१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल चिकित्सक सङ्घको महासचिवमा डा रिजालले उम्मेदवारी दिने



अ+ अ-

काठमाडौँ । चिकित्सकको साझा छाता सङ्गठन नेपाल चिकित्सक सङ्घको आगामी नयाँ नेतृत्वका लागि महासचिव पदमा डा बद्री रिजालले उम्मेदवारी दिनुहुने भएको छ ।

आगामी माघमा सङ्घको नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । अध्यक्ष एक, उपाध्यक्ष दुई, महासचिव एक, कोषाध्यक्ष एक, सहसचिव एक, सहकोषाध्यक्ष एक र सदस्य छ पद गरी कूल १३ पदमा निर्वाचन हुँदैछ । लोकतान्त्रिक चिकित्सक सङ्घको सोमबार बसेको बैठकले उहाँलाई सो पदमा उठाउने निर्णय गरेको हो ।

यसअघि सङ्घको अध्यक्ष पदमा डा लोचन कार्कीलाई उठाउने निर्णय भएको थियो । डा कार्की सङ्घको महासचिव हुनुहुन्छ । सङ्घका अध्यक्ष चिकित्सक मुक्तिराम श्रेष्ठसहित पूर्वअध्यक्षहरु डा केदारनरसिंह केसी, अञ्जनीकुमार झा र चोपलाल भुसालसहितको टोलीले सर्वसम्मतरूपमा महासचिव कार्कीलाई अध्यक्षसहित रिजाललाई महासचिव पदमा उठाउने निर्णय गरेको जानकारी अध्यक्ष श्रेष्ठले दिनुभयो ।

यसैगरी दुईवटा उपाध्यक्ष पदमा डा शिवकुमार श्रेष्ठ र डा अनिलविक्रम कार्की, सहसचिव पदमा चिकित्सक प्रकाश बुढाथोकी, कोषाध्यक्ष पदमा चिकित्सक शिवजी पौडेल र सहकोषाध्यक्ष पदमा डा विश्वराज दवाडीलाई उठाउने निर्णय भएको छ । बाँकी कार्यसमितिको सदस्य पदको टुङ्गो छिट्टै लगाइने लोकतान्त्रिक चिकित्सक सङ्घले जनाएको छ ।

यसअघि डा पुष्पमणि खरालले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । विसं २००७ फागुन २० गते नेपाल डा सङ्घको स्थापना भएको थियो । स्थापना समयदेखि हालसम्म सङ्घको नेतृत्व प्रजातान्त्रिक चिकित्सकले गर्दै आएका छन् ।

यसैबीच सङ्घले आज सूचना जारी गरी केन्द्रीय निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचन कार्यक्रमअन्तर्गत मङ्सिर १४ गते शनिबारसम्म सङ्घको आजीवन सदस्य बन्नुपर्ने, मतदाताको नामावली मङ्सिर २३ गते सोमबार प्रकाशित हुने, उम्मेदवारको मनोनयन दर्ता मङ्सिर २७ र २८ गते १ बजेसम्म हुने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर ३० गते सोमबार हुने जनाइएको छ ।

सङ्घको १६ वटा शाखा कार्यालयमा माघ ४ गते शनिबार र ५ गते आइतबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म र केन्द्रीय कार्यालयमा माघ १७ गतेदेखि २१ गते मङ्गलबारसम्म सोही समयमा गोप्य मतदान हुने सूचनामा जनाइएको छ । मतगणना माघ २२ गते बुधबार ११ बजेपछि हुनेछ । सङ्घको प्रमुख निर्वाचन अधिकृतमा डा बाबुराम मरासिनी र निर्वाचन अधिकृतमा डा नवीन्द्रराज विष्ट र डा योविनकुमार यादव रहनुभएको छ ।