२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित

विद्युतीय कार, जिपको आयातमा चीनको बर्चश्व, ६८ प्रतिशत चिनियाँ सवारी साधन

विद्युतीय कार, जिपको आयातमा चीनको बर्चश्व, ६८ प्रतिशत चिनियाँ सवारी साधन
अ अ+ अ-

काठमाडौं: विद्युतीय कार, जिप, भ्यान जस्ता सवारी साधनमा चिनियाँ कम्पनीले नेपालमा सबैभन्दा ठूलो बजार हिस्सा ओगट्ने गरेका छन् । पछिल्ला वर्षमा नेपालमा विद्युतीय सवारी साधनको माग बढेसँगै चिनियाँ कम्पनीका साधनले झण्डै दुई तिहाई बजार हिस्सा ओगटेको भन्सार विभागको तथ्याँकले देखाएको छ ।

चालू आर्थिक वर्षको पहिलो ९ महिनामा आयात भएका विद्युतीय सवारी साधन (कार, जिप र भ्यान) मध्ये झण्डै ६८ प्रतिशत चिनियाँ विद्युतीय सवारी साधन रहेको भन्सार विभागको तथ्याँक छ । विभागका अनुसार, विद्युतीय अटोरिक्सा बाहेकका कार, जिप लगायतका सवारी साधनको कूल आयात ७ हजार १७३ थान मध्ये चिनियाँ कम्पनीका मात्र ४ हजार ८६६ थान रहेका छन् ।

दोस्रो स्थानमा भने भारतीय विद्युतीय सवारी साधन छन् । भारतबाट एक हजार ८३९ थान सवारी साधन नेपाल भित्रिएका छन् ।

विभागका अनुसार नेपालमा भारत र चीन बाहेक थाइल्यान्डबाट ४४० थान, बेलायतबाट एक थान, जर्मनीबाट १० थान, कोरियाबाट ४ थान, अमेरिकाबाट १४ थान र अस्ट्रियाबाट १ थान सवारी साधन भित्रिएका छन् ।

५१ देखि १०० किलोवाट क्षमताका कार, जिप र भ्यान सबैभन्दा बढी आयात भएका छन् र ती अधिकांश चिनियाँ छन् । चीनबाट यस वर्गका सवारी साधन २ हजार ९२६ वटा आयात भएका छन् भने भारतबाट ७१६, थाइल्यान्डबाट ४४० र बेलायतबाट एक थान आयात भएका छन् ।

त्यस्तै, ५० किलोवाट भन्दा कम क्षमताका कार, भ्यान र जिपको आयात अन्तर्गत चीनबाट एक हजार ४२० र भारतबाट एक हजार ८८ वटा भएका छन् ।

यसैगरी, १०१ देखि २०० वाटभन्दा कम क्षमताका सवारी साधन मध्ये चीनबाट ५१५ वटा र भारतबाट ३५ वटा आयात भएका छन् ।

विद्युतीय सवारीको भन्सार राजश्व

नौ महिनाको अवधिमा रु. १६ अर्ब ६५ करोड ९९ लाख ७३ हजार मूल्य बराबरका विद्युतीय कार, जीप र भ्यान नेपाल भित्रिएका छन् ।  यी सवारी साधनबाट सरकारले रु. १० अर्ब ११ करोड ६२ लाख ३५ हजार भन्सार राजश्व प्राप्त गरेको छ ।

नौ महिनामा भित्रिए १५ हजार विद्युतीय अटोरिक्सा

नेपालमा संचालित विद्युतीय अटोरिक्सामा भारत र चीनका उत्पादनबीच तिब्र प्रतिस्पर्धा रहेको पाइएको छ ।

भन्सार विभागको २०८२ चैत महिनासम्मको विवरणमा चालु आर्थिक वर्षको नौ महिनामा भारत र चीनबाट १४ हजार ८७८ थान विद्युतीय अटोरिक्सा नेपालमा भित्रिएका छन् ।

भारतबाट १ हजार २४९ वटा विद्युतीय अटोरिक्सा नेपाल भित्रिएका छन् तर चीनबाट भारतको तुलनामा धेरै ठूलो संख्यामा अटोरिक्सा भित्रिएका छन् । विवरण अनुसार, चीनबाट १३ हजार ६२९ वटा विद्युतीय अटोरिक्सा नेपाल भित्रिएका छन् ।

यद्यपि नेपालमा कति अटोरिक्सा भित्रिएका छन् भन्ने यकिन तथ्याँक छैन । खासगरी तराईका शहर बजारमा विद्युतीय अटोरिक्साले ठूलो बजार लिइसकेका छन् ।

भन्सार विभागका अनुसार, यी अटोरिक्सा करिब १ अर्ब ५८ करोड ६५ लाख बराबरका रहेका छन् र यसबाट सरकारले ५४ करोड ८५ लाख राजश्व प्राप्त गरेको छ ।
यी अटोरिक्साहरु नेपाल भित्रिदा एसेम्बल भएको र नभएको स्वरुपमा रहने गरेका छन् ।

त्यस्तै, पेट्रोल इन्जिन भएका अटोरिक्सा भने भारतबाट मात्र आयात हुने गरेका छन् । एक हजार सिसि भन्दा कमका त्यस्ता अटोरिक्सा नौ महिनाको अवधिमा रु. ९० करोड बराबरका ४ हजार १७५ वटा नेपाल भित्रिएका छन् जसबाट सरकारले ८७ करोड ५१ लाख राजश्व प्राप्त गरेको छ ।