२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हात्तीसारमा जन्मिए चार छावा



अ+ अ-

काठमाडाैँ । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर सौराहामा यस आर्थिक वर्षमा चारवटा छावा जन्मिएका छन् । गत आवमा दुईवटा छावा जन्मिएका थिए । थप एउटा हात्तीले यस वर्ष बच्चा जन्माउने अवस्थामा पुगेको छ । प्रजनन केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार तमोर, रिमझिम, लोकतन्त्र र तीर्थमान कलीले यस वर्ष छावा जन्माएका हुन् ।

तीर्थमान कलीले पोथी र अरुले भाले छावा जन्माएका छन् । हाल केन्द्रमा नौवटा माउ, एउटा तालिमे बच्चा र छवटा साना बच्चा छन् । तीमध्ये दुईवटा गत वर्षका हुन् भने चारवटा यसै वर्षका हुन् । हात्तीले गर्भधारण गरेको २२ देखि २४ महिनामा बच्चालाई जन्म दिने गर्दछन् । निकुञ्जभित्रका विभिन्न पोष्टमा गरी हात्तीको सङ्ख्या ५८ वटा रहेका थिए । गत वर्ष दुईवटा हात्ती कतार पठाइएको छ ।

विसं २०४४ मा स्थापना भएको यस केन्द्रमा हालसम्म ६८ वटा बच्चा जन्मिसकेका छन् । यहाँका पोथी हात्तीलाई जङ्गली हात्तीले केन्द्रमा आएर गर्भधान गराउने गर्दछन् । ध्रुवे, रोनाल्डो, गोविन्दे र गत साल मरेको मकुनाले यहाँ पोथी हात्तीलाई प्रजनन गराउँदै आएका छन् ।

यसै महिनाबाट भीमगज र शेरगज नाम दिइएका दुईवटा जङ्गली हात्ती पनि केन्द्रमा आउन थालेका छन् । केही दिनअघि शेरगज र रोनाल्डोबीचमा केन्द्रमा लडाइँ भएपछि अन्य हात्ती र माउते त्रसित भएका थिए । यहाँ जन्मिएका हात्तीका छावालाई तालिम दिएर निकुञ्जका पोष्टहरूमा काम गर्न पठाउने गरिन्छ ।