५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीति तथा कार्यक्रममा शब्द छन्, दृष्टि छैनः उपनेता अर्याल



अ+ अ-

काठमाडाैँ । प्रतिनिधि सभामा सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मकुमारी अर्यालले सरकारको दस्तावेजले जनअपेक्षा सम्बोधन गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।

बिहीबारको बैठकमा बोल्दै उहाँले वर्तमान सरकारप्रति नागरिकमा असाधारण अपेक्षा रहे पनि प्रस्तुत नीति तथा कार्यक्रमले त्यो भरोसा पूरा गर्न नसकेको बताउनुभयो । उहाँका अनुसार सरकारको दस्तावेजमा स्पष्ट दृष्टि, कार्यान्वयनको ठोस आधार र जनजीवनमा परिवर्तन ल्याउने साहसिक योजना अभाव देखिएको छ ।

अर्यालले नीति तथा कार्यक्रमलाई शब्द र घोषणाको संकलनजस्तो मात्र देखिएको भन्दै दिशानिर्देश दिने क्षमता कमजोर रहेको टिप्पणी गर्नुभयो । उहाँले नीति र कार्यक्रमबीचको स्पष्ट भिन्नता समेत छुट्याउन नसकिएको भन्दै सरकारको तयारीमाथि प्रश्न उठाउनुभयो ।

उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय लक्ष्यलाई नीति तथा कार्यक्रममा समेट्न छोडिएकोप्रति असन्तुष्टि जनाउँदै त्यसको अभावले दीर्घकालीन लक्ष्यमा असर पर्ने धारणा राख्नुभयो । संविधानले परिकल्पना गरेको समाजवादउन्मुख अर्थतन्त्रअनुसार नीति तथा कार्यक्रम नआएको उहाँको भनाइ थियो ।

त्यसैगरी, विगतका सरकारले अघि बढाएका सकारात्मक कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा त्यसतर्फ पर्याप्त ध्यान नदिइएको आरोप पनि उहाँले लगाउनुभयो । सरकारलाई नवीन सोचको दाबी गरे पनि दस्तावेजमा त्यसको स्पष्ट झल्को नदेखिएको उहाँको टिप्पणी थियो ।

तीनखम्बे अर्थनीतिलाई समेत उपेक्षा गरिएको उल्लेख गर्दै उहाँले सरकारले राखेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य व्यवहारिक नदेखिएको बताउनुभयो । कृषि, पर्यटन, जडीबुटी, ऊर्जा र औद्योगिकीकरणलाई प्राथमिकतामा राखेर मात्रै आर्थिक लक्ष्य हासिल गर्न सकिने उहाँको सुझाव थियो ।

छलफलका क्रममा उहाँले भन्नुभयो, “जनताले परिवर्तनको ठूलो अपेक्षा गरेका थिए, तर प्रस्तुत नीति तथा कार्यक्रमले त्यो विश्वासलाई सम्बोधन गर्न सकेन ।”

अन्त्यमा उहाँले नीति तथा कार्यक्रमलाई राष्ट्रको साझा दस्तावेजका रूपमा सबैले स्वीकार गर्ने गरी अझ स्पष्ट, कार्यान्वयनमुखी र दिशानिर्देशात्मक बनाउन सरकारलाई आग्रह गर्नुभयो ।