२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र तापक्रम बढ्ने पूर्वानुमान



अ+ अ-

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस मनसुनमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ । आज विभागले राष्ट्रिय मनसुन फोरम कार्यक्रममार्फत उक्त प्रक्षेपण सार्वजनिक गरेको हो ।

मनसुनको ऋतुगत अवस्थाबारे प्रस्तुतीकरण दिँदै जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईँले आगामी मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको बताउनुभयो ।

उहाँले आगामी जेठ १८ देखि असोज १४ सम्म रहने मनसुनमा अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार विभागले विश्व मौसम सङ्गठनअन्तर्गत विश्व तथा क्षेत्रीय जलवायु सूचना उत्पादन केन्द्रहरूको हावापानी प्रारूप, दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोफ)लगायतका अन्तरराष्ट्रिय जलवायु मोडेलहरूको विश्लेषणका आधारमा मनसुनको ऋतुगत आकलन तयार गरेको हो ।

आकलनमा पूर्वी प्रशान्त महासागरमा विकसित हुने एल–निनो साउदर्न ओस्सिलेसन (इएनएसओ), हिन्द महासागरमा विकसित हुने इन्डियन ओसन डाइपोल (आइओडी), युरोप तथा एसियामा हिउँद र प्रिमनसुन अवधिमा परेको हिमपात तथा अन्तरऋतु परिवर्तनशीलताका कारकलाई समेत आधार बनाइएको विभागले जनाएको छ ।

हाल प्रशान्त महासागरमा इएनएसओ तटस्थ अवस्थामा रहे पनि एल–निनोतर्फ उन्मुख रहेको तथा हिन्द महासागरमा विकसित हुने आइओडी पनि अहिले तटस्थ अवस्थामा रहेको हुमागाईँले बताउनुभयो । उहाँका अनुसार आगामी मनसुनको अन्त्यसम्ममा आइओडी सकारात्मक अवस्थामा पुग्ने सम्भावना विभिन्न विश्वव्यापी जलवायु मोडेलहरूले देखाएका छन् ।

यद्यपि, ऋतुगत जलवायु समुद्री तथा वायुमण्डलीय प्रणाली, भूउपयोगलगायत विविध कारकमा निर्भर रहने भएकाले जलवायु प्रारूपहरूलाई शतप्रतिशत विश्वसनीय मान्न कठिन हुने उहाँले स्पष्ट पार्नुभयो ।

गत वर्षको मनसुनको समीक्षा गर्दै उहाँले विभागले २०८२ सालको मनसुनमा अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरे पनि देशका धेरैजसो केन्द्रमा सरदरभन्दा कमदेखि सरदर वर्षा मापन भएको जानकारी दिनुभयो । केही स्थानमा भने सरदरभन्दा बढी वर्षा भएको थियो ।

तापक्रमतर्फ भने विभागको आकलनअनुसार नै अधिकांश स्थानमा सरदरभन्दा बढी अधिकतम तथा न्यूनतम तापक्रम रेकर्ड भएको उहाँले बताउनुभयो । विभागका अनुसार यस वर्ष कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेस प्रदेशका पूर्वी भूभाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पश्चिमी भूभाग तथा कोशी प्रदेशका मध्य भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ । कर्णाली र कोशी प्रदेशका उत्तरी भूभागमा भने सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको बताइएको छ ।

बाँकी अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षाको सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागको आकलन छ । साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न भूभागमा सरदरभन्दा बढी तापक्रम रहने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ ।

त्यस्तै, देशभर सरदरभन्दा न्यूनतम तापक्रम बढ्ने विभागको निष्कर्ष छ । विशेषगरी सुदूरपश्चिम, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका केही क्षेत्रमा न्यूनतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको बताइएको छ ।

विभागअन्तर्गत हावापानी विश्लेषण शाखाका इञ्जार्ज सुजन सुवेदीले मनसुन नेपालको सबैभन्दा संवेदनशील मौसम प्रणाली भएको उल्लेख गर्दै वार्षिक वर्षाको करिब ८० प्रतिशत हिस्सा मनसुन अवधिमै हुने जानकारी दिनुभयो ।

उहाँका अनुसार गत वर्ष मनसुन औसतभन्दा १५ दिन अगाडि नेपाल प्रवेश गरेको थियो भने बहिर्गमन आठ दिन ढिला भएको थियो । दीर्घकालीन प्रवृत्ति हेर्दा मनसुन चाँडै सुरु हुने र ढिलो सकिने क्रम देखिएको उहाँले बताउनुभयो । गत वर्षको मनसुनका लागि विभागले औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको थियो ।

