८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादीसंग तत्काल एकताको हुदैन : राजेन्द्र महतो



अ+ अ-

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले तत्काल समाजवादी पार्टीसँग एकता नहुने बताएका छन् । शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महतोले समाजवादी पार्टी सरकारमा बसेका कारण एकताको सम्भावना तत्कालका लागि क्षीण भएको बताए।

‘देशमा कांग्रेस र कम्युनिष्ट शक्तिको विकल्पमा नयाँ वैकल्पिक शक्तिको खाँचो छ। आउने दिनमा यो शक्ति निर्माणको दिशामा अगाडि बढ्छ,’ उनले भने, ‘तर सरकारमा गएर वैकल्पिक शक्तिको निर्माण हुन सक्दैन।’

महतोले लोकतान्त्रिक वैकल्पिक शक्ति निर्माणका लागि अहिले पनि समाजवादी लगायतका पार्टीसँग एकताको कुरो भइरहेको बताए। मन्त्रीमण्डल पुनर्गठनको विषयमा केही बोल्न नचाहेका उनले भने, ‘नजाने गाउँको बाटो किन सोध्ने, हामी सरकारमा छैनौँ र हाम्रो सरोकारको विषय पनि होइन।’

उनले राजपाको सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको समेत बताए। उनले संविधान संशोधन, आन्दोलनकारी साथीहरूविरुद्धको मुद्दा फिर्ता लगायतका मागहरु सम्बोधन नभएसम्म सरकारलाई सहयोग गर्न नसकिने प्रष्टाए ।

‘हाम्रो माग सम्बोधन नभएसम्म सरकारलाई समर्थन गर्न सक्दैनौँ, त्यसैले त सरकारबाट समर्थन फिर्ता लिएर प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छौँ’, उनले भने।