२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

आदिवासी भूमिमा चल्यो लोकरकको जादु

आदिवासी भूमिमा चल्यो लोकरकको जादु
अ अ+ अ-

अकल्यान्ड: न्युजिल्यान्ड आइपुगेको भोलिपल्टै आदिवासी माहुरे समुदायले नेपथ्य ब्यान्डलाई उनीहरूको परम्परागत ‘पाउहिरी’ शैलीमा स्वागत गरेको थियो । त्यस समुदायको ‘कापा हाका ग्रुप’ ले पाहुनालाई आफ्नो परिवेशमा साङ्गीतिक निमन्त्रण गर्दा आध्यात्मिक संवाद प्रयोग गरेको थियो । लगत्तै आइतबार बेलुकी अकल्यान्डको ‘ड्यु ड्रप इभेन्ट्स सेन्टर’ मा नेपथ्य प्रस्तुत भयो ।

त्यहीँ दुई हजारभन्दा बढी दर्शकको भीडमा थिइन् इलिन तुराङ्गा । ‘आजसम्म मैले सहभागिता जनाएको नेपाली कार्यक्रममध्ये यो कन्सर्ट सर्वोत्कृष्ट रह्यो,’ आठ वर्षदेखि नेपाली तन्नेरीका साथ जीवन बिताउँदै आएकी माहुरे आमाकी सन्तान इलिन भन्दै थिइन्, ‘सङ्गीत मात्र होइन, स्टेजमा गाउने गायकको प्रभावशाली विनम्रता र  दर्शकले उनीप्रति दर्साउने सम्मानको संयोजनले मलाई गजब लाग्यो ।’

कुनै पनि कन्सर्टमा मञ्चका कलाकारसँग दर्शक यत्तिको भावुकतापूर्वक जोडिएको आफूले कहिल्यै नदेखेको इलिनको प्रतिक्रिया थियो । उनी कन्सर्ट हेर्नकै लागि नेपाली साथीसँग हेमिल्टनदेखि डेढ घण्टा मोटर हाँकेर आइपुगेकी थिइन् ।

पृथ्वीकै पिँधमा पर्ने यस मुलुकमा नेपथ्यले झन्डै एक दशकको अन्तरालमा दोस्रोपटक पाइला टेकेको हो । मुख्य सहर अकल्यान्डमा आजसम्मकै सर्वाधिक ठूलो नेपाली जमघटमा रूपान्तरित कन्सर्टका लागि बेलुकी नहुँदै दर्शक जुट्न सुरु भइसकेका थिए । हल भित्रको घडीले आधा घण्टा बाँकी जनाउँदा नै दर्शक भरिभराउ भएका थिए ।

कन्सर्टको पहिलो कोसेलीका रूपमा ‘कोशीको पानी यो जिन्दगानी’ प्रस्तुत भयो । ‘तपाईंहरू माया गर्नुहुन्छ र हामी आइपुग्छौँ,’ गाउँदागाउँदै बीचैमा गायक अमृतले यसो भनिदिँदा दर्शक अझ जोडले चिच्याउँथे ।

‘पहिल्यैदेखि सुन्दै आएका नेपथ्यका गीतहरूबारे त के भन्नु!’ कन्सर्ट हेरेपछि भावुक दीपक पाण्डे भनिरहेका थिए, ‘एकैछिन भए पनि भर्खरै स्वदेश पुगेर फर्केजस्तो अनुभूति भइरहेको छ ।’

१५ वर्षदेखि न्युजिल्यान्डलाई कर्मथलो बनाउँदै आएका दीपक कन्सर्टकै लागि डेढ घण्टाको हवाईयात्रा गर्दै अर्को सहर क्राइस्टचर्चदेखि आइपुगेका थिए ।

