युतीय सवारी साधनलाई नेपालको स्वच्छ ऊर्जा उपयोग, दिगो यातायात प्रणाली विकास तथा हरित अर्थतन्त्र प्रवर्द्धन गर्ने महत्वपूर्ण माध्यमका रूपमा व्याख्या गरेको छ। इभि क्षेत्रको विस्तारले स्वदेशी स्वच्छ ऊर्जाको प्रभावकारी उपयोग बढाउने, वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने तथा दीर्घकालीन ऊर्जा र यातायात क्षेत्रको दिगोपनामा सकारात्मक योगदान पुर्‍याउने उल्लेख गरिएको छ।

विज्ञप्तिमा अपुष्ट सूचना वा फरक–फरक व्याख्याले बजारमा अनावश्यक अन्योल सिर्जना गर्नुका साथै उपभोक्ता विश्वास, लगानीको वातावरण तथा विद्युतीय सवारी क्षेत्रको दीर्घकालीन विकास प्रक्रियामा असर पार्न सक्ने उल्लेख गरिएको छ।

नाइमाले सरकार तथा सम्बन्धित निकायसँग समन्वय र सहकार्यलाई निरन्तर सुदृढ गर्दै स्पष्ट, पारदर्शी तथा व्यवहारिक प्राविधिक प्रणाली विकासका लागि रचनात्मक भूमिका निर्वाह गरिरहने प्रतिबद्धता समेत व्यक्त गरेको छ।