जुलाइको सुरुमा अद्यावधिक गर्दा विशेषगरी तराई क्षेत्रमा वर्षा सम्भावना अझ बढाइएको उहाँले जानकारी दिनुभयो । तथापि, जुनदेखि सेप्टेम्बरसम्मको अवधिमा औसतको करिब ९० प्रतिशतमात्रै वर्षा भएको उहाँले बताउनुभयो । गत अक्टोबरमा भएको असाधारण वर्षाले समग्र मनसुन अवधिको वर्षा परिमाण बढाएको उहाँले उल्लेख गर्नुभयो ।

अक्टोबरमा नेपालका धेरै स्थानमा २०० मिलीमिटरभन्दा बढी वर्षा भएको तथा १५ भन्दा बढी स्टेशनमा ६०० मिलीमिटरभन्दा बढी वर्षा रेकर्ड भएको उहाँले जानकारी दिनुभयो ।

उहाँले पश्चिम बङ्गाल क्षेत्रमा विकसित ‘मोन्था’ चक्रवातको प्रभावका कारण पनि नेपालमा भारी वर्षा भएको बताउनुभयो । त्यसले समग्र मनसुन वर्षामा अतिरिक्त योगदान गरेको उहाँको भनाइ थियो ।

सुवेदीले नेपालमा क्षेत्रीय तहमा मनसुन पूर्वानुमान अझै चुनौतीपूर्ण रहेको स्वीकार गर्नुभयो । सुवेदीले मौसम तथा जलवायु अध्ययनमा स्थानीय भूगोल, वर्षाको वितरण र दीर्घकालीन तथ्याङ्कको महत्त्व अत्यधिक रहने उल्लेख गर्दै वैज्ञानिक पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन निरन्तर अध्ययन र सुधार आवश्यक रहेको बताउनुभयो ।

जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले सुपर एल निनोले दक्षिणी एसियाली देशमा आउने मनसुनी अवधिमा औसतभन्दा कम वर्षा तथा औसतभन्दा बढी गर्मीको सम्भावना देखाएको छ ।

मौसम सेवा थप विश्वसनीय बनाउनुपर्नेमा जोड

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीले जलवायु परिवर्तनको बढ्दो प्रभावसँगै जल तथा मौसमसम्बन्धी अध्ययन, अनुसन्धान र पूर्वानुमान सेवालाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।

उहाँले पछिल्लो समय जलवायुजन्य प्रभावका कारण वन, जलस्रोत तथा पर्यावरण क्षेत्रमा गम्भीर असर देखिन थालेको उल्लेख गर्दै यससम्बन्धी अनुसन्धान अत्यन्त संवेदनशील र महत्त्वपूर्ण विषय बनेको बताउनुभयो । उहाँले केही वर्षयता जल तथा मौसम सेवाको पहुँच द्रुतगतिमा विस्तार हुँदै गएको र सेवाप्रति आमनागरिकको विश्वास पनि बढ्दै गएको उल्लेख गर्नुभयो ।

“विपद् जोखिम न्यूनीकरण र जनधनको सुरक्षा गर्न मौसम पूर्वानुमान सेवा अत्यन्त महत्त्वपूर्ण बनेको छ”, उहाँले भन्नुभयो । सचिव दवाडीले आधुनिक प्रविधिको प्रयोगमार्फत जल तथा मौसम पूर्वानुमान प्रणालीलाई थप सुदृढ बनाउने काम भइरहेको जानकारी दिनुभयो । विभागले सात दिनसम्मको वर्षा पूर्वानुमानलाई अझ प्रभावकारी बनाउने लक्ष्यका साथ काम गरिरहेको उहाँको भनाइ थियो ।

खडेरीका कारण चालु आवमा धान उत्पादनमा ह्रास

गत वर्ष मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको प्रक्षेपण गरिए पनि सबै स्थानमा धान रोपाइँका लागि भने मनसुन अनुकूलन नदेखिएको जनाइएको छ ।

बर्खेधान रोप्ने समयमा खडेरी परेपछि यसपटक धान उत्पादनमा पनि कमी आएको मन्त्रालयको भनाइ छ । विषेशगरी कोशी र मधेस प्रदेशमा परेका खडेरीका कारण उत्पादनमा कमी आएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा धान बाली भित्र्याइएको कुल क्षेत्रफल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफल रहेको थियो । चालु आवमा तीन दशमलव आठ प्रतिशतले घटेर १३ लाख ७६ हजार ८७२ हेक्टर क्षेत्रफल कायम रहेको मन्त्रालयको अनुमान छ ।

त्यसैगरी, आव २०८१/८२ मा ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन उत्पादन भएकामा चालु आव चार दशमलव २० प्रतिशतले कमी भई ५७ लाख पाँच हजार १२६ मेट्रिक टन उत्पादन भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । यस्तै उत्पादकत्व गत आवमा चार दशमलव १९ मेट्रिक टन प्रतिहेक्टर रहेकामा आव २०८२/८३ मा उत्पादकत्व एक दशमलव १६ प्रतिशतले घटेर चार दशमलव १४ मेट्रिक टन प्रतिहेक्टर हुन पुगेको छ ।