२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कला, साहित्य र संगीतले राष्ट्रिय एकता बलियो बनाउँछ : राष्ट्रपति पौडेल



अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका अमूल्य निधि भएको बताउनुभएको छ ।

नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०८३ लाई सम्बोधन गर्दै उहाँले कला, साहित्य र संगीतले नेपाली समाजलाई एउटै सूत्रमा बाँध्ने काम गर्ने उल्लेख गर्नुभयो ।

राष्ट्रपति पौडेलले कला, साहित्य र संगीतले समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा महत्वपूर्ण योगदान पु¥याउने धारणा राख्नुभयो । उहाँले संगीतको शक्ति अपरम्पार रहेको उल्लेख गर्दै यसलाई साझा भाषा, साझा सम्पत्ति र राष्ट्रिय पहिचानको आधारका रूपमा व्याख्या गर्नुभयो ।

उहाँले बहुजाति, बहुभाषा, बहुसंस्कृति र भौगोलिक विविधताले भरिएको नेपालमा साहित्य, कला, गीत र संगीतले प्रेम, मित्रता तथा भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने बताउनुभयो ।

राष्ट्रपति पौडेलले नेपाली सङ्गीतको विकासमा परम्परा र आधुनिकताको सन्तुलन आवश्यक रहेको उल्लेख गर्दै परम्परागत धुन, लय र शैलीलाई संरक्षण गर्दै आधुनिक प्रविधि र नवीन प्रयोगमार्फत नयाँ सिर्जना गर्नु आजका सर्जकहरूको चुनौती र अवसर दुवै भएको बताउनुभयो ।

उहाँले मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त गर्ने गीतसंगीत क्षेत्रका स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइ गर्न नहुने धारणा राख्नुभयो । सभ्य र सुसंस्कृत समाज निर्माणका लागि स्रष्टाको सम्मान, संस्कृतिको संरक्षण तथा गीतसंगीतको विकासमा सरकार र सम्बन्धित पक्षले निरन्तर सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।

राष्ट्रपति पौडेलले नातिकाजीले नेपाली लोकभाका पछ्याउँदै आधुनिक गीतसंगीतको विकासमा पुर्‍याएको योगदान अनुकरणीय रहेको बताउनुभयो ।

उहाँले नातिकाजीका सिर्जनामा चेतना, प्रेम, देशभक्ति र मानवीय संवेदनाको गहिरो अनुभूति रहेको उल्लेख गर्दै उहाँका देशभक्तिपूर्ण कालजयी गीतहरूले नेपाली संगीतको गौरवलाई उचो बनाएको धारणा व्यक्त गर्नुभयो