२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानले पाकिस्तानमार्फत् अमेरिकी शान्ति प्रस्तावको जवाफ पठायो



सन्दर्भ तस्बिर
अ+ अ-

तेहरान। इरानले आइतबार वाशिङ्गटनको पछिल्लो शान्ति प्रस्तावको जवाफ दिएको छ ।

शनिबार राति इरानी ड्रोनले खाडी क्षेत्रका धेरै लक्ष्यहरूमा आक्रमण गर्ने चेतावनीबिच अमेरिकाको इरानसँगको युद्धमा शान्तिका लागि पठाएको प्रस्तावको जवाफ पठाएको हो ।

शान्तिका लागि वार्ता र छलफल चलिरहँदा तेहरानले कुनै पनि नयाँ अमेरिकी आक्रमणको बदला लिनबाट पछि नहट्ने पनि जनाएको छ।

सरकारी प्रसारक आइआरआईबीका अनुसार तेहरानको प्रतिक्रिया, पाकिस्तानी मध्यस्थकर्ताहरूलाई दिइएको छ । जवाफ इरान लगायतका सहयोगी समूहमाथिको आक्रमण रोक्ने र विशेष गरी लेबनानमा युद्ध अन्त्य गर्ने बिषय र ‘ढुवानी सुरक्षा सुनिश्चित गर्ने’ बिषयलाई जोड दिइएको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानबाट शुक्रबारसम्ममा जवाफको अपेक्षा गरिरहेको बताउनुभएको थियो । प्रतिक्षा लम्बिँदै जाँदा खाडीमा युद्धविरामबिच तनाव बढ्दै गएको छ । आइतबारको ड्रोन हमलामा एउटा कतारको बन्दरगाहतर्फ जाँदै गरेको मालवाहक जहाजमा क्षति पुगेको थियो।

संयुक्त अरब इमिरेट्सले इरानलाई अर्को आक्रमणमा इरानको हात रहेको आरोप लगाएको छ, जुन पुष्टि भएमा यो एक महिना पुरानो युद्धविराम सुरु भएयता खाडी देशमाथि दोस्रो कथित आक्रमण हुनेछ।

इरानका राष्ट्रपति मसुद पेजेस्कियनले आइतबार भन्नुभएको छ, “हामी शत्रुसामु कहिल्यै झुक्ने छैनौँ र वार्ता वा छलफलको कुरा हुँदैमा यसको अर्थ आत्मसमर्पण वा पछि हट्नु हुँदैन ।”

यसैबीच, तेहरानका सेना प्रमुख अलि अब्दोल्लाहीले देशका सर्वोच्च नेता मोजतबा खामेनीसँग भेट गरी ‘शत्रुसँग लड्नका लागि अपरेसन जारी राख्न नयाँ निर्देशन र मार्गदर्शन’ प्राप्त गरेको’ बताउनुभएको छ।

युरेनियम हटाउनुपर्छ

यसैबीच, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार एक अन्तर्वार्तामा भन्नुभएको छ, “इरानविरुद्ध अमेरिका–इजरायल युद्ध समाप्त हुनुअघि इरानसँग संवर्धित युरेनियमको भण्डार ‘निकालिनुपर्ने’ मा जोड दिनुभएको छ ।

“यो समाप्त भएको छैन, किनकि त्यहाँ अझै पनि आणविक सामग्री (संवर्धित युरेनियम) छ । यसलाई इरानबाट बाहिर निकाल्नु पर्छ । त्यहाँ अझै पनि संवर्धन साइटहरू छन् जुन भत्काउन बाँकी छ।“ नेतान्याहूले सिबिएसको ‘सिक्स्टी मिनट’ कार्यक्रममा आइतबार प्रसारण हुने एक अन्तर्वार्ताको अंशमा भन्नुभएको छ।

“यसलाई बाहिर निकाल्नुपर्छ चाहे तपाइ भित्र गएर होस या अरू कोही,” इजरायली नेताले युरेनियम कसरी हटाउन सकिन्छ भनेर सोधिएको प्रश्नमा भन्नुभयो । रासस