काठमाडाैँ । कास्की जिल्लाको पाँचवटा पालिकामध्ये क्षेत्रफलको हिसाबमा सबैभन्दा सानो गाउँपालिका रुपा हो । प्राकृतिक सौन्दर्यता र मौलिक पहिचानले समृद्ध रुपाले अहिले विकाससँगै इतिहास संरक्षणको नयाँ अभ्यास थालेको छ ।
विगतमा स्थानीय तह पुनःसंरचनपछि साविक गाविसहरूको पहिचान हराउँदै गएको गुनासो बढिरहेको वर्तमान अवस्थामा गाउँपालिकाले पुराना नाम र इतिहासलाई जीवन्त राख्ने लक्ष्यका साथ नयाँ प्रशासनिक भवनका संरचनालाई साविक गाविसका नामबाट नामकरण गरेको हो । गाउँपालिकाको वडा नं ६ फालभञ्ज्याङमा निर्माण गरिएको आधुनिक एवं सुविधासम्पन्न प्रशासनिक भवनको पहिलो तलालाई सिद्ध, दोस्रो रुपा, तेस्रो देउराली, बैठक हललाई हंसपुर तथा सभाहललाई थुम्की नामकरण गरिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो ।
भवन उद्घाटन समारोहमा उहाँले यसबाट साविक गाविसहरूको प्रशासनिक तथा सामाजिक इतिहासलाई नयाँ पुस्तासम्म पुर्याउने प्रयास गरिएको बताउनुभयो । उहाँका अनुसार नेपाल सरकारबाट हस्तान्तरण भएर आएको ९१ रोपनी ११ आना एक पैसा जग्गामा सात करोड ७८ लाख ५४ हजार रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भवन हाल गाउँपालिकाको प्रशासनिक केन्द्र बनेको छ ।
अध्यक्ष ओझाले भन्नुभयो, “विकाससँगै स्थानीय इतिहास र पहिचानलाई पनि संरक्षण गर्नुपर्ने आवश्यकता महसुस गरेर यस्तो अभ्यास थालिको हो । लिफ्टसहित अपाङ्गतामैत्री शौचालयको व्यवस्था गरिएको भवन आधुनिक प्रविधियुक्त छ ।” रमणीय भालभज्या डाँडामा अवस्थित भवनबाट गाउँपालिकाका सबै वडासहित पोखरा, मध्यविन्दु, शुक्लागण्डकी नागरपालिका र मादी नदी तथा हरिया फाँटहरूको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । सो स्थानमा स्वाथ्यचौकी, प्रहरी बिट, कृषि तथा पशु विकाससम्बन्धी कार्यालयसमेत स्थापना गरी सञ्चालन गरिने सोच रहेको अध्यक्ष ओझाले बताउनुभयो ।
यो भवन सम्झौता भएको एक वर्षको अवधिमा निर्माण सम्पन्न भएको थियो । विसं २०८२ वैशाख ३१ गते रमिता इन्फ्रास्ट्रक्चर र मन कन्स्ट्रकसन प्रालिको जेभीसँग एक वर्षमा निर्माणकार्य सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । जेठमा निर्माण कम्पनी र पालिकाबीच भएको सम्झौताअनुसार सम्पूर्ण प्रक्रिया मिलाएर सुरु भई तोकिएकै समयमा सम्पन्न गरी निर्माण कम्पनीले गाविसलाई हस्तान्तरण गरेपछि उद्घाटन गर्न सफल भएको पालिकाका प्राविधिक अभिनव गौतमले बताउनुभयो । नौ वर्षअघि कालोपत्रले नछोएको पालिका रूपमा परिचित रुपामा अहिलेसम्म २०५ किलोमिटर सडक कालोपत्र गरिएको बताउँदै उहाँले भन्नुभयो, “यस वर्ष २४ किलोमिटर सडक निर्माणका क्रममा रहेको छ भने सबै वडा कार्यालयबाट प्रशासनिक भवन सडक सञ्जालबाट जोडिएको छ ।”
पालिकाका सातै वडा कार्यालयका पक्की भवन निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् । कृषि, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धनका आधार तयार भएपछि मात्र प्रशासनिक भवन निर्माण गरिएको बताउँदै प्राविधिक गौतमले भन्नुभयो, “प्रशासनिक भवन निर्माणले रुपाको रुप नै फेरिएको झल्को दिएको छ ।” एक समारोहका बीच भवनको उद्घाटन गर्दै गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले विगतलाई स्मरण गर्ने लक्ष्यका साथ निर्माण सम्पन्न भएको प्रशासनिक भवनबाट जनताले सेवा प्रवाह गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कुनै समय खानेपानीको अभावमा बसाइँसराइ गर्ने प्रवृत्ति तीव्र रहे पनि पछिल्लो समय जनप्रतिनिधिको पहलमा सबै वडामा सडक, खानेपानीको सुविधा पुगेसँगै गाउँ फर्क अभियान सुरु हुनुपर्ने उहाँको जोड थियो । सङ्घीयतासँगै सिहदरबारको अधिकार जनताको घरदैलोमा आएको बताउँदै भवन निर्माणबाट छिटोछरितो एवं प्राविधिमैत्री सेवा प्रदान गर्न सहयोग पुग्ने धारण बनेको उहाँको भनाइ छ ।
सो अवसरमा नवनिर्मित प्रशासकीय भवनको हातामा रुद्राक्षको बिरुवा रोपिएको थियो । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला समन्वय समिति कास्कीका पूर्वप्रमुख वैनबहादुर क्षेत्री अधिकारीलगायतले समृद्ध रुपाको अधियानसँगै विपद् व्यवस्थापनमा पनि जोड दिनुपर्ने बताउनुभयो । पायक पर्ने स्थानमा प्रशासनिक भवन निर्माणसँगै सञ्चालनमा आएपछि स्थानीय बासिन्दा बाजागाजासहित आफ्नो समुदायको सांस्कृतिक, वेशभुसामा सहभागी बनेका थिए । आधुनिक संरचनामार्पmत पुरानो इतिहास जोगाउने गाउँपालिकाको प्रयासलाई स्थानीय बासिन्दाले सकारात्मक रूपमा लिएका छन् ।











