१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

अझै शुरु भएन गुम्बा पुनःनिर्माणको काम



अ+ अ-

बनेपा । खानीखोला गाउँपालिका–६ का आसमान थोकरले गुम्बाको पुनःनिर्माणको काम कहिले शुरु हुन्छ भनेर पुनःनिर्माण प्राधिकरणमा धाएको चार वर्ष भयो । शुभशक्ति मङ्गल गुम्बाका व्यवस्थापन समिति सदस्य थोकरले भूकम्प गएको चार वर्ष बितिसक्दा पनि रकम नपरेको भन्दै पटक–पटक पुनःनिर्माण प्राधिकरण धाउँदै आएको बताउनुभयो ।

“बल्ल गुम्बा पुनःनिर्माणका लागि रकम प्राप्त भएको छ भन्ने कुरा आएको छ, हेरौँ कहिलेसम्ममा प्राप्त हुन्छ ?”, थोकरले भन्नुभयो । त्यसरी कहिले निर्माणको अख्तियारी र रकम प्राप्त हुन्छ भनेर ‘बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिमा चार/पाँच पटक धाएपछि बल्ल काम हुने भन्ने कुरा भएको उहाँले सुनाउनुभयो ।

विसं २०७२ मा गएको भूकम्पले सो गुम्बाको भवन पूरै चर्केको छ । “बुद्धको मूर्तिमा भने कुनै क्षति भएको छैन”, थोकरले भन्नुभयो, “भवन मात्रै पुनःनिर्माण गर्न पाए पनि सार्दाखेरी केही टुटफुट भएमा त्यसको मर्मत गर्नुपर्छ, होइन भने सबै व्यवस्थित नै छ ।” रोशी गाउँपालिका वडा नं १० वाल्टिङका कर्म धुक थर्पेलिङ गुम्बाका प्रमुख लामा कर्मसिं लामाले गुम्बा बनाउनका लागि प्रक्रिया भइरहेको बताउनुभयो । पटक–पटकको प्रयत्नपछि आवश्यक प्रक्रिया तयार गरिसकेको उहाँले बताउनुभयो ।

ती गुम्बामा मात्रै होइन, काभ्रेपलाञ्चोकमा भूकम्पले क्षति पुगेका गुम्बा पुनःनिर्माणको काम अझै शुरु भएको छैन । दातृ निकायबाट प्रदान गर्ने भनिएको सहयोग बेलैमा प्राप्त नहुँदा गुम्बा पुनःनिर्माणको काम प्रभावित भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का प्रमुख सागर आचार्यले माथिबाट अख्तियारी आइसकेकाले अब छिट्टै निर्माण प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।

जिल्लामा गुम्बा पुनःनिर्माणका लागि पाँच समूहमा वर्गीकरण गरी ११२ गुम्बा लाभग्राहीको सूचीमा सूचीकृत भएका छन् । तीमध्ये एक गे्रडमा २०, दुई ग्रेडमा १३, तीन ग्रेडमा १५, चार ग्रेडमा १६ र पाँच ग्रेडमा ४८ गुम्बा परेका छन् । आयोजना कार्यालयका प्रमुख सागर आचार्यले ग्रेड एकदेखि तीनसम्मका गुम्बा मर्मतमा मात्रै पर्ने र ग्रेड चार तथा पाँचका मात्रै पुनःनिर्माणमा पर्ने बताउनुभयो ।

उहाँका अनुसार त्यसरी आएका गुम्बाले एक ग्रेडको रु तीन लाख, दुई ग्रेडका लागि एक तलाको भए रु पाँच लाख र दुई तलाको भए रु १० लाख तथा तीन गे्रेडकालाई एक तलाका लागि रु १० लाख र दुई तलाभन्दा बढी भएमा रु २५ लाखसम्मको अनुदान पाउने व्यवस्था रहेको सो कार्यालयले जनाएको छ । चार र पाँच ग्रेडका गुम्बाका हकमा भने कस्तो प्रकृतिको बनाउने र कतिको बनाउने भन्ने निश्चित गरेर जति पनि लागतको बनाउन सकिने तर त्यसका लागि सम्बन्धित गुम्बा र प्राधिकरणले ५०/५० प्रतिशत लागत व्यहोर्ने गरी पुनःनिर्माण गर्न सकिने उहाँले बताउनुभयो ।