काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले डर र प्रभावमा न्याय सम्भव नभएको बताउनुभएको छ ।
आज कानुन दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो— डर र प्रभावमा न्याय सम्भव छैन । चाहे त्यो दुई तिहाई बहुमतको सरकारको डर होस् या महाभियोगको डर नै किन नहोस् । यस्तो अवस्थामा न्याय सम्भव छैन ।
सो कार्यक्रममा डर र प्रभावबाट मुक्त भएर अदम्य साहसका साथ अघि बढ्न सम्पूर्ण न्यायाधीशहरुलाई आग्रह पनि गरिन् । उनले भनिन— यस गम्भीर एवं कहालीलाग्दो घडीमा संविधानवाद, विधिको शासन र कानुनी राज्यका साथै न्यायलयको स्वतन्त्रतालाई कायम राखेर अघि बढ्न पनि उनले सबै न्यायकर्मीलाई आग्रह गरिन् ।
न्यायलयमा वर्तमान अवस्था कहालीलाग्दो रहेको उनको ठहर थियो । यस्तो अवस्थामा विना कुनै डर र त्रास अघि बढ्न र नडराउन उनले पटक पटक न्यायाधीशहरुलाई आग्रह गरेका थिइन् ।
उनले आफू न्यायालयको स्वतन्त्रता र न्यालपालिकाको मर्यादाबाट कहिल्यै पनि विचलित नहुने पनि स्पष्ट गरिन् । आफू जीवनभर न्यायका लागि लडेको र अझै त्यो लडाईं बाँकी नै रहेको उनको तर्क थियो ।











