• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   के कोहलीले फाइनलका लागि रन बचाएर राखेका हुन् ? ★   भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ? ★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दे राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट

सङ्कटमा छन् एकल महिला



रोल्पा । विवाह भएको पाँच वर्षमै श्रीमान्को मृत्यु भएपछि रोल्पा नगरपालिका–२ रेउघाकी ४० वर्षीया देवीकला घर्तीको जीवन उजाडिएको छ । दुई नाबालक छोराछोरी हुर्काउँदै सुन्दर भविष्यको सपना देखेकी उनी यतिबेला रोल्पा अस्पतालको शय्यामा जीवन मृ’त्युको दोसाँध छिन् ।
सत्ताइस वर्षको उमेरमा श्रीमान् गु’माएर एकल जीवन बिताउँदै आएकी उनी श्रीमान्को मायाबाट वञ्चित भए पनि छोराछोरी हुर्के बढेसँगै आफ्ना सबै दुःख पीडा भुल्दै आएकी थिइन् । घरमै दुई/चारवटा बङ्गुरपालन गरेर त्यसबाटै आएको आम्दानीले उनले घरव्यवहार चलाइआएकी थिइन् । तेह्र वर्षीय छोरा र १५ वर्षीया छोरीले गाउँकै विद्यालयमा पढ्दै थिए । घरव्यवहार जसोतसो चल्दै थियो । एक वर्ष अघि उनको फोक्सोमा समस्या देखियो । रोल्पा अस्पताल आई परीक्षण गरिन् । फोक्सो सामान्य देखिए पनि दुःख दिइरहन्थ्यो । थप उपचारका लागि जिल्ला बाहिरका अस्पताल जान उनीसँग पैसा थिएन । औषधि किनेर सेवन गरिरहिन् । पहिलो पटक स्वास्थ्य परीक्षण गरेको एक वर्ष पछि पुनः परीक्षणका लागि रोल्पा अस्पताल पुगिन् । यस पटकको परीक्षणमा उनको फोक्सोमा क्यान्सर भएको देखियो । अहिले जिल्ला अस्पतालको शय्यामा बसेर जीवन रक्षा गरिदिन आग्रह गरिरहेकी छिन् । व्यथाले च्याप्न थालेसँगै उनले बङ्गुरपालन गर्न समेत छोडेकी थिइन् । आम्दानीको कुनै पनि स्रोत नभएपछि र दैनिक घर व्यवहार चलाउन मुश्किल परेपछि छोराछोरीसमेत अर्काको घरमा बसेर पढ्न बाध्य भएका छन् । “छोराछोरी नाबालक छन्, चार–पाँच वर्ष बाँच्न पाए भने उनीहरुको व्यवस्था गर्न सकिन्थ्यो कि भन्ने आशा लाग्छ,” भक्कानिँदै घर्तीले भनिन् । आफन्तहरुले उनको उपचारका लागि अर्थ सङ्कलन गरिरहेका छन् । “जिल्ला बाहिर लैजान सहयोग सङ्कलन गरिरहेका छौं,” उनकी आफन्त तीलसरी पुनले भनिन् ।

तीलसरीका अनुसार दाङमा बसोबास गर्दैआएका रोल्पालीहरुले एक लाख १४ हजार सहयोग गरेका छन् । यसैगरी, स्थानीय आमा समूह, एकल महिला समूह, वडा कार्यालय लगायतले पनि सहयोग गरेका छन् । “क्यान्सरपीडित घर्तीको सहयोगका लागि अहिलेसम्म तीन लाख जति सङ्कलन भएको छ,” रोल्पा नगरपालिका–२ की वडा सदस्य खती घर्तीले भनिन् । वडाध्यक्ष स्वयं उनको सहयोग सङ्कलनमा लागि परेका छन् ।
पीडित घर्ती थला परेसँगै उनका छोराछोरी आफन्तकामा आश्रय लिएर बस्न बाध्य भएका छन् । सङ्कलित रकम बुझ्दै क्यान्सर पीडित घर्तीले सहयोग रकमले उपचार गरी केही वर्ष बाँच्न सके छोराछोरीका लागि उच्च शिक्षासम्म पढाउन सकिने आशा व्यक्त गरिन् । “उच्च शिक्षासम्म पढाउन सकिए उनीहरुले केही गरेर खान सक्लान् भन्ने सोचाइ छ,” क्यान्सर पीडित घर्तीले भनिन् ।
जिल्लामा विभिन्न कारणले एकल बनेका महिला सबैले यस्तै समस्या भोग्दै आएको मानव अधिकारका लागि महिला एकल महिला समूह रोल्पाका अध्यक्ष तुलसा आचार्यको भनाइ छ । “यस्ता समस्या भोग्दै आएका एकल महिलालाई राज्यले विशेष ढङ्गले हेर्नुपर्छ,” अध्यक्ष आचार्यले भनिन् ।
तत्कालीन माओवादीले सञ्चालन गरेको दश वर्षे सशस्त्र द्वन्द्वमा समेत रोल्पाका ३२३ महिला श्रीमान् गुमाएर एकल भएका थिए । श्रीमान्को मृत्यु पछि त्यसरी एकल बनेका महिलाहरुमध्ये अधिकाँश यस्तै समस्याले ग्रस्त भएको बताइन्छ । उनीहरुको स्वास्थ्य तथा आश्रित बालबालिकाको शिक्षाको समेत राज्यले जिम्मेवारी लिनु पर्ने द्वन्द्वमा श्रीमान् गुमाएकी रोल्पा नगरपालिका–१० की धनमाया पुनले बताइन् ।
जिल्लामा विभिन्न कारण एकल भएका महिलाको सङ्ख्या छ हजार ५०० भन्दा बढी रहेको मानव अधिकारका लागि समूहका अध्यक्ष आचार्यले जानकारी दिइन् । एकल महिलालाई अर्थाभावका कारण आफ्ना सन्ततिलाई उच्च शिक्षा दिन र पालनपोषण गर्न समस्या भइरहेको छ । उनीहरु आफ्नै उपचारसमेत गराउन सकिरहेका छैनन् ।