९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्रको पक्षमा ‘ऐतिहासिक’ काम गरेको दाबी गर्दै ढकाल विदा, महासंघमा अञ्जान श्रेष्ठको नेतृत्व



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निःवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो कार्यकाल निजी क्षेत्रको उत्थान र कानूनी अड्चन फुकाउने हिसाबले ऐतिहासिक रहेको बताएका छन् ।

बुधवार महासंघको जिम्मेवारी हस्तान्तरणका क्रममा उनले निजी क्षेत्रप्रति सरकार र आमजनताको दृष्टिकोणमा आएको सकारात्मक परिवर्तनलाई महत्वपूर्ण उपलब्धिको रूपमा उल्लेख गरे । वर्षौँदेखि थाती रहेका कानूनी सुधारका विषयलाई तार्किक निष्कर्षमा पुर्‍याउन आफ्नो कार्यकालमा पहल गरिएको उनले बताए ।

ढकालका अनुसार वैदेशिक प्रत्यक्ष लगानी तथा आन्तरिक लगानी प्रवर्द्धन, व्यवसाय विस्तारमा रहेका बाधा हटाउने काममा महासंघले प्रभावकारी भूमिका खेलेको छ । ‘कालोबजार ऐन’ लगायत निजी क्षेत्रलाई प्रभावित गर्ने कानूनी व्यवस्थामा सुधारका लागि सशक्त पैरवी गरिएको उनले बताए । साथै, घरेलु पूँजी परिचालनमार्फत ठूला आयोजना अघि बढाउन सकिने आत्मविश्वास समेत जगाइएको उनको भनाइ छ ।

उनले आफ्नो कार्यकालको प्रमुख उपलब्धिका रूपमा सरकारले स्वीकृत गरेको ‘निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति’ लाई उल्लेख गरे । महासंघले तयार पारेको मस्यौदालाई सरकारले हुबहु स्वीकार गर्दै पहिलो मन्त्रिपरिषद् बैठकबाटै पारित गर्नु निजी क्षेत्रका लागि ऐतिहासिक मोड भएको उनको दाबी छ ।

ढकालले विगतमा माग सम्बोधन गराउन हड्ताल र बन्दसम्म गर्नुपर्ने अवस्था रहेको स्मरण गर्दै अहिले सरकार स्वयं निजी क्षेत्रका एजेन्डा अघि बढाउन सकारात्मक देखिएको बताए । यसले सरकार–निजी क्षेत्र सम्बन्धमा नयाँ आयाम थपेको उनको भनाइ छ ।

उनले आफू पदमा रहे पनि नरहे पनि निजी क्षेत्रको हितका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाए । रोजगारी सिर्जना, राजश्व वृद्धि, पूर्वाधार विकास र सेवा प्रवाहका क्षेत्रमा नयाँ नेतृत्वसँग सहकार्य गर्ने उनको भनाइ थियो ।

यसैबीच, महासंघमा नयाँ नेतृत्व चयन भएको छ । विधानअनुसार वरिष्ठ उपाध्यक्ष अञ्जान श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन् । निर्वाचनमा उनको समूहका अधिकांश उम्मेदवार विजयी भएका छन् भने वस्तुगत उपाध्यक्षतर्फ भने हेमराज ढकाल समूहले सफलता हात पारेको छ ।

वस्तुगत उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ ६३ मतसहित विजयी भए भने उनका प्रतिद्वन्द्वी शिव घिमिरेले ६० मत प्राप्त गरे । एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे १०७९ मत ल्याउँदै विजयी भए भने प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठले ७५० मत प्राप्त गरिन् ।

एसोसिएट महिला सदस्यमा जुना माथेमा (११५६) र अभिज्ञा मल्ल (१०५९) निर्वाचित भए । यसैगरी, एसोसिएटतर्फका अधिकांश सदस्य पाण्डे समूहबाट निर्वाचित भएका छन् ।

जिल्ला नगर उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा (८७ मत) र दिलसुन्दर श्रेष्ठ (८० मत) विजयी भएका छन् । महासंघका केही पदमा भने मतगणना अझै जारी रहेको निर्वाचन समितिले जनाएको छ ।