काठमाडाैँ । नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीको वर्तमान नेतृत्व र कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै नेतृत्वले आफ्ना कमजोरी सुधार नगरे फरक कदम चाल्ने चेतावनी दिनुभएको छ ।
वागमती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले पार्टीभित्र अविश्वासको वातावरण बढ्दै गएको र नेतृत्व तहमा रहेका नेताहरू नै जिम्मेवार हुनुपर्ने धारणा राख्नुभएको हो । नेता बस्नेतले सभापति गगन थापाको नामै किटेर पार्टीलाई ‘हाइज्याक’ गरेको र विधि–विधान विपरित कब्जा जमाउन खोजेको दाबी गर्नुभयो । पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि बस्नेतले स्पष्ट शर्तहरू अघि सार्नुभयो ।
उहाँले हाल भइरहेको क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य तत्काल खारेज हुनुपर्ने माग गर्नुभयो । समितिको निर्णयका आधारमा मात्र अधिवेशनको प्रक्रिया अघि बढाउनुपर्ने उनको अडान छ । आगामी १५ औँ महाधिवेशनका सन्दर्भमा दुई पक्षले घोषणा गरेका अलग–अलग मितिहरू रद्द गरेर सामूहिक भावनाका साथ नयाँ मिति तय गर्नुपर्ने उहाँले बताउनु भयो । वार्ता शक्ति र सामथ्र्यसँग हुने भन्दै उहाँले आफ्नो समूहलाई ७७ वटै जिल्ला र भ्रातृ संस्थाहरूमा सशक्त रूपमा परिचालन गर्ने घोषणा समेत गर्नुभयो ।
वर्तमान नेतृत्वको आलोचना गर्दै बस्नेतले पटक–पटक संसदीय र पार्टी निर्वाचन हारेका व्यक्तिहरूले नेतृत्व गर्दा पार्टी कमजोर भएको टिप्पणी गर्नुभयो । नेता बस्नेतले पार्टी जोगाउन र प्रजातन्त्रको रक्षाका लागि आवश्यकता परे ‘फरक बाटो’ तय गर्न सकिने संकेत समेत दिनुभयो । उहाँले आफ्नो समूहमा देशभरका इमानदार कार्यकर्ता र वरिष्ठ नेताहरूको साथ रहेको दाबी गर्दै अबको कार्यक्रम सशक्त रूपमा अगाडि बढाउने उद्घोष गर्नुभयो ।











