काठमाडाैँ । सशस्त्र प्रहरी बलको मनाङस्थित पर्वतीय उद्धार तालिम शिक्षालयबाट हालसम्म २५० जनाले उच्च भू–भाग खोज तथा उद्धारसम्बन्धी तालिम लिएका छन् शिक्षालयबाट ७५ जनाले उच्च भू–भाग खोज तथा उद्धार आधारभूत तालिम, ५५ जनाले ‘एड्भान्स’ तालिम र १२० जनाले ‘रोप रेस्क्यु’ तालिम लिएका सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले राससलाई जानकारी दिनुभयो ।
मनाङको मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्डेस्थित तीन हजार ४२० मिटर उचाइमा सो शिक्षालय अवस्थित छ । विसंं.२०७७ मा चामेमा स्थापना भएको उक्त शिक्षालय २०७८ वैशाखदेखि ङिस्याङ गाउँपालिकाको स्थानान्तरण भएकोे हो । शिक्षालयमा सञ्चालित सिसं २ उच्च भू–भाग खोज तथा उद्धार तालिम गृहसचिव राजकुमार श्रेष्ठको उपस्थितिमा वैशाख ३१ गते सम्पन्न भएको थियो ।
शिक्षालयमा बिहीबार आयोजित कार्यक्रममा उहाँले तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । शिक्षालयबाट तालिम प्राप्त सशस्त्र प्रहरीले मनाङ, मुस्ताङलगायत हिमाली जिल्लामा गत कात्तिकमा हिमपहिरोमालगायत विषम अवस्थामा रहेका एक हजार ५०० जनाको सकुशल उद्धार गरेको थियो ।
यसैबीच, शिक्षालयका चार जना प्रशिक्षक तथा १८ प्रशिक्षार्थीले गत वैशाख २९ गते छ हजार ३८ मिटर अग्लो ‘चुलु फार इस्ट’ हिमालको सफल आरोहण गरेका थिए ।