नेपाली लोकधुनलाई विश्वव्यापी रक सङ्गीतसँग जोडेर विकास गरिएका आफ्ना गीतहरू प्रस्तुत गर्नका लागि नेपथ्यले आधुनिक उपकरणहरूको प्रयोग र कुशल व्यवस्थापनमा कन्जुस्याइँ गर्दैन । त्यसको मूल्याङ्कन भने विदेशमा पुगेका बेला उतैका प्राविधिकले गरिरहेका हुन्छन् । जस्तो– अकल्यान्डकै हलमा थिए ग्रान्ट सिभिलिच । न्युजिल्यान्डका कार्यक्रमहरू आयोजना गर्ने प्रोडक्सन कम्पनी ‘एभिएल ल्याब’ मा आबद्ध ग्रान्टका अनुसार साङ्गीतिक समूहको प्रस्तुतिमा यतिको व्यावसायिकता कमै देख्न पाइन्छ ।

‘आवाजको नोटदेखि लाइटको प्रयोग हुँदै पृष्ठभूमिमा देखाइएका भिडियोसम्म सबैको संयोजनले सिङ्गो प्रस्तुतिलाई प्रभावशाली बनाइरहेको थियो,’ कन्सर्ट सकिएपछि उनको प्रतिक्रिया थियो, ‘नेपथ्यसँग काम गर्दा मजा आयो ।’

कन्सर्ट हेर्नकै निम्ति सपत्नी आएका न्युजिल्यान्डकै बेङ्कर वेदेन्द्र अधिकारीको यस मुलुकमा यो दोस्रो नेपथ्य अनुभव थियो । ‘गाउँदागाउँदै हामी दुवैको घाँटी सुक्यो, नाच्दानाच्दै खुट्टा गले,’ २६ वर्षदेखि यसै मुलुकका बासिन्दा उनी भनिरहेका थिए, ‘नेपथ्य कन्सर्टको विशेषता भनेकै हरेकपटक सोचेभन्दा धेरै रमाइलो हुन्छ ।’

कन्सर्टमा १३ र १६ वर्षका दुई बच्चा र श्रीमतीसहित आएका थिए राज महर्जन । आफ्ना छोराछोरी पनि कन्सर्टमा आफूजत्तिकै रमाएको प्रतिक्रिया उनले दिए ।

न्युजिल्यान्डस्थित निवर्तमान मानार्थ महावाणिज्यदूत दिनेश खड्काले पनि आफ्ना लागि यो कन्सर्ट जीवनकै महत्त्वपूर्ण अनुभव बन्न पुगेको बताए ।

अकल्यान्ड कन्सर्टका लागि फ्लोर (उभिएर हेर्ने) टिकट केही दिन अगावै सकिएको थियो भने सीमित सिट मात्र अन्तिम क्षणका लागि बचेको थियो । ‘नेपथ्यलाई यस रूपमा उतार्न हामीले महिनौँको तयारी गरेका थियौँ,’ स्थानीय आयोजक लाखे इभेन्ट्सका रोजन भट्टराईले भने, ‘आफ्नो पहिलो नेपथ्य अनुभव भएकाले दर्शकका रूपमा पनि उत्तिकै आनन्द लिँदा मेहनतको फल चाख्न पाएको अनुभूति भइरहेको छ ।’

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

यस पालिको यात्रामा न्युजिल्यान्डमा आयोजित यो एक मात्र कन्सर्ट सम्पन्न भएपछि ब्यान्ड अब स्वदेश फिर्ने तयारीमा लागेको छ ।

अब नेपथ्यले जुन १ मा मलेसियाको राजधानी क्वालालम्पुरमा प्रस्तुत हुने घोषणा गरिसकेको छ । उक्त कन्सर्टका लागि पनि व्यवस्थापक नेपालयले अनलाइनबाटै टिकट खरिद गर्न सकिने बन्दोबस्त मिलाएको छ । नेपथ्यको वेबसाइट www.nepathya.com.np बाट आफ्नो सिट सुरक्षित बनाउन सकिनेछ ।

फोटोहरु – सिनेक्राफ्ट प्रोडकसन् / नेपालय